Comments Add Comment

सरकारले संशोधन विधेयक भोलि संसदमा टेबुल गर्छः पम्फा भुसाल

pampha-bhusal

१७ पुस, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले भोलिको संसद बैठकमा संविधान संशोधन विद्येयक टेबुल गर्ने बताएकी छन् ।

प्रवक्ता भुसालले संशोधन विद्येयकमा सरकार सकेसम्म सहमति गरेर नै अघि बढ्ने तयारीमा रहेको समेत स्पष्ट पारिन् । आइतबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी ८ दललाई सहमतिमा ल्याएर अघि बढ्ने तयारीमा रहेको जानकारी दिइन् ।

त्यस्तै उनले सहमतीका लागि आइतबार दिनभर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने, सहमती नभए प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको तयारी रहेको प्रष्ट पारिन् । भुसालका अनुसार सरकारले भोलि(सोमबार) बस्ने व्यवस्थापिका संसदमा जसरी पनि विधेयक अगाडि बढाउने तयारी गरिरहेको छ ।

उनले भनिन्, ‘प्रधानमन्त्री अहिले पनि मिलेर अगाडि बढ्ने अन्तिम प्रयत्नमा हुनुहुन्छ, त्यसैको लागि अहिले उहाँ आन्तरिक छलफलमा हुनुहुन्छ।’

नेतृ भुसालले आफ्नो पार्टी प्रतिपक्षी दल र आन्दोलनकारी पक्ष दुवैलाई चिढ्याउने पक्षमा नभएको जिकिर गर्दै भनिन्, ‘हिजो हामीले मिलेर संविधान जारी गरेकाले कार्यान्वयन पनि मिलेर गर्नुपर्छ भन्ने हाम्रो चाहना हो, त्यसो नभए प्रक्रियामै सहमति गरेर भएपनि अघि बढ्ने प्रधानमन्त्रीको चाहना छ ।’

उनले मधेशी मोर्चाले भनेजस्तो संशोधन विद्येयक फेरि फिर्ता लिएर परिमार्जन नहुने स्पष्ट पारिन् । भुसालले थपिन्, ‘प्रस्ताव संसदमा दर्ता भैसकेको छ, अब यो फिर्ता गरेर परिमार्जन हुँदैन, यद्धपी प्रक्रियामा गएपछि यसको बारेमा छलफल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment