Comments Add Comment

नवल खड्कालाई ५ आरोपः’तपाइको संस्थामा थाकेका मान्छे मात्र किन ?’

nawal-khadka
‘राष्ट्रिय निर्माता संघ नेपाल गठन गरेका निर्माता तथा कलाकार नवल खड्का अहिले नयाँ संघको प्रचार अभियानमा छन् । निर्माता संघले निर्माताको हित बिरोधी काम गरेकाले नयाँ संघ खोल्न वाध्य भएको धारणा राख्ने खड्का आफ्नो संस्थाले बक्स अफिस लागू गराउन भुमिका खेल्ने बताउँछन् । उनै निर्माता खड्कालाई अनलाइनखबरले लाएको पाँच आरोपः

१. निर्माता संघको चुनाव जित्न नसक्ने भएपछि नयाँ निर्माता संघ खोल्नु भयो भन्छन् नि ?
यो सरासर गलत हो । पहिलो कुरो यो मैले आफ्नो लागि गरेको हैन । समग्र चलचित्र उद्योगको हितका लागि हो । निर्माता संघका अध्यक्ष राजकुमार राईले भवन निर्माण कोषको २३ लाख र निर्माताहरुसँग सदस्यता शुल्क वापत उठाएको ८ लाख हिनामिना गर्नुभयो । हामीले उहाँलाई पटक-पटक आग्रह गर्‍यौ, तर टेर्नु भएन । त्यसपछि वाध्यताले नयाँ संघ खोल्नु पर्‍यो । यो मेरो मात्रै हैन समग्र निर्माता साथीहरुको चाहना हो ।

२. निर्माता संघ दुइवटा भएपछि त निर्माताको मुद्धा कमजोर हुने भयो नि हैन ?
जुन संस्थाले भवन निर्माण भनेर जम्मा गरेको रकम हिनामिना गर्छ । सदस्यता नविकरण गरे वापतको रकम आफूखुसी खर्च गर्छ । त्यस्तो संस्था यसै कमजोर थियो । अब झन् कमजोर हुन्छ । त्यहि निर्माताहरुको मुद्धा कमजोर भयो भनेर हामीले नयाँ संस्था खोलेका हौं । अब पुरानो संस्थाले खास काम गर्न सक्दैन । काम हाम्रो संस्थाले गर्छ । निर्माताको मुद्धा अब बलियो हुन्छ । हामी बोलेर हैन गरेर देखाउँछौं ।

३. तपाई निर्माता संघमै भएको मान्छे त्यहि संस्थालाइ राम्रो बनाउन लाग्नु पर्ने हैन र ?
राम्रो बनाउनकै लागि भनेर हामीले भन्यौ कि समयमा घरभाडा तिर, भवन निर्माण कोषको रकम दुरुपयोग नगर । सदस्यतावाट उठाएको रकम बैंक खातामा जम्मा गर । नेतृत्वले सुनेन अनि हामी वाध्य भएर नयाँ संस्था खोल्नतर्फ लाग्यौ ।

४. तपाईको संघमा थाकेका मान्छेहरु मात्रै छन्, जुझारु सबै उतै छन् भन्ने सुनिन्छ नि ?
बेकारको कुरा हो यो । हाम्रो संस्थामा सबै जुझारु छन् । हामीले काम गर्नका लागि संस्था स्थापना गरेका हौं, थकाई मार्नका लागि हैन । थकाई मार्नेहरुका लागि हाम्रो संस्थामा कुनै काम छैन । हामीले भन्ने गरेका छौं कि थकाई मार्ने हो भने उतै जानुस् । काम गर्ने भए हाम्रोमा आउनुस् ।

५. अरुले हिरोमा नपत्याएपछि संघ संस्थाको राजनितीमा लागेको भन्नेहरुलाई के भन्नुहुन्छ ?
हेर्नुस् म अहिले जति सक्रिय छु नि, यत्तिको सक्रियता देखाउने हो भने म सांसद, मन्त्री हुन सक्छु । मन्त्री हुने योग्यता क्षमता मसँग । यो मैले लहडमा गरेको हैन । आफुले काम गरेको क्षेत्रलाई भोलीको पुस्ताले गाली नगरोस् भनेर गरेको हुँ । मलाई राजनिती नै गर्नु थियो भने म किन कलाकारिता गरिरहन्थेँ । उहील्यै पार्टीमा लागेर पार्टी राजनिती गर्थेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment