Comments Add Comment

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान !

dhan-cuting2
फाइल फोटो

७ मंसिर, सोलुखुम्बु । एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ?

धानको उत्पादन राम्रो हुने ठाउँमा त चार\पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन्, तर सोलुखुम्बुकै छेस्काममा भने चारपाथी धानको बीउबाट सरदर ६\७ पाथी मात्रै उत्पादन हुने गरेको छ । तैपनि त्यहाँका कृषक पुस्तौँदेखि धान रोपिरहेका छन् ।

चारपाथी धानको रोपाइँ गर्न असारमा उनीहरुलाई निकै चटारो हुन्छ तर मङ्सिरमा भित्र्याउने समयमा निकै सप्रियो भने बढीमा आठ पाथी उत्पादन हुन्छ नत्र पाँच/छ पाथी मात्रै हो ।

छेस्काम–९ बाछित्तोमा धुमधामसँग रोपाइँ गरिएको खेतबाट बीउ बराबर मात्र उत्पादन भएपनि रोप्नैपर्ने बाध्यता छ । यसको कारण हो वर्षभरिका लागि चाहिने अक्षता । कुलुङको कुलदेवता बुझाउन र बिरामी परेमा झारफुक गर्नका लागि स्थानीय उत्पादनकै धान\चामल चाहिने विश्वास रहेकाले अक्षताकै लागि उनीहरु रोपाइँ गर्छन् ।

“कुनै बेलामा त बीउ आउन पनि मुस्किल पर्छ” छेस्काम–६ का सरला कुलुङले भने, “बर्सेनि पाँचपाथी धानको बीउ रोप्छु, एकपटक धेरै सप्रिँदा आठ पाथी भित्राएँ, नत्र छ सात पाथी मात्रै हो ।”

छेस्काम–६ कै विष्णुमाया कुलुङ पनि रोपाइँमा त्यत्तिकै श्रम खेर गइरहेको भएपनि अक्षताकै लागि रोपाइँ आवश्यक रहेको बताउछन् ।  “खानको लागि चामल त देउसाको बुढीडाँडाबाट किनेर ल्याइन्छ, तर वर्षभरिका लागि अक्षता त चाहियो नि ! चार पाथी रोप्दा छ, सात पाथी फल्छ, त्यसबाट चारपाथी त अर्को साललाई बीउ चाहिन्छ, बाँकीले वर्ष दिनलाई अक्षता पु्र्याउनुपर्छ ।”

उत्पादन निकै कम हुने भएपनि अक्षताका लागि उनीहरुले अहिलेसम्म धान रोप्न छाडेका छैनन् । कुलपूजा, बिरामी पर्दा अक्षताजस्ता काममा स्थानीय उत्पादनकै धान्\चामल अनिवार्य चाहिने भएकाले धान रोप्नु उनीहरुको बाध्यता हो । उनीहरु धानको पराललाई घाँस तथा गुन्द्री बन्न प्रयोग गरेर श्रमको मूल्य पाएको भन्दै चित्त बुझाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment