Comments Add Comment

नेपाललाई एयरबस बेच्न चाहने कुन कम्पनी कस्तो ?

airbus-a330
२६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमलाई वाइड बडीको नयाँ एयरबस बेच्न ११ कम्पनीको आवेदन परेको छ । र, निगमले अब टेन्डर मूल्यांकन प्रक्रिया सुरु गरेको छ ।

तर, एयरबस बेच्न आवेदन दिएका कुनै पनि कम्पनी आफैंले विमान बनाउँदैनन्, किनेर बेच्ने मात्र गर्छन् । एयरबस बनाउने मुख्य कम्पनी एयरबसले भने वायुसेवा निगमले आह्वान गरेको टेन्डर प्रक्रियामा सहभागीता नै जनाएको छैन ।

निगम प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारका अनुसार केएल एसो पार्टस, केजेटी इन्भेस्टमेन्ट एन्ड वनवर्ल्ड क्लोआउटस् लिमिटेड, रोनमोटा एन्ड एसोसिएट एयरक्राफ्ट सेल्स एन्ड पार्ट्स र एयरक्राफ्ट इन्भेस्टमेन्ट गु्रपको आवेदन परेको छ । यस्तै क्राउन कमर्सियल सर्भिस लिमिटेड, सिनर्जी एरोस्पेस, एएआर कर्पोरेसन, ल ग्रुप डेल्टा, एसटी एरोस्पेस र सूर्य एयर सपोर्ट कम्पनीको पनि आवेदन परेको छ ।

कस्ता छन् त आवेदन दिने कम्पनी ?

केएल एसो पार्टस

यो कम्पनीको मुख्य कार्यालय बुलगेरियाको राजधानी सोफियामा छ । यसले गुणस्तर र मूल्यका आधारमा हवाइ जहाज, इन्जिन तथा पाटपुर्जा बिक्री, मर्मत तथा भाडामा दिने गर्छ ।

कम्पनीसँग अहिले दुई वटा एयरबस तयारी अवस्थामा छन् । नेपालले खरिद गर्न चाहेको ए ३३०-२०० सँगै ए ३३०-२०० एफ सिरिजको एउटा एयर बस आफूसँग तयारी हालतमा रहेको कम्पनीले जनाएको छ । दुबै विमान गत वर्षमात्र बनेका हुन् ।

केजेटी इन्भेस्टमेन्ट

यो कम्पनीको मुख्यालय बेलायतमा छ र हवाइजहाज भाडामा दिने तथा बिक्री गर्ने गर्छ ।

यो कम्पनीसँग नेपालले खरिद गर्न लागेको सिरिज अन्तर्गतको हवाइजहाज ए ३३०-२०० को एउटा नयाँ एयर बस छ । र, यो अर्डर गरेको ६ सातामा उपलब्ध गराउन सक्ने उसको दाबी छ ।

रोनमोटा एन्ड एसोसिएट एयरक्राफ्ट

यो अमेरिकामा रहेको एयर क्राफ्ट डिलर पनि हो । यसले जहाजको अर्डर भएको अवस्थामा उपलब्ध गराउने गर्छ ।

एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुप

यो पनि अमेरिकन कम्पनी हो । कम्पनीका प्रमुख रोनल्डा मोटा हुन् । रोनामोटा एसोसिएट एयरक्राफ्ट सेल्स एन्ड पार्ट्स पनि उनकै कम्पनी हो । यो कम्पनीले पनि हवाइजहाज भाडामा दिने र बिक्री गर्ने गर्छ ।

क्राउन कमर्सियल सर्भिस लिमिटेड

यो वेलायतको सरकारी ट्रेडिङ कम्पनी हो । यो कम्पनीले पनि नयाँ एयर माग भएको अवस्थामा भाडामा दिने र अर्डर भएको अवस्थामा बिक्री गर्ने गर्छ ।

सिनर्जी एरोस्पेस

यो ब्राजिलको कम्पनी हो र, अर्डर गरेको अवस्थामा हवाइजहाज तथा त्यसका इन्जिन र पाटपुर्जा उपलब्ध गराउँछ ।

एएआर कर्पोरेसन

यो अमेरिकन कम्पनीले नयाँ हवाइ जहाज बनाउँदैन । यो कम्पनीले कुनै पनि विमानको अपेक्षित आयु मध्यतिर पुगिसकेको र धेरै समयसम्म उडान भरेका हवाइ जहाज मर्मतसम्भार गर्छ । साथै उडान गर्न मिल्ने बनाएर बेच्ने तथा भाडामा दिने गर्छ ।

ल ग्रुप डेल्टा

यो फ्रान्सेली कम्पनी हो । यो कम्पनीले जुनसुकै देश वा एयरलाइन्सले हवाइ जहाज माग गरेको अवस्थामा उपलब्ध गराउन गर्छ ।

एसटी एरोस्पेस

सिंगापुरको यो कम्पनीले इन्जिन मर्मत, जहाज किनबेच, पाटर्स पुर्जाको मर्मत तथा बिक्री गर्छ । सन् १९९० देखि यसले यो काम गर्न थालेको हो । जहाजमा हुने एयर फ्रेममा संसारकै उत्कृष्ट मर्मत सम्भार र पूर्ण मर्मत गर्ने कम्पनीको दाबी छ ।

सूर्य एयर सपोर्ट कम्पनी

यो कम्पनीको बारेमा भने केही जानकारी उपलब्ध हुन सकेन ।

निगमका अनुसार रोल्स रोयज कम्पनीको पनि आवेदन परेको थियो । तर, यो विमान विक्री गर्नेभन्दा पनि इन्जिनमात्र उपलब्ध गराउने भन्दै आवेदन दिएकाले सहभागी नगराइने भएको छ ।

टेन्डर मूल्यांकन प्रक्रिया सुरु

निगम व्यवस्थापन समितिले टेन्डर खुल्ला गरेसँगै आवेदन दिने कम्पनीबारे अध्ययन गर्न आरबी शाहको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । शाह निगमका प्राविधिक विभाग प्रमुख हुन् । आवेदन दिने कम्पनीहरु मध्ये कम मूल्य प्रस्ताव गर्ने र बिक्रीपछि चित्तबुझ्दो सुविधा दिने कम्पनी छनौट गरिने कंसाकारले बताए ।

निगमले पहिलोपटक वाइड बडी जहाज खरिद गर्न लागेको छ र, यसका लागि करिब २५ अर्ब खर्चिने योजना छ । वायु सेवा निगमले खरिद प्रक्रियाका सबै काम सकेर अर्को असोजमा पहिलो र चैतमा दोस्रो विमान ल्याइसक्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment