Comments Add Comment

एक वर्षमै अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्या झण्डै १० हजार पुग्यो

nepali-students-at-usa

३० कात्तिक, काठमाडौं । अमेरिकाका बिभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अघिल्लो वर्षभन्दा १८.४५ प्रतिशतले बृद्धि भएको छ । सन् २००९ यता अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या अघिल्लो वर्षको अनुपातमा पहिलोपटक बढेको हो ।

सन् २०१५/१६ को शैक्षिक सत्रमा ९ हजार ६६२ विद्यार्थी अमेरिकाका कलेज तथा विश्वविद्यालयमा भर्ना भएपछि नेपाली विद्यार्थी समुदाय अमेरिकामा सबैभन्दा छिटो बढ्ने विद्यार्थीहरुको समुदायमध्ये एक बनेको छ । यसअघिको शैक्षिक सत्रमा ८ हजार १५८ नेपाली विद्यार्थी अमेरिकी कलेजमा भर्ना भएका थिए ।

अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउनेमा नेपाल १७ औं स्थानमा परेको छ । चीन र भारत यो सूचीमा शीर्ष स्थानमा छन् ।

अधिकांश नेपाली विद्यार्थीहरु अमेरिकाका कलेज तथा विश्वविद्यालयमा अण्डर ग्रयाजुएट तथा ग्रयाजुएट तहमा अध्ययनरत छन् । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार अघिल्लो वर्ष अमेरिकाका कलेज तथा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले ३०२ मिलियन डलर बराबर अमेरिकाको अर्थतन्त्रमा सहयोग गरेका थिए ।

ओपेनडोरले सार्वजनिक गरेको तथ्यांकमा सन् १९९६/९७ देखि अध्ययनका लागि अमेरिकामा रहेका नेपाली विद्यार्थीहरु समावेश छन् । त्यस वर्ष १४ सय विद्यार्थी पढ्न अमेरिका गएका थिए ।

सन् २००८/९ को एकै शैक्षिक सत्रमा सबैभन्दा धेरै ११ हजार ५८१ विद्यार्थी अमेरिका अध्ययनका लागि पुगेका थिए । सन् १९९६ यता अहिलेसम्म एक लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका गएका छन् ।

त्यसैगरी पहिलोपटक सन् २०१५/१६ को शैक्षिक सत्रमा अमेरिकामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या १० लाख नाघेको छ । यो अघिल्लो शैक्षिक सत्रभन्दा ७.१ प्रतिशतले बढी हो । यो शैक्षिक सत्रमा अमेरिकी विश्वविद्यालय तथा कलेजले १० लाख ४४ हजार अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाको नयाँ उचाइ प्राप्त गरेको थियो, जुन सम्पूर्ण विद्यार्थी संख्याको ५ प्रतिशत हो ।

ओपेन डोर तथ्यांकको प्रकाशनसँगै संसारका अन्य देशहरुबाट नेतृत्वदायी क्षमता भएका विद्यार्थीहरुलाई अमेरिकामा पढ्न, सिक्न र अनुभव आदनप्रदान गर्न आकर्षित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय शैक्षिक सप्ताह मनाइन्छ, जुन अमेरिकी विदेश तथा शिक्षा मन्त्रालयको सामूहिक अभियान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment