Comments Add Comment

विदेशी लगानी नीतिः लगानीकर्ताले जति पनि लगानी गर्न पाउने प्रस्ताव

foriegn-investment-baideshi
२६ कात्तिक, काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा जतिपनि लगानी गर्न पाउने भएका छन् । उद्योग मन्त्रालयले तयार ‘विदेशी लगानी सम्बन्धी ऐन-२०७३’ को मस्यौदामा लगानी गर्ने विदेशी लगानीको कुनै अधिकतम सीमा तोकिने नतोकिने प्रस्ताव गरिएको छ ।

त्यस्तो कम्पनीमा प्रचलित कानूनको अधिनमा रही शतप्रतिशतसम्म विदेशी लगानी गर्न सकिने गरी ऐन बनाउन लागिएको हो । विदेशी लगानीकर्ताले विदेशी लगानीमा संचालित उद्योगको कारोवार बन्द गरी बहिर्गमन हुन चाहेमा जुनसुकै बखत आफ्नो लगानीको सेयर वा उद्योग बिक्री गरी बाहिरिन पाउने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

दीगो र अधिकतम आर्थिक वृद्धिदर कायम गर्दै देश विकासको बाटोमा लैजान उद्देश्यले नीतिको मस्यौदा तयार गरिएको उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

देशमा पूर्वाधार संरचना विकासका लागि ठूलो लगानीको आवश्यकता भएको भन्दै लगानीलाई आकर्षण गर्ने गरी ऐनको मस्यौदा तयार गरिएको हो ।

सिमित ग्राहस्थ्य बचत बीचको असमानतालाई विदेशी लगानीबाट परिपूर्ति गर्न, विदेशी पूँजी, प्रविधि तथा व्यवस्थापकीय सीपबाट आन्तरिक उत्पादकत्वको अभिवृद्धि, रोजगारीका अवसर सिर्जना गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनबाट व्यापार सन्तुलन कायम गरिने मस्यौदामा उल्लेख छ ।

विदेशी लगानीको उपयोग, परिचालन, व्यवस्थापन तथा संरक्षणका लागि लगानीमैत्री वातावरण वनाउन यो ऐन अत्यावश्यक रहेको मन्त्रालयको ठहर छ ।

प्रस्तावित ऐनमा लगानी गर्दा विदेशी लगानीकर्ताले एकल वा नेपाली नागरिकसँग संयुक्तरुपमा कम्पनी स्थापना गरी वा कुनै कम्पनीको सेयर खरिद गरी विदेशी लगानी परिचालन गर्न पाउने व्यवस्था रहने छ ।

त्यसैगरी ऐन विदेशी लगानीकर्ताको संचालनमा रहेको कुनै उद्योगको सम्पूर्ण जायजेथा वा त्यसको तोकिए बमोजिमको सेयर एकमुष्ट खरिद गरी विदेशी लगानी गर्न सकिने मस्यौदामा उल्लेख छ ।

त्यस्तै, मस्यौदा अनुसार विदेशमा संस्थापना भएको कम्पनी वा कुनैसंस्थाले नेपालमा ऐन बमोजिम लगानी गर्न सकिने उद्योग संचालन गर्न आफ्नो शाखा विस्तार गर्न चाहेमा त्यस्तो शाखा संस्थापना गरी विदेशी लगानी गर्न पाउने छन् ।

विदेशी लगानी गर्न चाहने विदेशीलगानीकर्ताले लगानी गर्नको लागि स्वीकृति लिनु पर्ने ऐनको मस्यौदामा उल्लेख छ । त्यस्तै, स्वीकृति प्राप्त गर्न चाहने विदेशी लगानीकर्ताले चाहेको क्षेत्र र लगानी गर्ने मोटामोटी रकम खुलाई ऐनमा तोकिए बमोजिमको विवरण स्वीकृत गर्ने अधिकारीसमक्ष निवेदन दिनु पर्ने हुन्छ ।

विदेशी लगानीमा स्थापना भएको उद्योगलाई औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम उपलब्ध हुने सम्पूर्ण छुट, सुविधा, सहुलियत वा संरक्षणसमेत पाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

त्यसैगरी, विदेशी लगानीमा स्थापना भएको देहायको उद्योगले व्यावसायिक कारोवार प्रारम्भ गरेको मितिले तोकिएको अवधिसम्म शतप्रतिशत आयकर छुट पाउने छन् । जसमा विद्युत उत्पादन वा प्रसारण गर्ने जललिद्युत आयोजना, तोकिएको रकम भन्दा बढी विदेशी लगानी गर्ने उत्पादनमूलक उद्योग, खनिजजन्य उद्योग, पर्यटन क्षेत्रसँग सम्बन्धित तोकिए बमोजिमका उद्योग, वा अन्तर्राष्ट्रिय उडान संचालन गर्ने हवाई कम्पनी रहेको छन् ।

उद्योग मन्त्रालयले तयार गरेको मस्यौदा माथि सरोकारवालाहरुसँग छलफल भइरहेको छ । छलफलपश्चात उद्योग मन्त्रालयले कानून मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाउने छ । मन्त्री परिषदले पारित गरेर संसदमा पठाउने छ । र, संसदले पारित गरेपछि मात्रै मस्यौदा ऐनमा परिणत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment