Comments Add Comment

धरहरा बनाउन सेनाले दियो ६ करोड १७ लाख

धरहरा पुनर्निर्माणको विकल्पबारे गृहकार्य भइरहेको छ: प्रधानमन्त्री

nepal-army
प्रधानमन्त्री प्रचण्डलाई रकम हस्तान्तरण गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

२२ कात्तिक, काठमाडौं । ‘मेरो धराहरा मै बनाउछु’ अभियान अन्तर्गत नेपाली सेनाले धरहरा पुनर्निर्माणको लागि ६ करोड १७ लाख रुपैयाँ पुनर्निर्माण प्राधिकरणलाई हस्तान्तरण गरेको छ ।

सोमबार सिंहदरबारमा एक कार्यक्रमकाबीच प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पुनर्निर्माण प्राधिकरणका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई ६ करोड १७ लाख १३ हजार ७ सय ८३ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चेक ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले पुनर्निर्माणको जिम्मेवारी बोध गरेर रकम संकलन गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए । प्रधानमन्त्रीले धरहरा लगायतका अन्य सम्पदाको पुनर्निर्माणमा गम्भीर भएर लाग्नुपर्ने बताए ।

प्रधानमन्त्रीले नेपाली सेनाका अधिकारीहरूलार्इ भने, हामी पुनर्निर्माणको चरणमा छौं । राज्यका सबै अंग मिलेर पुनर्निर्माण र नवनिर्माणको कामलाई तिब्रता दिनुपर्छ । त्यसका लागि तपाईहरुले गरेको प्रयास प्रशंसनीय छ ।’

‘धरहरा पुनर्निर्माणको विकल्पबारे गृहकार्य’

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डले धरहरा पुनर्निर्माणको विकल्पबारे गृहकार्य गरिरहेको जानकारी पनि दिए । ‘धरहरा बनाउने काम उत्साहवर्धक देखिएको छैन, यसरी पैसा जम्मा गरेर अर्बौं संकलन हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले गम्भीर रुपले बैकल्पिक व्यवस्था गर्दै छ, यसलाई पनि निरन्तरता दिनुपर्छ ।’

गत वर्ष वैशाख १२ को भूकम्पमा सुन्धारास्थित धरहरा भत्किएको थियो । केपी ओली नेतृत्वको सरकारले मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेको थियो । तर, त्यसमा उत्साहजनक रुपमा सहयोग रकम संकलन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment