Comments Add Comment

पञ्चायतको लागि फिल्म बनाउँदा पञ्चेहरु नै रुष्ट भए

neer-shah-810

४८ वर्षको फिल्मी करिअरमा मैले दर्जनौं फिल्ममा अभिनय गरेँ, धेरै फिल्म निर्देशन गरेँ । यस बीचमा बेकारमा काम गरिएछ भन्ने फिल्महरु पनि गरियो । त्यसमध्येकै प्रोजेक्ट हो, पञ्चायतकालमा बनाएको ‘पच्चीस वसन्त’ फिल्म ।

अहिले आएर सोच्दा त्यो नबनाएको भए नै राम्रो हुन्थ्यो भन्ने लाग्छ । यसको कारण बुझ्न भित्री पाटोमा जानुपर्छ ।

पञ्चायती व्यवस्थाको रजत जयन्तीका अवसरमा फिल्म बनाउन लागिएको रहेछ । २५ वर्ष पुगेको सन्दर्भमा फिल्मको नाम पनि ‘पच्चीस वसन्त’ राखिएको थियो । फिल्मको निर्माता तत्कालीन श्री ५ को सरकार थियो । उहाँहरु फिल्मका लागि निर्देशकको खोजीमा हुनुहुँदो रहेछ । त्यसै क्रममा मलाई प्रस्ताव आयो ।

धेरैपटक नगर्ने निर्णय गरेर बसे पनि अन्त्यमा गरेको फिल्म हो यो । म त्यतिबेला यसै पनि व्यस्त थिएँ, नेपाल टेलिभिजनको अध्यक्ष तथा महाप्रबन्धक थिएँ । मैले छोड्दा फिल्म अरुहरुले अगाडि बढाइसकेका थिए । तर, पछि फेरि मेरै जिम्मामा आइलाग्यो ।

त्यो फिल्ममा मेरा अनन्य मित्रहरु रवि शाह, मदनदास श्रेष्ठ पनि जोडिनुभएको थियो । उहाँहरु सबैको आग्रह र जोडबलमा फिल्म नगरी नहुने बाध्यता आयो । फिल्ममा मेरो संलग्नता प्रोजेक्ट सुरु भएको लगभग एक वर्षपछि भएको थियो । त्यसबेलासम्ममा गीतहरु रेकर्डिङ गर्ने लगायत फिल्मको प्रि-पोडक्सनको काम भइसकेका थिए ।

सिनेमा खासै नबनिरहेको बेलामा प्रस्ताव आएको थियो, अर्कातिर सरकारको लगानीमा सिनेमा बन्दा सुटिङ गर्न पनि सजिलो होला भनेर सकारात्मक पक्ष सोचियो ।

तत्कालीन समयमा मेरो आकर्षणको कुरा राम्रो पारिश्रमिक पनि थियो । फिल्म निर्देशन गर्न त्यसबेला एक लाख रुपैयाँ पाउनु ठूलो कुरो थियो ।

फिल्म बनाइरहँदा पञ्चायत नीति जाँचबुझ समितिका मान्छेहरु पटकपटक हेर्न आउँथे ।

कथा तोडमोड गरियो

‘पच्चीस वसन्त’को कथा साहित्यकार विजय मल्लले लेख्नुभएको थियो । कथामा थुप्रै पक्ष थिए, मलाई चाहिँ त्यसभित्रको मानवीय पक्षले आकर्षण गरेको थियो । सिनेमा बनाउने निधो गरेपछि मैले समातेको मूल प्रसंग पनि त्यही थियो ।

विजय मल्ल जस्तो राम्रो लेखकले लेखेको, फलानो-फलानोले खेलेको भनेर नाम जोडिएपछि फिल्मप्रति राम्रो दृष्टिकोण बन्छ भन्ने रणनीति पनि सोचिएको थियो होला । जे होस्, विजयजीको कथा एकदम राम्रो थियो । तर, त्यो कथा जब सरकारको सम्बन्धित निकायमा पुग्यो, त्यसमा धेरै कुरा थपघट गरिएछ ।

जुन दस्तावेज फर्केर आयो, त्यो चाहिँ सिनेमा बन्न पटक्कै योग्य थिएन । त्यसमा सहमत हुन सकिने ठाउँ नै थिएन ।

तर, मैले फिल्म बनाउने क्रममा कथा तोडमोड गरेर आएको भाग सुटिङ नै गरिनँ । मूल स्क्रिप्टमा आधारित हुँदै विजयजीले लेखेको मौलिकतासँग नजिक राख्ने जतिसक्दो प्रयत्न गरेँ ।

सिनेमा नबन्दै कथामा चलखेल त गरियो नै, सिनेमा तयार पारेर जिम्मा लगाइसकेपछि पनि धेरै जोडजाड भयो । उहाँहरुले पञ्चायतका फुटेजहरु रिलिजको समयमा थप्नुभयो । फिल्ममा पञ्चायतको कुनै चर्चै नभएको होइन, तर आलोचनात्मक धार समातिएको थियो ।

सन्तुलित बनाएको थिएँ

चलचित्रका रुपमा ‘पच्चीस वसन्त’ मा केही खराबी थिएन । सम्पूर्ण रुपमा सन्तुष्टि प्राप्त हुन नसके पनि सामाजिक चित्रणलाई सशक्त ढंगमा दर्शक समक्ष राख्न सक्ने क्षमता भएको चलचित्र चाहिँ त्यो बनेको थियो ।

त्यो सिनेमा हेर्दा आजको दिनमा पनि रोचक नै ठहरिएला भन्ने मलाई लाग्छ । किनभने त्यसको सामाजिक संस्कार, त्यो संस्कारसँग जोडिएको राजनीतिक व्यक्तित्वको यथार्थ, त्यसले चित्रण गरेको कुरा र आज चित्रण गरिएको कुरामा मूलभूत कुनै पनि भिन्नता छैन ।

त्यतिबेलाको मल्टिस्टार फिल्म हो त्यो । अधिकांश प्रतिभाहरु नेपालभित्रकै प्रयोग गरिएको थियो । त्यतिबेलाका सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । फिल्ममा नातिकाजी र शिवशंकर जस्ता नामी संगीतकार हुनुहुन्थ्यो ।

फिल्म सामाजिक थियो, राजनीतिक थिएन । त्यही सामाजिक चेतमा अहिले कयौं सिनेमाहरु बनिरहेका छन् । राजनीतिक पृष्ठभूमि, पञ्चायती व्यवस्थाको गुणगान गाउने सिनेमा त पहिला पनि बनेकै हो । खासमा नेपालमा सिनेमाको इतिहास नै त्यही उद्देश्यबाट सुरु भएको हो ।

गुणगान गाउने उद्देश्यले नै पञ्चायतको रजत जयन्तीबारे फिल्म बनाउन लगाइएको थियो । तर, फिल्म बनेर आउँदा उनीहरुलाई नै चित्त बुझेन ।

पञ्चायत पक्षधर आगो हुँदा

neer-shah-810

फिल्ममा राजाको कुरा गरिएकै थियो । तर, ‘सफ्ट मोनार्की’ (संवैधानिक राजतन्त्र)को कुरा गरिएको थियो । फिल्मले प्रजातान्त्रिक धारलाई ग्रहण गरेर हाम्रो समय अगाडि बढ्नुपर्छ भन्ने वकालत गरेको थियो । त्यो कुरा पञ्चायत पक्षधरलाई मन पर्ने त कुरै भएन ।

आखिर त्यो पञ्चायतको लागि बनाइएको फिल्म थियो भने त त्यो पक्षबाट त तीव्र समर्थन हुनुपर्ने थियो । तर, सबभन्दा ठूलो आलोचक नै पञ्चायत पक्षधरहरु निस्किए । किनभने उहाँहरुले चाहे जस्तो बनेन फिल्म । खासमा फिल्म चाहे जस्तो बन्दैन भन्ने कुरा त्यो बेलामै स्पष्ट पनि गरिसकिएको थियो ।

उहाँहरुले उत्तर कोरियाको ‘जय कि मिल सुङ’ भन्ने खालको सिनेमा बनाउन खोज्नुभएको रहेछ । त्यस्तो किसिमको सिनेमा बनाउने निपुणता हामीमा भएन । उहाँहरुको छनोट नै गलत भयो । कसैले फिल्म बनाउने जिम्मा दिँदा हामी ९० प्रतिशत उसको कुरा राखे पनि १० प्रतिशत त आफ्नो कुरा राख्छौं । तर, त्यो १० प्रतिशत नै समग्र हिस्साभन्दा गह्रुंगो हुन जान्छ । ‘पच्चीस वसन्त’मा त्यही भयो ।

फिल्म चित्तबुझ्दो नबनेको थाहा पाएर रिलिज हुन नदिने प्रपञ्च पनि भयो । त्यसैबाट स्पष्ट भइहाल्यो, ०३६ को जनमत संग्रहपछि सुधारिएको भनिएको पञ्चायत खासमा सुध्रिएको रहेनछ ।

सुधारिएको पञ्चायतमा ‘भूमिगत गिरोह’

०३६ सालको जनमतसंग्रहमा सुधारिएको भनिएको पञ्चायतले जितेको थियो । धेरैलाई पञ्चायत साँच्चिकै सुध्रियो होला भन्ने लागेको थियो । तर, पञ्चायत त झन् बिग्रिएको रहेछ ।

‘पच्चीस वसन्त’ ले जुन किसिमको आलोचना बेहोर्नुपर्‍यो, त्यसबाट त म त्यो कुरामा झन् विश्वस्त भएँ । पञ्चायत सुध्रिएको होइन, पहिला जस्तो थियो त्यो भन्दा पनि झन् बिग्रिएको रहेछ भन्ने लाग्यो । त्यसको उदाहरण हामी सबैको अगाडि छर्लंग छँदै छ । ०३६ सालको जनमतबाट जितेको व्यवस्था दस वर्ष पनि टिक्न सकेन ।

सुधारिएको पञ्चायतको नाममा जनमतसंग्रह जितिसकेपछि भूमिगत गिरोह एकाएक उदायो । त्यसको उद्देश्य थियो, पञ्चायतलाई सकेसम्म निरंकुश बनाउँदै लैजाने र राज्य संयन्त्रलाई आफ्नो हातमा लिने । पञ्चायती शासनमा निरंकुशताको सर्वाधिक प्रयोग भएको त्यही भूमिगत गिरोह मार्फत हो ।

त्यही गिरोह मार्फत पञ्चायत अत्यधिक निरंकुश भएपछि त्यसले आखिरमा पतन निम्त्यायो । निरंकुश कुरा कुनै पनि नाममा टिक्दैन । लम्बिन सक्छ, तर लम्बिनु भनेको टिक्नु होइन ।

पञ्चायतकालमा भूमिगत गिरोहका गतिविधिहरु सार्वजनिक हुँदै जाँदा राज्य उनीहरुको पकडमा थियो । त्यसले अन्ततः पञ्चायती व्यवस्थालाई नै खायो । त्यसैगरी दोस्रो चोटि भूमिगत गिरोह व्याप्त भयो, त्यसले त राजसंस्था पनि खायो । पञ्चायती व्यवस्था र राजसंस्थाको अन्त्य हुनुमा यदि कुनै तत्व सबैभन्दा ठूलो दोषी छ भने त्यो तिनीहरुले नै सञ्चालन गरेको त्यही भूमिगत गिरोह थियो ।

त्यसका लागि मेरो मन-मस्तिष्कमा इस्पात जस्तो बलियो रुपमा गढेका उदाहरण छन् । सबैले आफ्नो फाँटबाट अन्ुभव बटुल्ने हुन् । मैले पनि आफ्नो चलचित्र क्षेत्रको उदाहरणबाट लेखाजोखा निकालेको हुँ ।

‘पच्चीस बसन्त’ फिल्मले मेरो फिल्मी करिअरमा एउटा रिक्तता जस्तो पैदा गर्‍यो । त्यसलाई लगत्तै मैले नेपाल भाषाको फिल्म ‘राजमती’ मार्फत पूरा गरे । त्यसबेला मेरो लागि अर्को सार्थक प्रस्तुति लिएर सार्वजनिक हुनु अत्यावश्यक थियो । आफ्नो करिअरलाई अगाडि बढाउनु थियो ।

आफ्नो कामको सबभन्दा ठूलो आलोचक आफैं हुन सक्नुपर्छ । मेरो पनि अभिनय र निर्देशनको आलोचक म आफैं हो । आफूले बनाएका र अभिनय गरेका फिल्ममा पूर्ण सन्तुष्ट भएको कुन हो भनेर सोध्दा म भन्नै सक्दिनँ । बरु असन्तुष्ट हुने ठाउँ देख्छु ।

त्यस क्रममा पछुतो लाग्ने चाहिँ ‘पच्चीस वसन्त’ को निर्देशन हो ।

(कुराकानीमा अाधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment