Comments Add Comment

चौका विवादः न बाबुले जित मनाए, न छोरीले हार स्वीकार्न सकिन्

pradip-pande-and-jyoti-pande-1

१३ पुस, इटहरी । सातौं राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार इटहरीमा महिला क्रिकेटको फाइनल खेल साविक उपविजेता पूर्वाञ्चल र साविक विजेता सशस्त्र प्रहरीको एपीएफबीच मात्रै थिएन । त्यस खेलमा बाबुछोरी बीचको प्रतिस्पर्धा थियो ।

पूर्वाञ्चलका प्रशिक्षक ५३ वर्षीय प्रदीप पाण्डेले बाउण्डिङ रोप नजिकै बसेर मैदानमा आफ्ना खेलाडीहरुलाई निर्देशन दिँदै गर्दा मैदानमै कमेन्ट्री गरिरहेका उद्घोषकले बेला-बेलामा भन्थे, ‘एपीएफकी ओपनिङ ब्याट्सवुमन ज्योति पाण्डे पूर्वाञ्चलका प्रशिक्षक प्रदीप पाण्डेकी छोरी हुन्, हेरौं आजको खेल बाबुले जित्ने हुन् कि छोरीले ?’

पूर्वाञ्चलले टस जितेर पहिले ब्याटिंग गर्दै १८.४ ओभरमा सबै विकेट गुमाएर ६४ रनको योगफल बनाएको थियो । कप्तान रुविना क्षेत्रीको अनुपस्थितिमा टोलीले ब्याटिङमा राम्रो गर्न नसकिरहेका बेला प्रशिक्षक पाण्डे भने क्रिजमा रहेका ब्याट्सउमनहरुलाई निर्देशन दिइरहेका थिए । म्याच रेफ्रीले उनलाई त्यो नगर्न चेतावनीसमेत दिनुपरेको थियो ।

पूर्वको क्रिकेट प्रशिक्षकका रुपमा ०५२ सालदेखि कार्यरत पाण्डेकी छोरी २४ बर्षीया ज्योति पाण्डेले उनै अन्तर्गत प्रशिक्षण गरेकी हुन् । खेल भइरहेका बेला कुराकानीमा प्रशिक्षक पाण्डेले भने, ‘उसले ७ बर्षदेखि क्रिकेट खेलिरहेकी छ ।’

ज्योति पूर्वाञ्चलकै खेलाडी हुन् । यसअघि पाँचौं राष्ट्रिय खेलकुदमा उनी पूर्वाञ्चलको टिममा थिइन् । छैटौं राष्ट्रिय खेलकुदमा भने उनले एपीएफको प्रतिनिधित्व गरिन् ।

pradip-pande-and-jyoti-pande-3
‘पाँच बर्षअघि छैटौं राष्ट्रियका लागि एपीएफले टिम बनाउँदै थियो । मलाई पनि खेल्न प्रस्ताव आयो र एपीएफबाट खेल्न थालेँ’ ज्योतिले भनिन् ।

खेलको दोस्रो इनिङमा एपीएफका लागि ओपनिंग ब्याटिङ गर्न ज्योति नै आइन् । उनले ब्याटिङ गर्दै गर्दा पूर्वाञ्चलका प्रशिक्षक प्रशिक्षक प्रदीप पाण्डेले प्वाइन्टमा फिल्डिङ गरिरहेका आफ्ना खेलाडीलाई बारम्बार सतर्क रहन भनिरहेका थिए ।

पाण्डेले खेलाडीलाई निर्देशन दिइरहेका थिए, ‘उसले हान्ने नै त्यहीँ हो, सतर्क भएर बस्नु बल त्यहीँ आउँछ ।’ नभन्दै हाइवे एण्डबाट बलिङ गरेकी पेस बलर सन्तोषी चौधरीको बल ब्याटिङ गर्दा बल प्वाइन्टमै क्याच भयो ।

‘एपीएफकी ज्योति पाण्डे ब्यक्तिगत ३ रनमा आउट, उनलाई आउट गराउनुमा पूर्वाञ्चलका प्रशिक्षक प्रदीप पाण्डेको हात रहेको आशंका’ मैदानमै कमेन्ट्री दिइरहेका उदघोषकले बोलिरहँदा प्रशिक्षक पाण्डे भने मुसुमुसु हाँसिरहेका थिए ।

ज्योति आउट भए पनि खेल जारी रहृयो । एपीएफको विकेट झरिरहे पनि रन बनाउने गति रोकिएको थिएन । प्रशिक्षक पाण्डे भने निक्कै चिन्तित मुद्रामा देखिन्थे । उनलाई आफ्नो बलरहरुमाथि विश्वास थियो तर एपीएफको पुच्छारका ब्याट्सम्यानहरु पनि उत्तिकै क्षमतावान रहेका कारण जित सुनिश्चत हुन्न भन्ने लागिरहेको थिएन ।

खेलको अन्तिम १२ बलमा एपीएफलाई जितका लागि १३ रनको आवश्यकता थियो । उसँग दुई विकेट अझै बाँकी थियो । १९ औं ओभरको चौथो बलमा पूर्वाञ्चलकी कप्तान कविता गौतमको बलमा एपीएफकी ऋतु कनौजियाले स्क्वायर लेगको दिशामा हानेको बलले बाउण्ड्री रोप छोयो कि छोएन भन्नेमा विवाद सुरु भयो र एपीएफलेे अम्पायरको निर्णय नमान्दै खेल स्थगित गर्‍यो ।

एपीएफलाई पटक-पटक खेलमा फर्कन आग्रह गर्दा पनि नमानेपछि निर्णायकले पूर्वाञ्चललाई स्वर्ण बिजेता घोषित गरे ।

पूर्वाञ्चलका खेलाडीहरु स्टाम्प उखेलेर आफ्नो चीर प्रतिद्वन्द्वीबिरुद्धको जितको उल्लास मनाइरहँदा प्रशिक्षक पाण्डे भने निन्याउरो अनुहार लिएर मैदान बाहिर बसिरहेका थिए ।

यसो हुँदै गर्दा दुवैतर्फका खेलाडी तथा समर्थकहरु गालीगलौजमा उत्रिएका थिए । दुवै टोली आ-आफ्नै अडानमा रहँदा भीड नियन्त्रणका लागि प्रहरीले सामान्य हस्तक्षेप गर्नुपरेको थियो । विवादले चरम रुप लिँदा उता प्रशिक्षक प्रदीप पाण्डे र उनकी छोरी ज्योति पाण्डे दुवै अवाक् देखिन्थे ।

pandey-father-daughter2

२० बर्षदेखि क्रिकेट प्रशिक्षकका रुपमा रहेका पाण्डेले अम्पायरले जे निर्णय गरे पनि मान्ने बताइरहँदा ज्योति भने एपिएफको प्लेयर बक्समा पुगेर भकानिइरहेकी थिइन् ।

‘बाउण्ड्रीमा क्याच मिस भएपछि त्यो बल चौका नै हुन्छ, हाम्रा समर्थकहरुले पनि चौका नै भएको दावी गरिरहेका थिए । जानाजान अनुचित निर्णय गरिएपछि हामी कसरी खेल्न सक्थ्यौं र ?’ खेलपछि ज्योतिले अनलाइनखबरलाई बताइन् ।

बाबुछोरीबीचको यो प्रतियोगितामा बाबुले पनि खुसीसाथ जितको उत्सव मनाउन पाएनन् भने छोरीले पनि नजिक आइसकेको जित हारमा परिणत भएको स्वीकार्न सकिनन् । आखिरमा जित पूर्वाञ्चलको भए पनि हार नेपाली क्रिकेटको हुन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment