Comments Add Comment

जीतु नेपाललाई ५ आरोपः तपाई असाध्यै लोभी हुनुहुन्छ भन्छन् नि ?

jitu-nepal-news
जीतु नेपाल अहिलेका व्यस्त हाँस्य कलाकार । टेलिश्रृङ्खला हुँदै चलचित्रमा समेत सक्रिय जीतु स्टेज कार्यक्रममा पनि उत्तिकै व्यस्त छन् । लामो समयसम्म हाँस्य सिरियल ‘जिरे खुर्सानी’ मा निर्देशन एवं अभिनय गरेका जीतुलाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. तपाईं टिममा मिलेर काम गर्न सक्नुहुन्न भन्छन् नि ?
पहिल्यै गलत आरोप लगाउनुभयो । यदि टिममा मिल्न नसेको भए ११ वर्षसम्म हामीले कसरी काम गर्‍यौं होला । अर्को कुरा, अहिले पनि मैले एक्लै कार्यक्रम गरेको छैन । स्टेजमा समेत म ग्रुपमै कार्यक्रम गर्छु । सँगै काम गर्ने धेरै साथीहरु छन् । चलचित्रमा त झन् एक्लो हुने कुरै भएन ।

२. पछिल्लो समय सिर्जनात्मक प्रस्तुति कम भयो रे, हो ?
कुनै पनि नयाँ काम गर्नका लागि नयाँ ठाउँ, नयाँ परिवेश हुनुपर्छ । भात मात्रै मीठो पकाएर हुन्न, भात खाने थाल र पस्किने पन्यू पनि राम्रो हुनुपर्‍यो । हाम्रो समाज यहि हो, समाजिक समस्यामाथि व्यङ्ग्य गर्नुपर्छ । त्यसकारण कतिपय दर्शकलाई पुरानै कुरा दोहोर्‍याए कि जस्तो लागेको होला । अर्को कुरा के हो भने हामी कार्यक्रमको प्रकृति हेरेर पनि प्रस्तुति दिन्छौं । कहिलेकाही पुरानै कुराले काम चल्छ भने नयाँ गर्दैनौं ।

३. तपाईंहरुले राजनीतिक दलका नेताहरुको उछित्तो काढेकाले नेताहरुको आलोचना गर्नेहरु बढे भन्छन् नि ?
पहिलो कुरा त हामीले कुनै पनि दलका नेताहरुको मानमर्दन गरेका छैनौं । हाम्रो उद्देश्य त्यस्तो पनि होइन । हामी त केवल नीति निर्माण तहमा बसेकाहरुले गरेको कमजोरीमाथि व्यङ्ग्य गर्छौं, व्यङ्ग्यको अर्थ गाली होइन । हामी त चाहन्छौं, हाम्रो व्यङ्ग्यले उहाँहरु सुधि्रनुहुन्छ र रचनात्मक काम गर्नुहुन्छ ।

४. तपाईं असाध्यै लोभी हुनुहुन्छ रे हो ?
त्यस्तो छैन । जायज काममा खर्च गर्न कहिल्यै कन्जुस्याइँ गरेको छैन । यति कुरा पक्का हो, म मितव्ययी छु, अनावश्यक काममा खर्च गर्दिनँ । मैले अनावश्यक काममा खर्च नगर्दा मेरो परिवार वा अरु कसैलाई राम्रो हुन्छ भने त्यो पनि राम्रै हो जस्तो लाग्छ ।

५. विदेशका कार्यक्रम पाएपछि स्वदेशका कार्यक्रम छोड्दिनुहुन्छ रे ?
कतिपय अवस्थामा त्यस्तो पनि भएको छ । तर, अहिलेसम्म मैले कसैलाई धोका दिएको छैन । कतिपय कार्यक्रम आयोजकहरूले हामीसँग भेट र कुराकानी नै नभई हाम्रो फोटो राखेर कार्यक्रमको प्रचार गर्नुहुन्छ । अनि आएनन् भन्नुहुन्छ । कहिले आयोजकहरुले कार्यक्रममा आउनुपर्छ भन्नुहुन्छ, तर सम्झौता भएको हुन्न । त्यही बेला अर्को आयोजकले सम्झौता गरेपछि हामी मौखिक आश्वासनलाई प्राथमिकता दिँदैनौं ।

जहाँसम्म विदेशको कुरा छ, हामीले विदेशीलाई हँसाएर डलर लिएर आउने हैन । त्यहाँ बस्ने नेपालीलाई नै हँसाउने हो । त्यसकारण धोका दिएको भन्न नमिल्ला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment