Comments Add Comment

अखण्ड पाँच नम्बर प्रदेश माग गर्दै रोल्पा र प्युठानमा आन्दोलन चर्कियो

सुर्खेत-दैलेख सडकखण्ड अवरुद्ध

rolpa-aandolan
रोल्पामा निकालिएको विरोध र्‍याली

१४ मंसिर, काठमाडौं । पाँच नम्बर प्रदेश टुक्राउने सरकारको प्रस्तावविरुद्ध रोल्पा र प्युठानबासीले संयुक्त आन्दोलन चर्काउँदै लगेका छन् ।

सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरू छुट्टाउने विधेयक संसदमा पेस गर्न लागेको खबर पाएलगत्तै रोल्पा र प्युठानमा आन्दोलन सुरु भएको मंगलबार ठीक एक हप्ता पुगेको छ ।

बन्दका कारण रोल्पा सुनसान छ । यातायातका साधन, बजार, शिक्षण संस्था सबै ठप्प छन् । लिवाङ, होलेरी, घर्तीगाउँ लगायतका बजार खुलेका छैनन् । उनीहरुले रोल्पालाई पाँच नम्बर प्रदेशमै राख्न माग गर्दै आएका छन् ।

यसैगरी प्युठान सदरमुकाममा पनि सर्बदलीय-सर्बपक्षीय आन्दोलन जारी छ । प्युठानमा मंगलबार दुई घण्टा चक्काजाम गरिएको छ । उनीहरुले आफूहरु बरु रगतको खोलो बगाउन तयार भएको तर पाँच नम्बर प्रदेशबाट कुनै हालतमा छुट्टिन नमान्ने बताउँदै आएका छन् ।

सोमबार प्यूठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्यूठानका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि संलग्न सर्वदलीय, सर्वपक्षीय बैठकले प्यूठानका पूर्वसांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा २३ सदस्यीय संयुक्त सङ्घर्ष समिति गठन गरेको छ। समितिमा दुबै जिल्लाका राजनीतिक दलका प्रमुख, नेपाल पत्रकार महासङ्घ, उद्योग वाणिज्य सङ्घ र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सदस्य रहेका छन्।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा ५ नम्बर प्रदेशबाट रोल्पा र प्यूठान छुट्याउने कार्य कदापि स्वीकार्य नहुने र जनताको भावनाविपरीत जबर्जस्ति गर्न खोजिए प्रतिरोधात्मक आन्दोलन गरिने उल्लेख छ।

संयुक्त सङ्घर्ष अन्तर्गत बिहीबार रोल्पा र प्यूठानको सीमा क्षेत्र चतुरभुजमा बृहत् खबरदारी सभा हुँदैछ ।

सुर्खेत-दैलेख सडकखण्ड अवरुद्ध

यसैबीच राज्य पुनर्संरचनाको विरोधमा मंगलबार दैलेखबासीले कर्णाली राजमार्ग अवरुद्ध पारेका छन् । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-दैलेख सडकखण्ड अवरुद्ध पारिएकाले हो । सडक अबरुद्ध भएपछि सो सडकखण्डमा गाडी नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment