Comments Add Comment

मोहन्याल सडक २२ वर्षमा पनि बनेन, ‘आधार इलाका’लाई माओवादीले बिर्सियो

mohanyal-road-photo-deepak

८ पुस, धनगढी । तराईको सुगम जिल्ला मानिने कैलालीको विकट पहाडी गाविस मोहन्याल अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन ।

सडक निर्माण थालिएको २२ वर्ष बित्दा पनि २१ किलोमिटर सडक निर्माण हुन नसक्दा मोहन्यालका जनता कष्टकर यात्रा गर्न बाध्य छन् ।

सरकारले सबै गाविसलाई सडक सञ्जालमा जोड्ने नीति ल्याएपनि बजेट नपठाउँदा मोहन्याल जोड्ने सडकको काम सुस्त भएको हो ।

पूर्वगाविस अध्यक्ष खड्कबहादुर बुढामगरले भने, ‘सुगम जिल्ला भनेर के खुशी हुनु, जुम्ला, हुम्ला, बाजुरामा सडक पुगिसक्यो, तर तराईको सुगम जिल्ला मानिने कैलालीको बिकट पहाडी गाविस मोहन्यालमा अहिलेसम्म सडकको रेखाले छुन सकेको छैन ।’

चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन दिएपनि सत्तामा पुगेपछि माओवादीले बेवास्था गरेको स्थानीयको गुनासो छ

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीबाट मोहन्याल ६० किलोमीटरको दूरीमा पर्दछ । सडक निर्माणको माग राखेर दुई दशकदेखि जिल्ला विकास समितिमा स्थानीय बासिन्दा धाइरहेका छन् । तर, अहिलेसम्म कसैले चासो नखिएको पूर्वगाविस अध्यक्ष बुढामगरको भनाइ छ ।

द्वन्द्वकालमा माओवादीको आधार ईलाका मानिने मोहन्यालका जनतालाई माओवादीले सत्तामा पुगेर बिर्सिएको छ । चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन दिएपनि सत्तामा पुगेपछि माओवादीले बेवास्था गरेको स्थानीयको गुनासो छ ।

स्थानिय पदम देउवाले सडक सञ्जालमा नजोडिदा मोहन्याल कैलालीका अन्य गाविसभन्दा निकै पछि परेको बताए । उनले खाद्यान्न ढुवानीमा समेत समस्या हुने कारणले महंगोमा खरिद गर्नु परेको बताउँदै सुत्केरी हुने महिलाहरुको समेत उपचार अभावमा अकालमै मृत्यु हुने गरेको गुनासो गरे ।

चुनावी समयमा राजनैतिक दलका उम्मेदवारहरुले स्थानीय मतदातासँग मोहन्याललाई सडक सञ्जालसँग जोड्ने आश्वासन दिँदै आएका छन् । त्यही आसमा भोट हाल्ने स्थानीय बासिन्दा चुनाव जितेर फेरि नफर्किने नेताहरुसँग आजित भएका छन् ।

पहिलो पटक मोहन्याल गाउँ विकास समिति पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पर्याप्त बजेटको अभावमा मोहन्याल जोड्ने सडक निर्माणमा ढिलाई भएकाले सम्बन्धित निकायलाई पर्याप्त बजेट निकासा गर्न आग्रह गर्ने बताए ।

प्रत्येक वर्ष २५ लाखका दरले बजेट छुट्याए मालिका नजिकैको करीव ८ सय मिटर चट्टान फुटाउन चार वर्ष लाग्ने अनुमान छ । पर्याप्त बजेट अभावमा सडक निर्माणको काम तीब्र गतिमा अघि बढ्न नसकेको स्थानीयको बुझाई छ ।

जिल्ला विकास समितिको आन्तरिक बजेटबाट मात्र सडक सञ्जालसँग मोहन्याललाई जोड्न सम्भव नभएकाले केन्द्रबाट पर्याप्त रकम निकासा हुनुपर्ने स्थानिय विकास अधिकारी केशव प्रसाद विमलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment