Comments Add Comment

तपाईं हार्ट अट्याकको जोखिममा त हुनुहुन्न ? यस्ता हुन्छन् लक्षण

heart

२८ कात्तिक, काठमाडौं । जाडो याममा हृदयाघात (हार्ट अट्याक)को जोखिम बढ्ने गरेको विभिन्न अध्ययन-अनुसन्धानले देखाएका छन् । नेपालमा यसबारे कुनै पुष्टि नभए पनि धेरै घटनाले हृदयाघात जाडोमै बढी हुने देखाएको छ ।

जाडो मौसममा सामान्यतया रक्तनली बढी खुम्चिने र साँघुरिने गर्छ । जसले गर्दा हृदयाघातको जोखिम बढ्ने गर्छ । बदलिँदो जीवनशैली तथा बोसोयुक्त खानपानका कारण यस्तो जोखिम बढी हुने गर्छ । तनावका कारण पनि मुटुलाई असर पार्छ ।

हृदयाघातबाट बच्न हामीले खानपिन तथा आहारविहारमा परिवर्तन गर्नु आवश्यक छ । खानामा तरकारी र फलफूलको परिमाण बढाउनुपर्छ । दिनमा कम्तीमा ३० मिनेट रफ्तारसहितको हिंडाइलाई निरन्तरता दिन पनि जरुरी छ । यसले मुटुको चाललाई सही अवस्थामा राख्न मद्दत गर्दै मुटु स्वस्थ राख्छ ।

dr-laba-joshi-1
डा. लव जोशी

के हो हृदयाघात ?

मुटु सम्बन्धी समस्याका कारण हृदयाघात हुन्छ । मुटु हाम्रो शरीरको यस्तो अंग हो, जसले हाम्रो शरीरमा निरन्तर रक्तप्रवाह गर्दै अक्सिजन, ग्लुकोज लगायतको आपूर्ति गर्छ ।

मुटुमा मुख्य तीन वटा नसा हुन्छ । रक्तप्रवाह हुने ती नसामा केही गरी बोसो तथा रगत जमेर रक्तनली साँघुरो भएमा त्यसलाई हामी हृदयाघात भन्छौं ।

कुनै पनि उमेरका मानिसलाई क्षणभरमै हृदयाघात हुन सक्छ । हृदयाघात हुँदा विभिन्न लक्षण (चिकित्सकीय भाषामा मायोकार्डियल इन्फ्रेक्सन) देखा पर्छन् ।

हृदयाघातका लक्षण

सामान्यतया कुुनै पनि मानिसलाई हृदयाघात हुनुअघि केही लक्षण देखिने गर्छ । जसमा छातीको दुखाइ प्रमुख हो ।

१.छातीको दुखाइ

यस्तो दुखाइ भएको बेला मुटुुलाई केही कुराले थिचे जस्तो महसुस हुन्छ । कसैलाई सुरुमा दुखाइ मुटुबाट सुरु हुँदै त्यो पीडा विस्तारै घाँटी, कुम, पेट, दाँत लगायत शरीरका विभिन्न अंगमा सर्ने गर्छ । कसैलाई बायाँ हातका औंलाहरुमा पनि पीडा हुने गर्छ । यी दुखाइलाई ‘क्लासिकल दुखाइ’ भनिन्छ ।

यस्ता दुखाइ विभिन्न किसिमका हुने गर्छन् । हृदयाघात हुँदा कसैलाई खलखल पसिना आउँदै अलिअलि दुख्ने गर्छ भने कसैलाई ग्याष्ट्रिक हुँदा दुखे जस्तो पेट तथा छातीमा पीडा हुने, छाती पोल्ने र सास फेर्न गाह्रो हुने गर्छ । कसैलाई भने मुटुको धड्कन निरन्तर बढ्ने, खानेकुरा खानेबित्तिकै वाकवाकी लाने गर्छ । यसलाई ‘टिपिकल दुखाइ’ भनिन्छ ।

कहिलेकाहीँ यस्ता दुखाइ हुनुपूर्व नै हृदयाघातले संकेत जनाउने गर्छ । जसलाई चिकित्सकीय भाषामा ‘हार्ट एन्जाइना’ भनिन्छ ।

२. हार्ट एन्जाइना

एन्जाइना भएका व्यक्तिलाई सामान्य हिँड्दा पनि छाती भारी हुने गर्छ । त्यस्तै, छिटो हिँड्दा छाती दुख्ने, सास फुल्ने समस्या हुन्छ । कतिलाई यत्तिकै गाह्रो हुन्छ भने कतिलाई उकालो चढ्दा, भर्‍याङ उक्लिँदा जस्ता शरीरलाई जोड पर्ने कुरामा छाती भारी भएको महसुस हुन्छ । कतिपयलाई तनावका कारण पनि यस्ता संकेत देखिन्छ । जुन हृदयाघात हुनुअघिको सूचना अर्थात् एन्जाइना हो । यही लक्षण पछि गएर हृदयाघातमा परिणत हुन सक्छ ।

एन्जाइना भएका मानिसलाई छाती दुखे पनि केहीबेर आराम गर्दा निको हुने भएकोले त्यसलाई धेरैले बेवास्ता पनि गरेको पाइन्छ ।

यसबाहेक २५ प्रतिशत मानिसमा हृदयाघातको कुनै लक्षण देखा पर्दैन । उनीहरुमा एकैचोटि हृदयाघात हुने गर्छ । उनीहरुलाई अस्पतालसम्म पुर्‍याउन समेत सम्भव हुँदैन । त्यस्ता मानिसलाई अचानक पीडा हुन्छ र तुरुन्तै मुटुले काम गर्न छोडेर मृत्यु हुन्छ । जसलाई चिकित्सकीय भाषामा ‘साइलेन्ट स्केमिया’ भनिन्छ । यस्तो समस्या प्रायः मधुमेहका बिरामीमा देखिन्छ ।

हृदयाघातपछिका समस्या

एक पटक हृदयाघात भइसकेका मानिसलाई त्यसपछिको जोखिम पनि धेरै हुन्छ । त्यसमध्ये धेरैलाई मुटुले काम नगर्ने सम्भावना बढी हुन्छ । त्यस्तो समस्या हृदयाघातले मुटुमा कति असर पारेको छ भन्ने कुरामा भर पर्छ । यदि हृदयाघातले ठूलो क्षेत्रमा असर पारेको छ भने त्यो अवस्थामा मुटुले काम गर्दैन र ‘हार्ट फेल’ हुने गर्छ ।

कतिलाई ‘कार्डियोजेनिक सक’ लाग्ने गर्छ । यस्तो सक लाग्दा मुटुलाई जति प्रेसर दिए पनि र जति ‘सक’ (करेन्ट) दिए पनि मुटुले काम नगरेमा जमेको त्यही रगत मस्तिष्कमा पुगेर स्ट्रोक हुने गर्छ । जसले मष्तिष्कलाई असर पारी पूरै शरीरलाई नै पक्षघात गराइदिन्छ । कतिपयलाई मुटुको चालमा गडबडी गराइदिन्छ । उदाहरणको लागि मुटुको चाल एक मिनेटमा १२० हुनुपर्नेमा कहिले १५० त कहिले ५० हुन पुग्छ ।

हृदयाघात भएका मानिसमा मिर्गौला फेल हुने समस्या पनि उत्तिकै रहन्छ । हृदयाघातका कारण शरीरभित्र रगत जमेर उक्त रगत मिर्गौलामा पुगेर अवरोध उत्पन्न गरिदिँदा मिर्गौला फेल हुने गर्छ । कतिलाई भने खुट्टामा असर गरेर रगत जम्ने, खुट्टाको मुख्य नली चर्किने, फुट्ने जस्ता समस्या हुन्छन् ।

हृदयाघात हुने कारण

हृदयाघात विभिन्न कारणले हुने भएकाले यही कारणले नै हुन्छ भन्ने निश्चित हुँदैन । सामान्यतया मुटुमा रहेका रगतका नसाहरुमा बोसो जमेपछि नसा साँघुरो हुन्छन् र हृदयाघातको जोखिम बढ्ने गर्छ । हृदयाघातको ९० प्रतिशत घटना यसैको कारण हुन्छ ।

रक्तनलीमा भर्खर-भर्खर बोसो जम्न थाले पनि सो ठाउँमा तनाव बढी भएमा च्यातिने गर्छ । जसले गर्दा प्रवाह भइरहेको रगत जमेर एक ढिक्का हुन पुग्छ । जसले रक्तनलीमा अवरोध गरी हृदयाघातको जोखिमलाई बढाउने गर्छ । कहिलेकाहीँ रगत नजमे पनि पीडा मात्र पनि हुन सक्छ भने कहिले रगत पूरै जमेर मुटुको एउटा भाग नै मर्छ । यो अवस्थालाई चिकित्सकीय भाषामा ‘मायोकार्डियल इन्फ्राक्सन’ भन्ने गरिन्छ ।

यस्तै, कहिलेकाहीँ रगतका नसाहरु खाफैं खुम्चिएर पनि हृदयाघातको जोखिम बढाउने गर्छ ।

उपचार विधि

कुनै पनि व्यक्तिलाई हृदयाघात भएमा तत्काल अस्पताल पुर्‍याउन सके उसलाई बचाउन सकिन्छ । यदि कसैलाई छाती दुख्ने, अकस्मात् सास लिन गाह्रो हुने अवस्था आएमा तुरुन्तै नजिकको स्वास्थ्य केन्द्रमा गएर इसिजी गर्नु नै उचित हुन्छ ।

dr-laba-joshi-2

इसिजी

इसिजी भनेको एक प्रकारको विद्युतीय उपकरण हो । जसमा विद्युतको सहायताले मुटुको गतिविधि हेर्ने गरिन्छ । इसिजीबाट नै हृदयाघात भए-नभएको ९० प्रतिशत थाहा पाउन सकिन्छ । हृदयाघात तुरुन्तै भएको छ भने कहिलेकाहीँ भने इसिजीले नदेखाउन पनि सक्छ । तर, प्रायः मुटुमा ६ घण्टाभित्रमा भएको परिवर्तनलाई इसिजीले देखाइरहेको हुन्छ ।

यसका साथै रगत जाँच मार्फत पनि हृदयाघात भए-नभएको थाहा पाउन सकिन्छ । कुनै पनि व्यक्तिलाई हृदयाघात भएको छ र उसको मुटुको कुनै भाग मरेको छ भने त्यसले एक प्रकारको रसायन निकाल्छ, जुन रगत जाँचबाट पत्ता लाग्छ । रगत जाँच र इसिजीको रिपोर्टले एउटै खालको परिणाम देखाएमा उक्त व्यक्तिको उपचार तत्काल सुरु गर्नुपर्छ । त्यस्तो अवस्थामा उपचारमा ढिलाइ भए ज्यानै पनि जान सक्छ ।

इको

इको पनि मुटुको अवस्था हेर्ने एउटा विद्युतीय प्रविधि हो । यसले मुटुले राम्ररी काम गरेको छ कि छैन भनेर चाल मात्रै देखाउँछ । यसैले हृदयाघात भए-नभएको भने यसबाट पत्ता लाग्दैन ।

एन्जियोग्राफी

एन्जियोग्राफीको मद्दतले पनि कुनै पनि व्यक्तिलाई हृदयाघात भए-नभएको दश मिनेटभित्रमा तुरुन्तै थाहा पाउन सकिन्छ । एन्जियोग्राफी एउटा सामान्य जाँच हो । जहाँ रगतका नसाहरु खुलेको छ कि छैन भनेर हेर्न सकिन्छ ।

उक्त जाँच गर्दा यदि कुनै नसा बन्द भएको छ भने एक्सरे मेसिनबाट प्रष्ट हेर्न सकिन्छ । यदि नसामा कतै अवरोध देखिएमा तत्काल उपचार गर्नुपर्ने हुन्छ । त्यसरी उपचार गर्दा कतिलाई एन्जियोप्लाष्टिक पनि गर्नुपर्छ ।

एन्जियोप्लाष्टिक

एउटा सानो तारको टुप्पोमा बेलुन जस्तो हुन्छ, जसलाई रक्तनलीमा पठाएर अवरोध भएको ठाउँमा राखी फुलाइन्छ । यसले अवरोध भएका ठाउँमा रहेका बोसोलाई भित्तामा ठेल्ने काम गर्छ । कतिपयलाई रगत नजम्ने औषधिसहित स्टेन (तार) हालेर पनि साँघुरिएको नलीलाई खुला गरिन्छ ।

हृदयाघातका क्रममा यदि धेरै ठाउँमा अवरोध भएको देखिएमा बाइपास सर्जरीबाट पनि त्यस्ता अवरोध हटाइन्छ । त्यसबेला एउटा नलीलाई अर्कै नलीमा जोडेर निकास दिइन्छ ।

यसका साथै धेरै कडा हृदयाघात भएको छैन र मुख्य नसामा अवरोध छैन भने जमेको रगत पगाल्ने औषधि दिएर पनि उपचार गरिन्छ ।

टीएमटी

केही वर्षअघिसम्म निकै चर्चामा रहेको टिएमटी जाँच अचेल धेरै कमले मात्र गर्दै आएका छन् । यो जाँचले मुटुको अवस्था देखाउँछ ।

heart-check-mechine

खासगरी हार्ट एञ्जाइना भएका व्यक्तिहरुलाई सास लिन समस्या भए वा थोरै हिँड्दा पनि मुटु भारी भएमा त्यो अवस्थामा टीएमटी जाँच उपयुक्त मानिन्छ । यो जाँच हृदयाघात भइसकेका मानिसहरुले कहिल्यै पनि गर्नु हुँदैन । हृदयाघात भएको शंका लागेका व्यक्तिले मात्र यो जाँच गराउन सक्छन् ।

 

त्यसबाहेक नियमित रगत जाँच, इसिजी, मुधमेह जाँच, लिपिड प्रोफाइल, हार्ट फन्सन टेष्टले पनि मुटुको अवस्था थाहा पाई सुरक्षित राख्न सकिन्छ ।

हृदयाघातको जोखिम बढाउने कारण

१. उच्च कोलेस्ट्रोल

२. तनाव

३. मोटोपन

४. धूमपान

५. आधुनिक जीवनशैली

६. मधुमेह

७. वंशाणुगत समस्या

जोगिने उपाय

१. धूमपान नगर्ने

२. दैनिक ३० मिनेट नियमित व्यायाम (रफ्तारको हिँडाइ) गर्ने

३. खानामा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउने

४. तनाव लिने बानी हटाउने

५. हरेक वर्ष मुटुको जाँच गर्ने

६. रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्ने

७. आफ्नो स्वास्थ्यमा आएको परिवर्तनलाई बेवास्ता नगर्ने

डा. जोशीसँग गरिएको कुराकानी हेर्नुहोस्

(डा. जोशी ओम हस्पिटल तथा रिसर्च सेन्टरमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment