Comments Add Comment

फेरि अलकत्रा कारोबारमा हात हाल्दै आयल निगम

alakatra-bitumen
२ मंसिर, काठमाडौं । नेपाल आयल निगमले फेरि अलकत्राको कारोबार थाल्ने तयारी गरेको छ । आयल निगम सञ्चालक समितिको बैठकले लामो समयदेखि रोकिएको बिटुमिन अर्थात अलकत्राको आयात र बिक्री वितरण थाल्ने निर्णय गरेको हो ।

सडक, राजमार्ग र विमानस्थलको ‘रन–वे’ कालोपत्रे गर्ने पेट्रेलियम पदार्थ हो, बिटुमिन । बोलीचालीको भाषामा यसलाई ‘अलकत्रा’ भन्ने चलन छ ।

बिटुमिनको कारोबार लागि आवश्यक अध्ययन गर्न निगम व्यवस्थापनलाई सञ्चालक समितिले निर्देशन दिएको एक अधिकारीले जानकारी दिए ।

Nepal-Oil-Corporationनिगमले झण्डै १५ वर्ष अघि बिटुमिनको आयात र बिक्री वितरण गर्न छाडेको थियो ।

लगातारको घाटाले निगम नराम्रोसँग थलिएपछि निगमले बिटुमिनको आयात रोकेको थियो । अहिले निजी व्यवसायी नै बिटुमिन आयात गरेर बिक्री गर्ने गरेका छन् । कच्चा तेल प्रशोधनपछि पेट्रोल, हवाइ इन्धन, डिजेल र मट्टीतेल लगायत पेट्रोलियम निकालिन्छ । त्यसपछि बाँकी रहने लेदो नै बिटुमिन हो ।

कारोबार र माग बढ्दो

पछिल्लो समयमा बिटुमिनको कारोबार वार्षिक रुपमा उच्च रुपमा बढ्दैछ । देशमा कालोपत्रे सडकको सञ्जाल फैलिँदै गर्दा बिटुमिनको माग पनि उच्च दरमा बढिरहेको छ ।

यसैलाई ध्यानमा राखेर निगमले फेरि अलकत्रा कारोबार गर्नेबारे आवश्यक अध्ययन थालेको हो । ‘हामीले बिटुमिनको कारोबार थालेपछि कमसेकम कमसल बिटुमिनको बिगबिगी नियन्त्रण हुन्छ’ ति अधिकारीले भने,‘निगमको वित्तीय अवस्था सुधार हुँदै गएकाले अब रोकिएको कारोबारमा फेरि हात हाल्ने तयारी भएको हो ।’

कमसलको बिगसबगी

अहिले व्यवसायीहरुले आयात गर्ने बिटुमिन कमसल खालको हुन्छ । यसको परीक्षणका लागि कुनै सरकारी संयन्त्र नहुँदा यसको कारोबार गर्नेहरुले ठेकेदारसँग मिलेर कम गुणस्तरको बिटुमिन भित्र्याइरहेका छन् । यसैलाई सडकमा बिछ्याएर कालोपत्रे गर्दा पीच एकमहिना पनि नटिक्ने समस्या बढ्दो छ ।

गत आर्थिक वर्षमा नेपालमा ४० हजार ५ सय मेट्रिक टन बिटुमिन नेपाल भित्रिएको तथ्यांक छ । यसमा भारतबाट आयात भएको बिटुमिनको परिमाण २६ हजार २ सय मेट्रिक टन रहेको भन्सार विभागले जनाएको छ ।

नेपालमा भारतबाहेक तेस्रो मुलुकबाट पनि बिटुमिन आयात हुन्छ । गतवर्ष साउदी अरेबियाबाट १२ हजार ९ सय मेट्रिक टन बिटुमिन आयात हुँदा सिंगापुरबाट ९ सय मेट्रिक टन भित्रिएको थियो ।

नेपालमा मलेसियाबाट पनि बिटुमिट भित्र्याइन्छ । मलेसियाबाट गतवर्ष झण्डै ५ सय मेट्रिक टन बिटुमिन आयात भएको थियो ।

नेपालमा सरकारी तबरबाट बिटुमिन आयात नहुँदा कमजोर गुणस्तरका बिटुमिनले बजारमा प्रश्रय पाएको छ । भारतीय बजारबाट किनिने बिटुमिन महंगो मूल्य पर्छ भने सिंगापुरको बिटुमिन तुलनात्मक रुपमा बढी महंगो पर्छ ।

निगमले बिटुमिनको कारोबार थाल्न आन्तरिक तयारी थालेपनि सबै प्राविधिक विषयहरु टुंगो लागेको छैन । तर, निकट भविष्यमा नै आयल निगमले बिटुमिन आयात गरेर बिक्री थाल्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment