Comments Add Comment

भारतमा आज प्रतिबन्धित भारु नोट साट्ने अन्तिम दिन, नेपालमा अझै अनिश्चित

Indian Currency 1000-500
१५ पुस, काठमाडौं । भारतमा सबै बैंकलाई आज बैंकिङ समय सकिने अवधिसम्म जम्मा भएका भारु ५ सय र १ हजारका नोटको विवरण पठाउन भारतीय केन्द्रिय बैंक रिर्जभ बैक अफ इण्डिया (आरबीआइ) ले सुचना जारी गरिसकेको छ । भोलीबाट भने यस्तो रकम सटहीको लागि नलिइने भएकोले यो सुचना जारी गरिएको हो । बैंकहरुले इमेलबाटै तोकिएको समयभित्र यो विवरण दिन आरबीआईको सुचनामार्फत् निर्देशन दिएको छ ।

तर, नेपालमा के हुने हो र कहिले हुने हो भन्नेमा राष्ट्र बैंकले अझै स्पष्ट उत्तर दिन सकेको छैन् । ‘यी नोट अवश्य साटिन्छ तर कहिलेसम्म भन्न सकिने अवस्था छैन्, हामीहरुले भारतको तर्फबाट कुनै जवाफ पाएका छैनौं,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण पौडेलले भने । भारतका लागी नेपाली राजदुत दिप कुमार उपाध्यायले यी नोट सटहीको लागि भारतले नेपाल र भुटानमा बिशेष व्यवस्था हुने बताएका भन्ने खबरहरु सञ्चार माध्यमहरुमा आएका छन् ।

तर नेपाल राष्ट्र बैंकलाई यसको जानकारी भने छैन् । ‘हामीलाई यसबारेमा कुनै पनि जानकारी छैन्,’ प्रवक्ता पौडलले यसप्रसंगमा सोधिएको प्रश्नको उत्तर दिदै भने । तर नेपालमा अन्य भारु नोट प्राप्त गर्न पनि वातावरण सहज भएको छैन् । थापाथलीस्थित मुद्रा बिभागमा दिनँहु सर्वसाधारणको लामो लाइन गरेको छ ।

कालो धन नियन्त्रणको लागि भन्दै नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदीले भारु ५ सय र १ हजारमा प्रतिबन्ध लगाएका थिए । नेपालको बैंकिङ प्रणालीमा ३ करोड ३६ लाख भारु बराबरका भारु ५ सय र १ हजार दरका नोट रहेको राष्ट्र बैंकले जानकारी दिएको थियो । तर त्यसलगत्तै व्यवसायीहरुले यस्तो नेट आफुहरुसँग १५/१६ अर्ब बराबर रहेको सार्वजनिक गर्दै त्यसको सटहीको व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन् । राष्ट्र बैंकले यस्तो नोट संकलन र कालोधन नभएको प्रमाणित गर्न बिशेष प्रणालीको निर्माण नै भइसकेको जानकारी दिएको छ ।

यो नोटबन्दीले भारतमै पनि यसअघि प्रक्षेपित वृद्धिदर ७.८ प्रतिशतबाट घटेर ६.५ प्रतिशत हुने पछिल्ला प्रक्षेपण सार्वजनिक भएका छन् । नेपाली अर्थतन्त्रमा पनि नोटबन्दीको असर देखिने प्रतिवेदनहरु सार्वजनिक भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment