+
+

अर्पण शर्माः जसको स्मरणशक्तिले चकित बनाउँछ

वस्तु चिन्ने कीर्तिमानपछि अब ताससम्बन्धी कीर्तिमान बनाउने योजना

गौरव पोखरेल गौरव पोखरेल
२०७३ मंसिर २६ गते ११:४१

अर्पण शर्मा कट्टेल तेज स्मणशक्ति भएका यस्ता युवा हुन्, जो वस्तुहरूको नामको लामो सूची एकचोटि हेरेपछि क्रम नटुटाई सरासर भन्न सक्छन् ।

यही प्रतिभाका कारण उनले गिनिज बुक अफ द वर्ल्ड  रेकर्ड्समा आफ्नो नाम लेखाइसकेका छन् ।

उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका हुन् । सन् २०१४ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए ।

यसअघि भारतको हैदरावादका जयसिंह रविरालाको नाममा यो कीर्तिमान रेकर्ड गरिएको थियो । उनले एक मिनेटमा ४० वटा वस्तुको नाम स्मरण गरेका थिए ।

अहिले २६ वर्ष लागेका अर्पण पछिल्ला दिनहरुमा पूर्वी नेपालका विभिन्न विद्यालय र संघसंस्थामा स्मरणशक्ति अभिवृद्धि सम्बन्धी तालिम दिनमा व्यस्त छन् ।

गत बैशाखमा उनले झापामा युवा सशक्तिकरण समाज नामक संस्था खोलेका छन् । सो संस्थाले युवालाई मेमोरी, आर्ट, बुटिक लगायतका विषयसँग सम्बन्धित तालिम दिन्छ ।

तासको पत्तीहरु सबैलाई बाँडेर उनी कसको हातमा कुन छ, भन्दिन सक्छन् । मानिसको भीडमा गएर एक पटक सबैलाई नाम सोध्छन् पहिलो पटक सुनेका ती नामहरु नझुक्किई भन्न सक्छन् ।

सुमधुर आवाजका धनी उनी विभिन्न सभा, समारोहमा गीत पनि गाउँछन् । बहुप्रतिभाशाली अर्पण राष्ट्रिय युवा पुरस्कार–०७२ बाट सम्मानित भइसकेका छन् । यसका साथै स्थानीय स्तरमा पनि दजनौं संघसंस्थाबाट पुरस्कृत भएका छन् ।

बीबीएस दोस्रो वर्षको परीक्षाको बेला साथीहरुले अर्पणमा अद्भूत प्रतिभा देखेपछि गिनिज बुकमा नाम लेखाउन जोड गरेका थिए । परीक्षा नजिकिँदै गर्दा छिमेकको साथी प्रकाश गिरीसँग बसेर उनी तयारी गर्दै थिए ।

प्रकाशले केही शब्दहरु लेखेर दिँदै कसले छिटो याद गर्ने भनेर अर्पणलाई च्यालेन्ज दिए । अर्पणले स्वीकार गरे । प्रकाशलाई ती शब्दहरु याद गर्न करिब २० देखि २५ मिनेट लाग्यो । तर, अर्पणले दुई मिनेटमै ती शब्द याद गरे । प्रकाश छक्क परे ।

उनको विलक्षण प्रतिभा देखेर साथीले नै यो विधामा विश्व कीर्तिमान राख्न सकिने बताए । लगत्तै उनीहरुले इन्टरनेटमा हेर्दा त्यसबेला एक मिनेटमा २२ वटा वस्तुको स्मरण गरेर रेकर्ड कायम गरिएको रहेछ ।

गिनिज बुकको वेबसाइटबाट उनले अनलाइन एप्लिकेशनको बारेमा थाहा पाए । केही दिन पूर्व तयारीका लागि छुट्टयाए ।

पछि अनलाइनबाटै फारम भरे । शीर्षक थियो, Longest Sequence of objects memorized in one minute.’

त्यहाँ नियमहरुको बारेमा पनि लेखिएको थियो । कीर्तिमान देखाउने इभेन्टको समय र ठेगाना सोधिँदो रहेछ । उनले तीन महिनाको समय राखे । दमकको पाथिभरा होटल एण्ड लजमा इभेन्ट गरियो ।

धेरै शब्दको केहीबेरमै स्मरण गरेर उनले सबैलाई चकित बनाउने गरेका छन् । उनी भन्छन्, ‘सामान्यतयाः एउटा शब्दलाई स्मरण गर्न एक सेकेण्डदेखि ५ सेकेण्डसम्म लाग्छ ।’

आफ्नो स्मरणशक्तिका कारण उनलाई पढाइमा पनि धेरै सघाउ पुगेको छ । उनी कलेज टपर हुन् ।

अचम्म लाग्न सक्छ, परीक्षाको तालिका नआउन्जेल उनी किताबै छुँदैनन् । तर, तालिका आएको एक महिनाअघिदेखि भने आफ्नो स्मरणशक्तिलाई भरपूर प्रयोग गर्दै मन लगाएर पढ्छन् ।

पढेका कुरा कसरी याद गर्ने त ?

उनले भने, ‘हरेक शब्दहरुलाई चित्रमा कोर्न सक्नुपर्छ, सबै कुरालाई चित्रमा कन्भर्ट गर्दा याद गर्न सजिलो हुन्छ ।’

अर्पणले कलेज जीवनमा कमै मात्र कलेज धाए । उनी सम्झिन्छन्, ‘कक्षा ११\१२ मा वर्षभरिमा १० देखि १५ दिन मात्र कलेज गएँ होला । १२ पछि त एक दिन पनि क्लास लिइनँ ।’ उनले ०६२ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् ।

उनी चेसको पनि राम्रो खेलाडी हुन् । तर, उनीसँग प्रायः साथीहरु खेल्न मान्दैनन् । हाँस्दै उनले भने, ‘उनीहरुलाई आफू हार्छु भन्ने थाहा हुन्छ, त्यसैले खेल्दैनन् ।’ वास्तवमै उनलाई चेसमा हराउन सक्ने साथीहरु कमै छन् ।

अर्पणलाई कोर्सका किताबभन्दा पनि बाह्य किताब रुचिकर लाग्छन् । उनी वैज्ञानिक तथ्य, योग, ध्यान र प्रेरणादायी पुस्तकहरु पढ्न मन पराउँछन् । उनी प्रायः दिउँसोको समयमा पढ्छन् ।

अर्पणलाई दर्जनौं फोन नम्बरहरु पनि कण्ठस्त छन् । उनलाई देखेको सबै कुरा याद हुने हो त ? उनी भन्छन्, ‘त्यस्तो होइन । याद गर्छु भनेर स्मरण गरेको कुरा मात्र याद हुने हो ।’

विश्व कीर्तिमान कायम गर्नुभन्दा अघि र पछिको आफूमा उनी धेरै फरक पाउँछन् । ‘पहिले प्रतिभा र क्षमता थियो, देखाउने कन्फिडेन्स थिएन । अहिले कन्फिडेन्स लेभल बढेको छ, प्रतिभा देखाउने प्लेटफर्म पनि बढेका छन् । जहाँ गएर जे पनि गर्न सक्छु जस्तो लाग्छ ।’

उनले पछिल्लो समय तास सम्बन्धी अर्को कीर्तिमान कायम गर्ने सोच बनाएका छन् । पानीमा डुबेर तासको रेकर्ड राख्ने र गीत गाउँदै याद गर्ने विधामा आवेदन भर्ने उनको तयारी छ ।

गिनिज बुकबाट आधिकारिक मान्छेलाई बोलाएर कार्यक्रम गर्दा ६ लाख रुपैयाँसम्म खर्च हुन्छ । यहाँबाट भिडियो बनाएर पठाउँदा १० देखि ११ महिनासम्म कुर्नुपर्ने हुन्छ ।

उनीहरु नेपाल आउने वातावरण भयो भने कार्यक्रम सकिने बित्तिकै प्रमाणपत्र पाउन सकिन्छ ।

स्मरणशक्ति अन्तर्गतको ५/६ वटा विधामा रेकर्ड कायम गरेर नेपालको नाम विश्वमा फैलाउने उनको लक्ष्य छ । यसका साथै गायनलाई समेत व्यावसायिक रूपमा अघि बढाउने उनको योजना छ ।

यस्तो स्मरणशक्ति भएको मानिसले लोकसेवामा भिडेर सरकारी जागिर खानु नि !

यो प्रश्नमा अर्पणले हाँस्दै भने, ‘त्यतातिर लाग्ने पनि योजना छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?