Comments Add Comment

अर्थ मन्त्रालयमा ‘खाजा खर्च’मै साढे १७ लाख सकियो

४२ दिनको खाजा खर्च भन्दै १७ लाख ५७ हजारको बिल सार्वजनिक

Ministry-of-Finance

३ पुस, काठमाडौं । अर्थ मन्त्रालयले ४२ दिनमा करिब १८ लाखको खाजा खाएको भन्दै बिल सार्वजनिक गरेको छ ।

भदौ र असोज महिनामा मन्त्रालयभित्र भएको बैठकमा खाजा खाँदा १७ लाख ५७ हजार खर्च भएको विल अर्थ मन्त्रालयले आफ्नो वेबसाइटबाट सार्वजनिक गरेको हो । यी दुई महिनामा जम्मा ४२ दिनमात्रै सरकारी कार्यालय खुलेका थिए ।

गत आर्थिक बर्ष निजामति पुरस्कारबाट उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित सचिव शान्तराज सुवेदीले सम्हालेको मन्त्रालयले खाजाका नाममा यति धेरै खर्च गरेको पाइएको हो । मन्त्रालयले कञ्चन चमेना गृहलाई १७ लाख ५७ लाखको विल भुक्तानी गरेको देखाएको छ ।

के छ खाजासम्वन्धी व्यवस्था ?

मन्त्रालयको खाजा व्यवस्थापनबारे कुनै व्यवस्था छैन । कर्मचारीले आफ्नै पैसाबाट खाजा खानुपर्ने व्यवस्था छ । तर, मन्त्रालयभित्र बस्ने वैठक र कार्यक्रमका बेलामा भने सरकारकै पैसाबाट खाजा वितरण हुने गरेको छ ।

दुई महिनामा जम्मा ४२ दिन कार्यालय खुल्दा अर्थ मन्त्रालयमा कतिवटा बैठक भएका थिए, उल्लेख भएको छैन । यसबारेमा अर्थ मन्त्रलयका प्रवक्ताले पनि यो कुरा बताउन चाहेनन् ।

तर, प्रतिदिन हिसाब गर्दा एक दिनमा अर्थ मन्त्रालयले करिब ४१ हजारका दरले खाजा खुवाएको देखखिन्छ ।

कति मूल्यको हुन्छ कञ्चन चमेना गृहको खाजा ?

चमेना गृह सञ्चालकका अनुसार बैठकहरुमा कुखुराको मासु, म.म, मिठाइ र फलफुलको सेट हुन्छ । पत्रकार सम्मेलन वा धेरै संख्यामा भएको बैठकमा प्याकिङमा खाजा खुवाउने गरेको चमेना गृहले जनाएको छ ।

यसरी खुवाउने खाजाको मूल्य एक सय ५० देखि २ सय रुपैयाँसम्मको हुने चमेना गृहको भनाइ छ । अधिकांश समय एक सयको हाराहारीको खाजा सेट मन्त्रालयमा पठाउने गरिएको चमेनागृहले जनाएको छ । तर, मन्त्रालयले भने निकै अस्वाभाविक लाग्ने खर्चको बिल सार्वजनिक गरेको छ ।

अर्थमन्त्रीको सचिवालय भन्छ, ‘एउटा कुखुराका दुईवटा फिला हुन्छन्’

मन्त्रालयको खाजाका नाममा सार्वजनिक भएको अस्वाभाविक विलबारे अनलाइनखबरले अर्थमन्त्रीको सचिवालयसँग प्रश्न गरेको थियो । अर्थमन्त्रीका एक सचिवालय सदस्यले भने ‘एउटा कुखुराका दुईवटा मात्रै फिला हुन्छन्, सबैले फिलाको मासु मात्र खान्छु भनेर पुग्दैन, कसैले फिला खान्छ, कसैले घाँटी खाएर पनि चित्त बुझाउनुपर्छ । कसैको भागमा खुट्टा पर्ला । यस्तै हो ।’

उनले अर्थ मन्त्रालयका कर्मचारीले धेरै खाजा खाए भनेर रीस नगर्नसमेत आग्रह गरेका हुन् ।

चमेनागृह भन्छ-महिनामा ९० हजारदेखि डेढ लाखको बिल जान्छ

कञ्चन चमेनागृह अर्थ मन्त्रालय अन्र्तगतको क्यान्टिन हो । उक्त क्यान्टिनबाट ‘महिनामा ९० हजार देखि १ लाख ५० हजार’ भन्दा माथिको बिल नजाने गरेको अर्थ मन्त्रालयकै एक अधिकारीले बताए ।

उनले दुई महिनामा अधिकतम खर्च राख्दा पनि खाजा खर्च पाँच लाखभन्दा माथि ननाघ्ने दाबी समेत गरे ।

उनले यसलाई थप पुष्टि गर्दै कोसिस गर्दै भने, मन्त्रालयमा आउने वित्तिकै मिटिङ पनि हुँदैन । क्यान्टिनले मन्त्रालय बाहिर हुने मिटिङको खाजा खुवाउने पनि होइन, त्यसैले यो मूल्य आकार अपत्यारिलो छ ।

क्यान्टिन सञ्चालकले भने दुई महिनाको खाजाको बिल १७ लाख भएको हो होइन भन्ने विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् । चमेना गृह सञ्चालक भुवन भट्टले भने, ‘यसबारेमा हामीलाई केही थाहा हुँदैन, बिल कति थियो, कति आउनुपर्ने थियो, त्यो मलाई थाहा हुँदैन । मेरा भाइलाई सोध्नुपर्छ ।’

उनले भदौ-असोज महिनाको बिलमा उठेको मूल्य भन्नसमेत अस्वीकार गरेका छन् । उनले अन्तिममा भने, हामीले टेण्डरमा परेको मूल्यदरमा खाजा खुवाउँछौँ । यो भन्दा बाँकी अरु केही चाहिए मन्त्रालयमै सोध्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment