Comments Add Comment

नियात्रा : दृश्य दर्शनको आनन्द

यसरी पनि जुट्दो रहेछ यात्राको अवसर ! यो यात्राको कल्पनासम्म पनि गरेको थिइनँ मैले । अचानक फोनको घन्टी बज्यो- काठमाडौंबाट विनोद दीक्षित बोल्नुभएको रहेछ । भन्नुभयो- ‘लम्सालजी ! हाम्रो दक्षिण भारततिर जाने कार्यक्रम छ । तपाईंको पनि टिकट भइसकेको छ, जानको लागि तयारी गर्नुस् ।’ त्यो दिन हो २५ पुस २०६४ –

एकाएक आइलागेको यात्राको यो अवसरले द्विविधा उत्पन्न गरायो । पर्सि हिँड्ने रे ! आज फोन आउँछ ! कसरी यति चाँडो तयारी गर्ने ? मैले तुरुन्त नगेन्द्रराज शर्मालाई फोन लगाएँ ।

srijan-lamsal
सृजन लम्साल

‘डा. ध्रुवचन्द्र। गौतम नजाने हुनुभयो, त्यो टिकटमा तपाईं जाने भएर हिँड्नुस् भनेर हो, के गर्नुहुन्छ ? पोहोर साल त जाने इच्छा व्यक्त गर्नुभएको थियो,’ उहाँले भन्नुभयो ।

उहाँहरु प्राय: दक्षिण भारततिर गइरहनुहुन्छ । त्यसैले त्यस्तो यात्रामा मलाई पनि सामेल गराउनुस् न भनेर मैले पोहोर साल एउटा जमघटमा उहाँहरुलाई भनेको थिएँ । तर, अहिले डा. ध्रुवचन्द्र गौतम बनेर यात्रा गर्नका लागि आइलागेको अवसरको उपयोग गर्ने कि नगर्ने झट्ट निर्णय गर्न सक्दिनँ म । केही समय मन्थनिएपछि अन्तत: त्यो यात्रा फलदायि नै होला भन्ठानेर तनहुँ जानका लागि ठिक्क परेको म दक्षिण भारतको यात्रामा जान तम्सिएँ ।

यता जाडोको पारो चढ्दो अवस्थामा थियो । दक्षिणतिर भने जाडो नै हुँदैन भन्छन् । त्यसैले यात्रामा के-कस्ता लुगाफाटो लैजाने होला भन्ने उहापोह र बाटोखर्चको रन्कोमा बिते दुई दिन । त्यसका लागि पनि मैले नगेन्द्रराज शर्मासित सल्लाह लिएँ । उहाँले धेरै लुगाफाटा नबोक्न र स्लिपिङ ब्याग चाहिँ लिइराख्न सल्लाह दिनुभयो ।

उहाँहरुलाई मैले लखनउमा भेट्दा पनि हुन्थ्यो तर रेलको टिकट गोरखपुरदेखिको भएकोले मैले पनि एउटा तीरले दुइटा चरा मार्ने निधो गरेँ अर्थात् यात्राकै क्रममा भैरहवामा माइजूलाई पनि भेट्ने आफ्नो उत्कट इच्छा पूरा गर्ने विचार गरेर काशी जान कुतीको बाटो रोजेँ । पुस २७ गतेका दिन म भैरहवा जानका लागि घरबाट निस्केँ । कोहलपुरमा बस समात्ने विचारले स्थानीय बसमा चढेँ ।

त्यो बस पिपरी पुगेपछि एकाएक पाखा लागेर रोकियो । कोहलपुरमा चक्काजाम रहेछ । नेपालमा चक्काजामको रोगले दुनियाँलाई पिरोलेको छ । यो रोग हटेर जाला भन्यो, झन् झन् नयाँ रुप लिँदै गइरहेको छ । अलिकति केही भयो कि चक्काजाम हुन्छ । बाटामा कुखुराका चल्ला किचिए पनि चक्काजाम हुने गरेको छ अचेल । आज त झन् मान्छेकै बच्चा किचिएको छ । कोहलपुरमा एक जना विद्यार्थीलाई एउटा ट्रकले किचेको छ ।

त्यो ट्रकलाई, ट्रक चालकलाई वा ट्रकको मालिकलाई पक्रेर आवश्यक कानुनी कारबाही गर्नु, गराउनु नि ! किन चक्काजाम गराएर राजमार्ग नै बन्द गराएर दुनियाँलाई दुःख दिन्छन् । देशमा कानुन नै नभए जस्तो जसले जे मन लाग्यो, त्यही गर्छन् अचेल । समाजले अधिकार खोज्ने क्रममा कर्त्तव्य चाहिँ बिर्सँदै गइरहेको छ अचेल । आफूले गरेको कार्यबाट समाजलाई के असर पर्छ, त्यो कसैले पनि सोच्दैन । आफ्नो स्वार्थग मात्र हेर्दछ मान्छे ।

‘प्रथम गासे मच्छिका पात:’ भने झैं यात्राको साइतमै बाधा व्यवधान आइपरेकोले मेरो मन खिन्न हुन पुग्दछ । कोहलपुर पुग्न ४ कि.मि. बाँकी छ । त्यहाँसम्म पुग्न पाए त अगाडिका लागि केही व्यवस्था हुन सक्थ्यो कि भन्ने सोच्दासोच्दै संयोगवश एउटा रिक्सा फेला पर्दछ । त्यसैमा बसेर कोहलपुर चौराहासम्म पुग्दछु म ।

बिना कामले पनि कोही घुम्न जान्छ ? मेरो भनाइलाई कसैले पनि पत्याएनन् । पत्याऊन् पनि किन ? किनभने डुल्ने घुम्ने काम त नेपालीको हुँदै होइन । हामी कि त तीर्थयात्राका लागि जान्छौं कि त औषधि उपचारको लागि

तीन घण्टासम्म कोहलपुर चौराहामा रुँगेर बस्दा पनि बाटो खुल्ने कुनै सम्भावना देखिएन । धेरैबेरपछि ‘बुटवल बुटवल’ भन्दै एकजना मान्छे चपरगौढीतिरबाट आयो । पूर्व जाने मान्छेहरु झोला बोकेर चपरगौढीतिर लागे । म पनि पछिपछि लागेँ ।

बुटवल जानका लागि उसको बसमा बसिसकेपछि पनि सिट नभरिएसम्म बस हिँडाउन आलटाल गरिरह्यो बसवालाले ! अगुल्टाले पोलिएको कुकुर बिजुली चम्कँदा तर्सन्छ भने झैं बन्दकर्ताहरु यहीँसम्म आइपुग्छन् कि भन्ने भयले मेरो मन चस्चसी घोचिरह्यो । तर, बस भरिँदै गएकाले ११ बजेतिर बस हिँड्यो र सुविस्तारसाथ बुटवल पुर्‍यायो । बुटवलमा सुनौलीको बस समातेर म ठुटेपिपल उत्रेँ र त्यस दिन माइजूकहाँ बसेँ ।

माइजूकहाँ भेटघाट भलाकुसारीपश्चात् धेरै जनाले मेरो आगमनबारे प्रश्न गर्न थाले । प्रश्न अघि सार्नु स्वाभाविक पनि छ किनभने यति टाढाबाट बिना कामले त्यसै कोही पनि आउँदैन । मैले सोझो मनले यथार्थ कुरा भनेँ- दक्षिण भारततिर घुम्न जानका लागि आएको । मेरो भनाइमा सबै हाँसे ।

बिना कामले पनि कोही घुम्न जान्छ ? मेरो भनाइलाई कसैले पनि पत्याएनन् । पत्याऊन् पनि किन ? किनभने डुल्ने घुम्ने काम त नेपालीको हुँदै होइन । हामी कि त तीर्थयात्राका लागि जान्छौं कि त औषधि उपचारको लागि । मैले नेपाली मनोविज्ञान बुझेँ र भनेँ- ‘म त तीर्थ गर्न जान लागेको, कन्याकुमारी, रामेश्वरम् र पुट्टपर्ति !’ त्यसो भनेपछि भने सबैले पत्याए ।

माइजूसँग भेट नभएको धेरै समय भएको थियो । राति अबेरसम्म उहाँसँग सुख-दुःखका गन्थनमन्थन भए । उहाँले वृद्धावस्थाका पीडाहरु व्यक्त गर्नुभयो । जो आम नेपालीहरुले बेहोर्न परिरहेको छ । एक रात बास बस्न आएको भानिजले के नै पो गर्न सक्थ्यो र ! तै पनि व्यक्त गरेपछि भित्रको पीडा कम हुँदो रहेछ क्यारे ! सन्तोष मानेर खुसी हुनुभयो । त्यसैबेला जापानबाट भतिज दीपकको फोन आयो । ऊसँग कुरा गर्दा बडो आनन्द आयो ।

पुस २८ गतेका दिन बिहामन ९ बजेतिर म होटल शान्तनुमा पुग्दछु र सहयात्री महानुभावहरुसँग सामेल हुन्छु । उहाँहरु भन्नुहुन्थ्यो- विनोद दीक्षित, नगेन्द्रराज शर्मा र ध्रुव सापकोटा ।

म त्यहाँ पुग्नेबित्तिकै विनोद दीक्षितले मलाई तुरुन्तै एउटा पदवी प्रदान गर्नुभयो । भन्नुभयो- ‘ल तपाईं हाम्रो यात्राको खजान्ची ।’ काम जस्तै अप्ठेरो भए पनि म नाइँनास्ती गर्न सक्दिनथेँ । नगेन्द्रराज शर्माले मलाई एउटा नोटबुक र एउटा कलम दिँदै भन्नुभयो- ‘यो यात्रा-निबन्ध लेख्नका लागि ।’ उहाँले विनोद दीक्षित र ध्रुव सापकोटालाई पहिले नै दिइसक्नुभएको रहेछ । लेखकहरुलाई उत्प्रेरित गर्ने उहाँको यो तरिका देखेर म धेरै प्रभावित भएँ र जे-जस्तो भए पनि यात्राबारे केही न केही लेख्ने अठोट गरेँ ।

हामी होटलबाट बाहिर निस्क्यौं । भैरहवा बजार डुल्यौं । पवन मिष्ठान्न भण्डारमा कफी खायौं । बाटोका लागि केही चमेना किन्यौं । त्यसपछि उहाँहरु कसैको निम्तामा दिवाभोज खान जानुभयो । म चाहिँ बैंकरोडस्थित थकाली होटल ‘डाँफे’ मा गएर खाना खाएँ । थकाली भोजनका परिकारहरुले उच्च आत्मसन्तुष्टि प्रदान गरे ।

दुई बजे हामी भैरहवाबाट प्रस्थान गर्‍यौं र दुई घन्टाभित्रै हामीलाई मारुती कारले गोरखपुर पुर्‍याइदियो । बाटो कटेको थाहै थिएन, आनन्दनगरमा खाएको केराको पकौडा स्वादिलो थियो । त्योभन्दा स्वादिला थिए काठमाडौंबाट आउनुभएका त्रिमूर्तिका चोटिला र मीठा ठट्टाहरु, हाँसोमै कट्यो बाटो ।

यात्राको टोली नेता विनोद दीक्षित हुनुहुन्थ्यव । उहाँलाई मैले भनेँ- ‘गोरखपुर पुगेपछि गोरखनाथ मन्दिर त जान पर्‍यो नि हैन सर !’

‘हो हो जाने हो !’ उहाले भन्नुभयो ।

गोरखपुर पुगेपछि सर्वप्रथम हामी नाथ सम्प्रदायका गुरु गोरखनाथको मन्दिरमा पुग्यौं । यिनै गुरु गोरखनाथका आशीर्वादले राजा पृथ्वीनारायण शाहले बृहत् नेपालको एकीकरण गरेका हुन् । नगेन्द्रराज शर्मा मन्दिरभित्र पस्नुभएन । हामी भित्रैसम्म गयौं र जोगी बाबाको दर्शन गर्‍यौं । मैले गुरु गोरखनाथसँग यात्राको सफलताको कामना गरेँ ।

‘अब गोलघर जाऔं, केही सामान नकिनी भा’छैन ।’ विनोदजीले भन्नुभयो । गोलघर क्षेत्र पुरानो बजार रहेछ । त्यसको विशेषता चाहिँ के रहेछ भने त्यहाँ नपाइने कुरा केही रहेनछ । किनमेल  सकेर हामीले रेलवे स्टेसन अगाडिको होटल अमितमा बासको बन्दोबस्त गर्‍यौं । खान चाहिँ माडबारी भोजनालयमा गयौं । माडबारीकहाँको पिरोले मेरो सातो लियो । होटेलको क्षेत्र साह्रै व्यस्त ठाउँ रहेछ । रातैभरि हल्लाखल्ला भइरह्यो । राम्ररी सुत्नै पाइएन ।

भोलिपल्ट बिहान ५ बजे उठेर नित्मकर्मादि सक्यौं र ६ बजे रेलवे स्टेशनभित्र पस्यौं । राप्ती सागर एक्सप्रेस यात्रीहरुको स्वागतार्थ लमतन्न र स्थिर भएर उभिइरहेको थियो । भित्र पसेर टिकट अनुसारका आ-आफ्ना बर्थहरु पहिल्याउन थाल्यौं । झोलाहरु सिटमुनि मिलाएर राख्यौं । त्यसबेला एक जना अलि दुब्लो, च्याँसे, कोइलाखानीमा काम गर्ने जस्तो ध्वाँसे न ध्वाँसे मान्छेले हाम्रा झोलाहरु थुतेर आफ्ना झोलाहरु सिटमुनि राख्न लागेको देखेर विनोद दीक्षितले भन्नुभयो- ‘यो के गरेको तपाईंले ?’ उल्टै उही तातियो र भन्यो- ‘देखने मे तो बुजुर्ग लगते हो । लेकिन कैसे आदमी हो ?’

मान्छे अलि तुच्छ जस्तो लाग्यो । हामी केही बोलेनौं । ऊसँग एक जना महिला र एउटा बालक पनि थिए । पछि थाहा भयो उसको श्रीमती र छोरो रहेछन् । ती आमाछोरा नेपाली भाषामा बोलेको सुन्दा हामी छक्क पर्‍यौं । ऊ एक गार्मेन्ट कम्पनीमा काम गर्ने कालीगढ रहेछ । उसले काठमाडौं, कीर्तिपुरकी केटी बिहे गरेको रहेछ । त्यो बालक यात्राभरि हामीसित झुम्मियो । केही खानेकुरा दियो भने खान्थ्यो । मामा भनेर सम्बोधन गर्थ्यो तर उसको बाबुले मुन्टो ठाडो गर्न सकेन । शिर निहुर्‍याएरै बस्यो । ऊ केरलाको त्रिसुरमा उत्र्यो ।

गोरखपुरबाट हिँडेपछि राप्ती सागर एक्सप्रेस आफ्नो कर्त्तव्य पालनमा अग्रसर हुन्छ । हुइँकिरहन्छ लगातार तर घरिघरि भने स्टेसन स्टेसनमा रोकेर टक्क अडिइन्छ र अरुलाई बाटो छोडिदिन्छ । विश्राम स्थल आउन लाग्यो कि आफ्नो आगमनको शङ्खघोष गर्दछ । आदेशानुसार नै ऊ हुइँकिन्छ वा अड्छ । यसरी उसलाई गोन्डा, लखनऊ, कानपुर, झाँसी, भोपाल, नागपुर, बर्धा, बरङ्गाल, विजयबाडा, चेन्नई, काठपाडी, शेलम, ईरोड, कोयमवटुर एर्णाकुलम् हुँदै त्रिवेन्द्रमसम्म पुग्नुछ । त्यसैले उसले लयबद्ध रुपमा,गीतिमय गतिमा त्रिवेन्द्रम् भन्दै दौडिरहेको जस्तो लाग्दछ मलाई ।

मलाई रेलयात्रा रमाइलो लाग्दछ । मैले जीवनमा भारतको उत्तरपूर्वी रेलवेमा कैयौं पटक यात्रा गरेको छु र लखनऊदेखि हावडासम्मको रेलयात्रा पनि गरेको छु तर यति लामो रेलयात्रा गरेको भने यो पहिलो पटक हो । त्यस कारण पनि मलाई यो रेलयात्रा अलि भिन्न र रोचक लागिरहेको हुन्छ ।

समय एउटै तर भौगोलिक भिन्नतामा वृक्ष, वनस्पतिहरुको भिन्नता देखिँदैन जान्छ । आँपका बगैंचा हेर्दाहेर्दै नरिवल, ताडी, खजुर र सुपारीका बगैंचाहरुबीच पुग्दछौं । हामी एकै ठाउँमा बसेर, एकै समयमा भौगोलिक भिन्नतामा प्राकृतिक भिन्नता अवलोकन गर्दै जाँदा म हर्षित र रोमाञ्चित भइरहेको हुन्छु

यथार्थमा बर्थ रिजर्भ गरेर रेलयात्रा गर्नु भनेको डेरा लिएर बस्नु जस्तै लाग्दछ मलाई । डेरामा हुने सुविधाहरु सबै त्यहाँ हुन्छन् । बिजुली बत्ती, धारापानी, शौचालय आदि सबैथोक हुन्छन् त्यहाँ । त्यहाँ होटेल रेस्टुरेन्ट पनि हुन्छन् । यथासमयमा आफूलाई मन लागेको वस्तु, चिया, कफी, खाजा वा भोजन जे पनि पाइन्छ, मात्र पैसा चाहिन्छ । मूल्य भने अलि महँगो हुँदो रहेछ र ठग्ने प्रवृत्ति पनि पाइँदो रहेछ ।

आफू बसेको अपार्टमेन्ट बैठक कोठा जस्तै लाग्दछ । आगन्तुकहरु आइरहन्छन्, गइरहन्छन् । उनीहरुसित हामी भेट गर्छौं, परिचय गर्दछौं, गफ ठट्टा गर्दछौं । उनीहरुसित त्यस्ता गफ ठट्टाहरु पनि जीवनकै लागि अविष्मरणीय हुँदा रहेछन् ।

कानपुरमा एक जना पुलिस सब-इन्स्पेक्टर हाम्रो अपार्टमेन्टमा चढ्दछ र हामीसँगै बस्दछ । विनोद दीक्षितका गफ, चुट्किला र गाउँखाने कथाहरु सुनेर मोहित हुन्छ । उसले हामीलाई उत्तरप्रदेशकै कुनै पार्टीका नेताहरु भन्ठानेछ क्यारे ! पछि त उसले प्रहरी प्रशासनभित्रका कमीकमजोरीहरु पो बताउन थाल्यो । त्यतातिर नेताहरुको ध्यान जाओस् भन्ने उद्देश्यले हुन सक्छ ।

हाङ्गी तीन दिन तीन रातसम्म एउटै डिब्बामा बसेर समय बिताउँछौं । रातमा सुत्छौं, दिनमा पत्रपत्रिका पढ्छौं । तास खेल्छौं, गफ गर्छौं, बस्छौं । हामी एक ठाउँमा बसेर ठाउँठाउँको दृश्य हेर्दछौं । त्यहाँको वस्तुस्थिति बुझ्दछौं र आनन्द लिन्छौं । हामी हेमन्त ऋतुको ठिहिरोमा रेल चढ्छौं । बिस्तारै वसन्त ऋतु न्यानोमा पुग्दछौं । थरीथरीका वसन्ती फूलहरु फुलेको देख्दछौं । आँपमा फूल लाग्दै गरेको देख्छौं । अझै पर गएपछि वर्षा ऋतुमा प्रवेश गरे जस्तो लाग्दछ । खेतमा कतै रोपाइँ भइरहेको देखिन्छ, कतै धानका बाला झुलिरहेको देखिन्छ ।

समय एउटै तर भौगोलिक भिन्नतामा वृक्ष, वनस्पतिहरुको भिन्नता देखिँदैन जान्छ । आँपका बगैंचा हेर्दाहेर्दै नरिवल, ताडी, खजुर र सुपारीका बगैंचाहरुबीच पुग्दछौं । हामी एकै ठाउँमा बसेर, एकै समयमा भौगोलिक भिन्नतामा प्राकृतिक भिन्नता अवलोकन गर्दै जाँदा म हर्षित र रोमाञ्चित भइरहेको हुन्छु । मलाई प्रकृति रहस्यमय लाग्दछ, जादुयी लाग्दछ । दृश्य दर्शनमा आनन्दविभोर भएर म यात्राको आनन्द लिइरहेको हुन्छु । राप्ती सागर एक्सप्रेस भने एकनाससित गीतिमय एवं लयबद्ध रुपमा ‘त्रिवेन्द्रम् त्रिवेन्द्रम्’ भन्दै गन्तव्य स्थलको नाम जप्दै हुइँकिरहेको हुन्छ- निरन्तर !

(नियात्राकार लम्सालको नियात्रासंग्रह भित्रबाहिरका पाइलाबाट ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment