Comments Add Comment

एक डाक्टर, जसले सुत्केरी महिलाहरुलाई नयाँ जीवन दिए

पहिले पोस्टमार्टमका लागि प्रयोग गरिने स्वास्थ्य कार्यालयमा अहिले उपचार हुन्छ

drgunaraj-awasti१२ मंसिर, काठमाडौं । एक समय यस्तो थियो, बैतडीमा सुत्केरी महिलाहरुको मृत्युको खबर तारन्तार आइरहन्थ्यो । स्वास्थ्यकर्मी अपुग थिए । उपकरण कति बिग्रिएर थन्किन्थे । नभएका उपकरण कतैबाट आउने सम्भावना थिएन ।

पछिल्ला वर्षहरुमा सुदूरपश्चिमको जिल्ला बैतडी स्वास्थ्यको क्षेत्रमा यस्तै ‘बदनाम’ थियो । स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पनि सो जिल्ला पाँच वर्षको अवधिमा ६८औं नम्बरमा थियो ।

यस वर्ष भने अचम्मै भयो, सोही मूल्यांकनमा बैतडी तेस्रो नम्बरमा उक्लिन सफल भयो । सुर्खेत पहिलो नम्बरमा पर्‍यो भने अछाम दोस्रो नम्बरमा । स्वास्थ्यको क्षेत्रमा निकै खराब नतिजामा रहेको बैतडीलाई यसरी माथिल्लो स्तरमा लैजाने श्रेय जान्छ, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीलाई ।

उनी ०६८ सालदेखि बैतडीको स्वास्थ्य क्षेत्रलाई सुधारको बाटोमा ल्याउन खटिएका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशक हुनुअघि उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत प्रसूति सेवा अध्ययनका लागि प्रसूति गृह, थापाथलीमा थिए । प्रसूति गृहबाट ०६८ भदौको पहिलो साता आफ्नो पढाइ पूरा गरेका मात्र थिए, दोस्रो साता नै उनलाई स्वास्थ्य मन्त्रालयले बोलायो ।
तत्कालीन स्वास्थ्य सचिव डा. सुधा शर्माले उनलाई बैतडी जान आग्रह गरिन् ।

डा. अवस्थी सम्झन्छन्, ‘त्यतिबेला बैतडीमा सुत्केरी महिलाको मृत्यु अधिक भएर नराम्रो अवस्था थियो । फेरि म त प्रसूति विषयकै ज्ञाता थिएँ ।’

त्यसका साथै उनले साढे दुई दशक मध्य पश्चिम र सुदूर पश्चिममा काम गरेको अनुभव पनि सँगालेकै थिए । गृहजिल्ला समेत त्यस क्षेत्रकै दार्चुला भएकोले बैतडी उनका लागि नौलो पनि थिएन । त्यहाँका सबै समस्या र अवस्थासँग परिचित थिए ।

डा. अवस्थी बैतडी जानु अगाडि त्यहाँ स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु खासै पुगेकै थिएनन् । छिटपुट कार्यक्रम पुगे पनि प्रभाव न्यून थियो । कार्यक्रम नहुँदा बजेट फ्रिज हुने अवस्था थियो

अजरबैजानमा एमबीबीएस पढेर सन् १९९० नेपाल फर्केका उनी भेरी अञ्चल अस्पतालमा काम सुरु गर्दै सरकारी सेवामा प्रवेश गरेका थिए । त्यस क्रममा २४ वर्ष मध्य पश्चिम र सुदूर पश्चिमका जिल्लाहरुमा काम गरे ।

त्यो अनुभवलाई पुँजी मान्दै उनी स्वास्थ्य सचिवको आग्रह स्विकारी बैतडी गए ।

पहिले समस्यै समस्या, अहिले जागरुकता

डा. अवस्थी बैतडी जानु अगाडि त्यहाँ स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु खासै पुगेकै थिएनन् । छिटपुट कार्यक्रम पुगे पनि प्रभाव न्यून थियो । कार्यक्रम नहुँदा बजेट फ्रिज हुने अवस्था थियो ।

‘बैतडी गएपछि मेरो एउटै मात्र सोच माग र आपूर्तिबीचको खाडललाई कसरी परिपूर्ति गर्ने भन्ने थियो’, डा. अवस्थीले भने, ‘त्यस्तो बेलामा मैले स्वास्थ्य नीति र आफूले गर्नुपर्ने काममा मात्र ध्यान दिएँ ।’

त्यहाँ उनले पहिलो समस्या त जनशक्ति अभाव नै देखेका थिए । उनले स्वास्थ्य मन्त्रालयलाई गुहारे । मन्त्रालयले जनशक्ति पूर्ति गर्न सक्दो सहयोग गर्‍यो । अवस्थीले सकेसम्म भएकै उपकरणहरु सदुपयोग गरे, नपुगेका उपकरण दातृ निकायसित सहयोग मागेर काम चलाए ।

अन्ततः उक्त खाडल धेरै हदसम्म पुरियो । अहिले बैतडीमा ९० प्रतिशत समस्याको समाधान भएको उनी दाबी गर्छन् ।
‘म जानुअघि बैतडीको स्वास्थ्य कार्यालय पोष्टमार्टमका लागि मात्र प्रयोग गरिन्थे । विस्तारै आधुनिक उपकरणहरु आए । दक्ष जनशक्तिले काम गर्न थाले । पहिले उपचार नहुने धेरै रोगहरुको त्यहीँ उपचार हुन थाल्यो,’ डा. अवस्थी भन्छन् ।
दक्ष जनशक्ति र राम्रो उपचार व्यवस्थाकै नतिजा हो, अहिले बैतडीमा मातृ मृत्युदर निकै घटेको छ ।

स्वास्थ्य क्षेत्रले यसरी कोल्टे फेर्नुमा आर्थिक स्रोतको पनि भूमिका छ । स्थानीय सरकारले गाउँ परिषद्, जिल्ला परिषद्, जिल्ला विकास समिति मार्फत पहिले पाँच लाख रुपैयाँभन्दा कम सहयोग गथ्र्यो । ०७१÷७२ सालयता स्वास्थ्य क्षेत्र सुधारका लागि एक करोड ३५ लाख रुपैयाँ सहयोग आउने गरेको छ ।

स्थानीय सरकारकै पहलमा बैतडीको ५३ ठाउँमा हेल्थ युनिट ‘सुरक्षित प्रसूति सेवा केन्द्र’ स्थापना भएको छ । स्वास्थ्यप्रति जागरुकता बढ्दै जाँदा अहिले हरेक गाउँमा ‘बर्थिङ सेन्टर’ चाहियो भनेर स्थानीय जनताले माग गरिरहेका छन् ।

स्वास्थ्यका लागि हरेकबाट दैनिक एक रुपैयाँ 

६८ गाविस रहेको बैतडीमा ६ सय १२ वटा वडा छन् । त्यसमध्ये करिब ५ सय २२ वडामा पुगेर डा. अवस्थीले स्थानीयसित अन्तरक्रिया गर्ने, जनचेतना जगाउने गर्दै आएका छन् । त्यस क्रममा ४/५ महिनादेखि एउटा अभियानै चलाएका छन्, आफ्नो स्वास्थ्यका लागि हरेकले दिनमा एक रुपैयाँ जम्मा गर्ने । यस अनुसार वर्षमा एक व्यक्तिबाट ३ सय ६५ रुपैयाँ जम्मा हुन्छ । जुन ठाउँमा जति रकम उठ्यो, त्यो पैसा त्यहीँ खर्च गर्ने मान्यता बसाइएको छ ।

‘हाल बैतडीमा ४४ हजार घरधुरी छन्, जनही एक रुपैयाँको दरले ४४ हजार घरधुरीबाट संकलन गर्ने हो भने वार्षिक एक करोड ६५ लाख रुपैयाँ उठ्छ’, डा. अवस्थीले भने, ‘यसले एउटा व्यक्तिको मात्र नभई पूरै जिल्लाको स्वास्थ्यमा सोचेअनुरुपको सुधार ल्याउन सकिन्छ ।’

उनी स्वास्थ्य मन्त्रालय समेत यही अवधारणा अनुसार चल्नुपर्ने देख्छन् । प्रत्येक नेपालीबाट दैनिक एक–एक रुपैयाँ उठाउने हो भने स्वास्थ्यका लागि अर्थ मन्त्रालयले बजेट दिएन भनेर गुनासो गर्नुपर्ने दिन नै नआउने उनको दाबी छ ।

उनी बैतडीमा पुगेको सुरुवाती चरणमा पनि बजेट अभावले नै पिरोलेको थियो । अस्पतालका लागि उपकरण खरिद गर्ने पैसा थिएन । झन्डै ७० प्रतिशत दरबन्दी रिक्त थियो । त्यस्तो अवस्थालाई सुधार्दै उनले ६५ वटा प्राथमिक स्वास्थ्य चौकीलाई विस्तार गर्दै १ सय २१ पुर्‍याए ।

डा. अवस्थीकै लगनशीलता र मिहिनेतको उपज हो, कुनै बेला एउटा पनि दातृ निकाय नपुग्ने बैतडीमा सहयोग गर्न धेरै तयार भए ।

अभावका बीच बैतडीलाई यो अवस्थामा पुर्‍याएका डा. अवस्थीको निष्कर्ष छ, ‘स्वास्थ्यको क्षेत्रमा माग र आपूर्तिबीचको खाडल कम गर्न सक्यौं भने मात्र पनि स्वास्थ्य सेवामा उल्लेख्य सुधार गर्न सकिन्छ ।’

स्वास्थ्य क्षेत्रमा बजेट जुटाउन अहिले बैतडीमा अर्को नियम पनि लागू गरिएको छ, जिल्लामा हुने प्रत्येक कार्यक्रमका सहभागीलाई दिइने यातायात खर्चबाट सय रुपैयाँ कटौती गरेर स्वास्थ्य क्षेत्र सुधार कोषमा जम्मा गरिन्छ । यो परिपाटी दुई वर्षअघि सुरु गरी अहिलेसम्म कोषमा तीन लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको छ । सोही रकमबाट हालसालै तीन वटा सुरक्षित प्रसूति सेवा केन्द्र समेत स्थापना भइसकेको छ ।

र, उत्कृष्ट चिकित्सक

यसरी चुनौतीलाई अवसरमा बदल्ने डा. अवस्थी स्वास्थ्य मन्त्रालयबाट ‘उत्कृष्ट चिकित्सक’ का रुपमा पुरस्कृत समेत भइसकेका छन् । फागुन १५ मा स्वास्थ्य सेवा दिवसको अवसरमा दिइने सो पुरस्कार उनले ०६९ सालमा पाएका थिए ।

यो पुरस्कार पहिलो वर्ष स्वर्गीय डा. चित्रप्रसाद वाग्लेलाई दिइएको थियो, जो दुर्गम गाउँमा पुगेर गरिब जनतालाई स्वास्थ्य सेवा दिन खटिने गर्थे । दोस्रो वर्ष अवस्थीले पाएका हुन् ।

वर्षको उत्कृष्ट चिकित्सकको सम्मान सेलाउन नपाउँदै राजधानीमा हालै आयोजित राष्ट्रिय स्वास्थ्य प्रगति समीक्षा गोष्ठीले उनको मिहिनेतको कदर गर्दै बैतडीलाई राष्ट्रिय सूचकांकमा तेस्रो नम्बरमा राखेको छ ।

अभावका बीच बैतडीलाई यो अवस्थामा पुर्‍याएका डा. अवस्थीको निष्कर्ष छ, ‘स्वास्थ्यको क्षेत्रमा माग र आपूर्तिबीचको खाडल कम गर्न सक्यौं भने मात्र पनि स्वास्थ्य सेवामा उल्लेख्य सुधार गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment