Comments Add Comment

भूकम्पले भत्काएका सात स्वास्थ्यचौकी पुनर्निर्माण

helth-post-gorakha९ पुस, गोरखा । भूकम्पले क्षति गरेको गोरखाका सात वटा स्वास्थ्यचौकी भवन पुनर्निर्माण भएको छ ।  ताक्लुङ र ताङलीचोक स्वास्थ्यचौकी भवनको पुनर्निर्माण सकिएसँगै जिल्लाभर सात वटा स्वास्थ्यचौकी भवनको पुननिर्माण सम्पन्न भएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका हेल्थ असिस्टेन्ट नानीबाबु दानीले बताए ।

शुभ अवसर ग्राम नेपालको आर्थिक सहयोगमा ताक्लुङ र ताङलीचोक स्वास्थ्यचौकी भवनको पुनर्निर्माण भएको हो । एउटा भवन निर्माणका लागि ४७ लाख ८१ हजार दुई सय ७१ रुपैयाँ लागत लागेकोे शुभ अवसर ग्राम नेपालका विमल भेटवालले जानकारी दिए ।

भवन पुनर्निर्माण भएसँगै स्वास्थ्य सेवा प्रबाह सहज हुने अपेक्षा गरिएको छ । ‘भूकम्पले भवन भत्किँदा पाल र टेन्टबाट सेवा दिइरहेका छौं’ ताङलीचोक स्वास्थ्यचौकीका प्रमुख नवराज अधिकारीले भने, ‘हावाहुरी आउदा पाल नै उडाएर झन् समस्या हुन्छ ।’
भवन पुनर्निर्माण भएसँगै प्रभावकारी सेवा प्रवाह गर्न सकिने उनको विश्वास छ । भवन पुनर्निर्माण भएसँगै सहजरुपमा सेवा पाउने भन्दै स्थानीयहरु खुशी भएका छन् ।

उनीहरुले सुरक्षित प्रसुतीसेवा गाउँमै उपलब्ध गराउन ताक्लुङ स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर संचालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसँग आग्रह गरेका छन् ।  जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख पराजुलीले अबको केही महिनामा बर्थिङ सेन्टर पनि संचालन हुने आश्वासन दिएका छन् ।

८६ वटा स्वास्थ्यचौकी रहेको गोरखामा ३८ वटामा मात्रै बर्थिङ सेन्टर संचालन भएको कार्यालयका नानीबाबु दानीले बताए । भवन र कर्मचारी अभावमा अन्य स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर संचालन गर्न नसकिएको दानीको भनाइ छ ।

८६ वटा स्वास्थ्यचौकी रहेको गोरखामा हालसम्म सात वटाको मात्र पुनर्निर्माण भएको छ । ११ वटा स्वास्थ्यचौकी निर्माण सम्पन्नको अन्तिम तयारीमा रहेको कार्यालयले जनाएको छ । पुनर्निर्माणमा ढिलाइहुँदा कतिपय स्वास्थ्यचौकीहरु पाल र टेन्टबाटै संचालन भइरहेका छन् । फुजेल, दर्वुङ, ताकुकोट, आरुपोखरी, धावा, थुमी र लापु  स्वास्थ्यचौकी पाल र टेन्टमा छन् ।

यसअघि विभिन्न एनजिओ आइएनजिओको सहयोगमा पाँच वटा स्वास्थ्यचौकी पुनर्निर्माण भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment