Comments Add Comment

काठमाडौंमा दोब्बर बढ्यो वायु प्रदुषण, डाक्टर भन्छन्- ज्यानै जोखिममा पर्न सक्छ

प्रदुषणले फोक्सो र श्वासनलीमा असर पर्न सक्ने

air-pollusion-mearesurement

१७ पुस, काठमाडौं । करिब चार महिना पहिले काठमाडौंको रत्नपार्कमा एउटा मेसिन फिट गरियो । त्यस्तै अर्को मेसिन पाटनको पुल्चोक इन्जिनियरिङ कलेजको प्रांगणमा राखियो । धुलिखेलमा पनि त्यस्तै मेसिन जडान गरियो । यी तीनवटै मेसिनहरु वायु प्रदुषण मापन गर्नका लागि राखिएका हुन् ।

वायु प्रदुषण मापन यन्त्र राखेर काठमाडौं उपत्यकाको प्रदुषणको मात्रा मापन सुरु गरेको वातावरण विभागले इन्टरनेटद्वारा नै त्यसमा रेकर्ड भएका तथ्यांकलाई ‘रियल टाइम’का आधारमा सिधै हेर्न सकिने अटोमेटिक सिस्टमको व्यवस्थासमेत गर्दै आएको छ ।

र, त्यो तथ्यांकलाई विश्लेषण गर्दा उपत्यकाबासीले आफ्नो फोक्सो र श्वासप्रश्वास नलीलाई जोगाउन विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

प्रदुषण मापन गर्ने उक्त सिस्टमलाई आधार मान्ने हो भने गत बुधबार रत्नपार्क क्षेत्रमा वायु प्रदुषणको मात्रा अर्थात पीएम २.५ को मात्रा २५६.५ माइक्रोन प्रतिघनमिटरसम्म पुगेको देखिएको छ । यो मात्रा नेपाल सरकारले तय गरेको मापदण्ड भन्दा निकै उच्च हो ।

दोब्बर बढ्यो प्रदुषण

dhulo

यस वर्ष काठमाडौंको वायु प्रदुषणको स्तर झण्डै दोब्बरले बढेको अनुसन्धानकर्ता बताउँछन् । गत आर्थिक वर्ष औसतमा यो मात्रा ८६ माइक्रोन कायम भएको थियो ।

यस वर्षको काठमाडौंको वायु प्रदुषणको स्तर हेर्नकै लागि वातावरण विभागले काठमाडौंका दुई ठाउँ र काभ्रेको धुलिखेल गरी तीन ठाउँमा वायु प्रदुषण मापन यन्त्र राखेर वायु प्रदुषणको स्तर मापन कार्य सुरु गरेको हो । यद्यपि विभागले यस यन्त्रबाट रेकर्ड भएको नतिजालाई सुक्ष्म रुपमा अध्ययन विश्लेषण गरिनसकेको बताएको छ ।

‘मेसिन अटोमेटिक भएकाले हामीले प्रत्येक घण्टाको विवरण सिधै इन्टरनेटबाट आफ्नो कम्प्युटरमा हेर्न त सक्छौं,’ विभागका प्रवक्ता मोहनदेव जोशीले अनलाइनखबरसित भने, ‘तर त्यसैका आधारमा अहिलेको बढ्दो ट्रेण्ड हेर्न भने कठिन छ ।’

विभागले पनि त्यही ‘रियल टाइम’ अनुसार रेकर्ड भएको तथ्यांकलाई नै आधार मानेर हाल काठमाडौंको वायु प्रदुषणको अवस्थाबारे जानकारी दिइरहेको रहेको उनले बताए ।

यता विभागकै अर्का सहप्रवक्ता शंकरप्रसाद पौडेलले उक्त मेसिन केही समय अघि मात्र जडान गरिएकाले त्यसबाट प्राप्त नतिजाको विश्लेषण गर्न कठिन हुने बताए । उनले भने, ‘पहिले हामीसित मेसिन नभएकाले पहिलेको अवस्था के थियो भन्ने जानकारी हामीसित छैन । अहिले मेसिन भर्खर जडान भएकाले अहिलेको अवस्था के छ भनेर विश्लेषण गरिसकेको छैन ।’

मेसिनबाट आएको तथ्यांकलाई आधार मानेर विश्लेषणको काम भर्खरै सुरु गरेकाले त्यसबाट यकिन नतिजा आएपछि मात्र यसबारे केही बोल्न सकिने उनले बताए ।

डा. भुषण भन्छन्- ज्यानै जोखिममा पर्न सक्छ

वातावरणविद् डा. भुषण तुलाधरका अनुसार विगत १० वर्षदेखि काठमाडौंमा वायु प्रदुषणको मात्रा बढ्दो छ । तर सरकारको तर्फबाट यसलाई रोक्ने प्रयास अहिलेसम्म भएको छैन ।

उपत्यकामा मात्र बढ्दो सवारीका कारण वायु प्रदुषणको स्तरमा तीन गुणा वृद्धि भैरहेको तुलाधरको भनाइ छ । त्यसबाहेक जाडो, पुस, माघ र फागुनमा पनि वायु प्रदुषण तीन गुणाले बढ्ने उनले बताए ।

गएको एक हप्तामा मात्रै उपत्यकामा वायु प्रदुषणको स्तर ५ गुणाले बढेको छ । यो भनेको पछिल्ला वर्षहरुको तुलनामा दोब्बर नभए पनि ‘खतरा’को सूची चाँहि हो भन्ने तुलाधरको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष वायु प्रदुषणका कारण हुने विभिन्न रोगबाट १० हजार मानिसले ज्यान गुमाइरहेका छन् । त्यसमध्ये मुटु रोग, स्ट्रोक र श्वास प्रश्वास सम्बन्धी समस्या मुख्य रहेको उनी बताउँछन् ।

काठमाडौंको वायु प्रदुषण नाप्ने यन्त्र अभावमा हाल काठमाडौं उपत्यकामा वायु प्रदुषणको स्तर यकिन गर्न गार्‍हो भए पनि यसबाट केही मात्रामा प्रदुषण बढेको अवश्य देखिने उनले बताए । सँगै केही वर्षदेखि धुलो पनि बढेको र यसको मात्रा १० पीएमभन्दा बढी हुने भएकाले यसले समस्याहरु निम्त्याउने गरेको उनी बताउँछन् । तर, डिजेल गाडीमा हुने कार्सिनोजेनिक तत्वका कारण यसले ज्यानै जोखिममा पार्नेसम्मको असर निम्त्याउने उनको भनाइ छ ।

सामान्यतया डिजेलबाट निस्कने प्रदुषणमा पीएम २.५ भन्दा कमका धुलोका कणहरु हुने गरेको उनी बताउँछन् ।

धुलो धुँवाबाट जनजीवन कष्टकर

विज्ञहरुका अनुसार काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौं उपत्यकाको सडक विस्तार, बढ्दो सवारी संख्या तथा सवारी चाप, धुलो, धुवाँ लगायतका वायु प्रदुषणका कारण मानिसहरुको जीवन दिन प्रतिदिन कष्टकर बन्दै गएको विज्ञहरु बताउँछन् ।

उनीहरुका अनुसार वायु प्रदुषणमा पाइने हेभी मेटल्स, सिलिकन लगायतका हानीकारक तथा क्यान्सिरोजेनस तत्वका कारण मानिसहरुमा दम, खोकी, छातीको संक्रमण, क्यान्सर जस्ता दीर्घकालीन रोगको संक्रमण बढ्दै गएको छ ।

त्यस्तै, वायुमा मिश्रित ससाना धुलोका कण श्वासप्रश्वास नली हुँदै, फोक्सोमा पुगेर धुलोको एलर्जी, रुघाखोकीलगायत फोक्सोको संक्रमण गराउने छालाको रोग निम्तिाउने तथा आँखा चिलाउने समस्या देखिने गरेको छ ।

वीर अस्पतालमा मात्रै धुलो, धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी रोग लिएर आउने विरामीको संख्या दिनमा २५-३० जनासम्म पुग्ने अस्पतालका फिजिसियन डा. लोचन कार्की बताउँछन् ।

उनका अनुसार त्यसरी आउने विरामीमा पनि दम, कडा प्रकारको रुघाखोकी, फोक्सोको संक्रमणलगायतका समस्या भएका विरामीको संख्या अधिक हुने गरेको छ । यो संख्या पछिल्ला केही वर्षमा एकाएक वृद्धि हँुदै गएको उनको भनाइ छ ।

‘पछिल्लो समय प्रदुषणका कारण श्वासप्रश्वास सम्बन्धी रोगका विरामी यत्ति नै भनेर यकिन गर्न त गार्‍हो छ’, वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. लोचन कार्की भन्छन्, ‘यद्यपि, विगतका केही वर्षहरुको तुलनामा यस वर्ष श्वास प्रश्वाससम्बन्धी बिरामीको अनुपात बढ्नाले अहिले यस्ता बिरामीको संख्या ६०-७० प्रतिशतले वृद्धि भएको भन्न अवश्य सकिन्छ ।’

काठमाडौंको धुलाम्मे सडककै कारण पनि काठमाडौं उपत्यकाका मानिसमा दम लगायत श्वास प्रश्वास सम्बन्धी रोगका विरामीको संख्या बढेको उनको बुझाइ छ ।

बढ्दो वायु प्रदुषणकै कारण ५/६ वर्षयता काठमाडौं उपत्यकामा बसोबास गर्ने सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको अर्का चिकित्सक डा. दीर्घसिंह बम बताउँछन् । उनका अनुसार पहिले पहिले मौसमका कारण मात्र सर्वसाधारणलाई रुघाखोकी, ज्वरोलगायतका संक्रमण हुने गर्दथ्यो ।

काठमाडौंको सडक विस्तार तथा फोहोर व्यवस्थापनमा कमी आएसँगै मानिसमा दम, कडा प्रकारको रुघाखोकी, सास फेर्न गार्‍हो हुनेलगायतका समस्या देखिँदै आएको छ ।

यस्ता समस्या समयक्रमसँगै दिनहुँ बढ्दो छ । अहिले काठमाडौंका विभिन्न अस्पतालहरुमा आउने दैनिक विरामीहरुमध्ये १० देखि ३० प्रतिशत बिरामी श्वास प्रश्वासका मात्रै हुने गरेको चिकित्सकहरु बताउँछन् ।

यस्तो छ प्रदुषणको हालत

काठमाडौंमा पछिल्लो २४ घण्टामा वायु प्रदुषणको अवस्था निकै खराब रहेको एक तथ्यांकले देखाएको छ । उक्त तथ्यांक अनुसार काठमाडौंको रत्नपार्क आसपासका क्षेत्रमा पछिल्लो २४ घण्टामा वायु प्रदुषण -पी.एम २.५)को स्तर ९८ माइक्रोग्राम प्रतिघनमिटर रहेको पाइएको छ ।

त्यस्तै पुल्चोकमा पीएम २.५को मात्रा ९३ माइक्रोनप्रति घनमिटर जनाएको छ । यो मात्रा भनेको नेपाल सरकारले तोकेको मापदण्ड भन्दा दोब्बर हो ।

pollution
नेपाल सरकारको वातावरण संरक्षण नियमावली, ०५४ ले तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्डले ०६९ ले पीएम् २.५ को मापदण्ड ४० माइक्रोनप्रति घनमिटर कायम गरेको छ ।

काठमाडौंको दुबै स्थानमा पीएम २.५ को मात्रा तोकिएको मापदण्डभन्दा दोब्बर हुनु भनेको जोखिमपूर्ण हुनु हो । सामान्यतया पीएम् २.५ भनेको धेरै सूक्ष्म कण हो । जसको व्यास २.५ माइक्रोन भन्दा कम हुन्छ । यी कणहरु श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छ । भारत, पाकिस्तानहरुका देशहरुमा पीएम २.५ को मात्रा मापदण्डमा तोकेको छ ।

त्यस्तै, उक्त यन्त्रले रेकर्ड गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंको रत्नपार्कमा पीएम १० को मात्रा ११५ माइक्रोन प्रतिघनमिटर र पुल्चोकमा १०६ माइक्रोन प्रतिघनमिटर देखाएको छ । रत्नपार्कको हकमा यो मात्रा नेपालको मापदण्डले तोकेको मापदण्डकै हाराहारीमा छ भने पुल्चोकमा कम छ ।

पीएम १० भनेको १० माइक्रोनभन्दा कम व्यास भएका कणहरु हो । यी कणहरु श्वासप्रश्वासको तल्लो भागसम्म पुग्न सक्छ, जसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्छ ।

विभिन्न देशहरुमा पीएम १० को मात्रा फरक-फरक छ । नेपाल सरकारले पीएम १० को मापदण्ड १२० माइक्रोन प्रतिघनमिटर कायम गरेको छ ।

त्यस्तै, ‘रियल टाइम’मा आधारित उक्त यन्त्रले काठमाडौंको रत्नपार्कमा पछिल्लो २४ घण्टामा टीएसपीको मात्रा १३३ माइक्रोन प्रतिघनमिटर देखाएको छ । त्यस्तै, पुल्चोकमा १२६ माइक्रोन प्रतिघनमिटर देखाएको छ ।

जब कि नेपाल सरकारको वातावरण संरक्षण नियमावली, ०५४ तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड ०६९ ले वायु प्रदुषणमा टीएसपीको मापदण्ड २३० कायम गरेको छ ।

टीएसपी भनेको ‘टोटल सस्पेण्डेड पार्टिकल्स’ हो । धेरैजसो राष्ट्रहरुले यसको नियमन नगरी पीएम १० लाई मात्र नियमन गरेको छ । नेपालको हकमा यहाँका वायुमा ‘टीएसपी’को मात्रा धेरै भएकाले नेपाल सरकारले यसलाई राष्ट्रिय मापदण्डमा समेत समावेश गरेको छ ।

वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार वायुमा धुलोको कण पी.एम २.५ को मात्रा ४० माइक्रोमिलिलिटर भन्दा उच्च रहे त्यसलाई वायु प्रदुषण भएको मानिन्छ ।

सो तथ्यांकअनुसार पछिल्लो एक सातामा काठमाडौंको रत्नपार्कमा पीएम् २.५ का मात्रा बढेर उच्च विन्दुमा पुगेको देखिएको छ । ‘रियल टाइम’मा आधारित उक्त मापदण्डअनुसार गएको बुधवार विहान १० बजेर आठ मिनेट पीएम २.५ को मात्रा बढेर २५७.३९९ पुगेको देखिएको छ । यो मात्रा नेपाल सरकारले तय गरेको मापदण्ड भन्दा झण्डै पाँच गुणा बढी हो ।

सोही दिन बिहान २ बजेर ५ मिनेटमा यो मात्रा १४५.५ पुगेको थियो । त्यसअघि गत शनिबार यो मात्रा १९१.८९९ सम्म पुगेको देखिएको थियो ।

त्यस्तै, पाटनको पुल्चोकमा राखिएको अर्को यन्त्रले पुल्चोक क्षेत्रमा पी.एम २.५ को औसत मात्रा पछिल्लो एक सातामा २०२.३९९ सम्म पुगेको देखिएको छ ।

‘रियल टाइम’ अनुसार यस हप्ता आइतबार विहान २ बजेर ४२ मिनेटमा पीएम २.५ कोमात्र उच्च विन्दुमा पुगेको थियो । जसअनुसार त्यस दिन पुल्चोकमा पीएम् २.५ को मात्रा २०२.३९९ रहेको थियो । जुन आइतबार विहान ९ बजेर ३८ मिनेटमा साताकै न्युनतम विन्दु अर्थात २०.७०० मा सम्म पुगेको थियो ।

यो मात्रा सोमबार बेलुकी ५ बजेर ३५ मिनेटमा बढेर १८२.३०० माइक्रोन र शुक्रवार विहान १७६ माइक्रोन पुगेको रियल टाइम तथ्यांकले देखाएको छ ।

फिल्टर मेसिन बिग्रिए, यकिन तथ्यांक निकाल्न कठीन

त्यसो त नेपाल सरकार वातावरण मन्त्रालयले विभिन्न दाताहरुको सहयोगमा सन् २००३ देखि सन् २००७ सम्म काठमाडौं पुतलीसडक, महालक्ष्मी स्थान र भक्तपुरको जगातीमा वायु प्रदुषण मापनका लागि फिल्टर मेसिन जडान गरेको थियो । तर, उक्त मेसिन विगि्रएपछि केही वर्षसम्म अनुदान सहायताको भरमा विभागले काठमाडौं उपत्यकाको वायु प्रदुषण मापन गर्दै आएको छ ।

त्यतिमात्र हैन, आफूलाई आवश्यक परेका बेला कहिले हप्ता दिन त कहिले १५ दिनका लागि वायु प्रदुषण मापन गर्ने यन्त्र ठाउँ-ठाउँमा जडान गरेर पनि विभागले वायु प्रदुषणको अवस्थाबारे सर्वसाधारणलाई जानकारी गराउँदै आएको थियो । तथ्यांक नै नभएको र वायु प्रदुषणको अवस्थाबारे जानकारी नै नभएको अवस्थामा विभागले काठमाडौंको वायु प्रदुषण रोक्न कसरी काम गरिरहेको छ त ? भन्ने प्रश्नमा विभागका सहप्रवक्ता पौडलेले काठमाडौंको वायु प्रदुषणका लागि सम्बन्धित निकायहरुले नै ध्यान दिनुपर्ने बताए ।

उनले काठमाडौंको सडक विस्तारको सन्दर्भमा सडक निर्माणकर्ताहरुले सम्झौतामा के कसरी सडक बनाउने भनेका छन्, त्यसैका आधारमा सडक विभागले जिम्मेवारी लिनुपर्ने तर्क अघि सारे ।

त्यसोभए काठमाडौं उपत्यकाको वायु प्रदुषण गर्न विभागको कुनै भूमिका हुँदैन त ? सहप्रवक्ता पौडेलले अनलाइनखबरसित भने, ‘यसमा भूमिका नै हुँदैन भन्ने हैन । यति हो कि आवश्यकता हेरेर अनुगमनसम्म गर्न सकिन्छ ।’

कसरी बढ्यो काठमाडौंमा एकाएक प्रदुषण ?

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. खेमबहादुर कार्कीका अनुसार काठमाडौंमा बढेको सवारीको चाप, सवारी संख्या तथा सडक विस्तारका कारण पनि वर्षेनी वायु प्रदुषणको स्तर बढ्दो छ ।

वर्षैपिच्छे बढ्दै गएको वायु प्रदुषण रोकथामका लागि नेपाल सरकारले उचित कार्यक्रम ल्याउन नसक्दा यसलाई नियन्त्रण गर्न कठिन भएको डा. कार्की बताउँछन् ।

भन्छन्, ‘हामीले काठमाडौंको प्रदुुषणको स्तर त हेर्‍यौं । तर त्यसलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन सकेनौं । जसले गर्दा उपत्यकामा प्रदुषण कम हुनुको साटो बढ्ने क्रममा छ ।’ उनले काठमाडौंको प्रदुषण अझै नरोके यसले भयावह अवस्था सिर्जना हुने बताए ।

त्यसो त परिषदले करिब एक महिना पहिले मात्रै काठमाडौंको वायु प्रदुषणलाई लिएर एउटा अनुसन्धान नै सार्वजनिक गरेको थियो ।

आर्थिक वर्ष ०७१/७२ मा पुतलीसडक, पाटनको महालक्ष्मीस्थान तथा भक्तपुरको जगातीमा गरिएको अनुसन्धानमा काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर (पीएम २.५) ८६ माइक्रोन प्रतिघनमिटर रहेको जनाएको थियो । यो स्तर ०७२/७३ को तुलनामा झण्डै आधा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment