Comments Add Comment

उत्तरी गोरखामा भारी हिमपात, भूकम्पपीडितको बेहाल

himpat-samagaun-gorkha
हिउ परेपछि उत्तरी गोरखाको सामागाउँ

१७ पुस, गोरखा । हिउँदे बर्षासँगै उत्तरी गोरखामा भारी हिमपात भएको छ । चिसो बढेपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।

गोरखाको सामागाँउ, ल्हो, बारपाक, लाप्राक, केरौंजा लगायतका उत्तरी गाविसमा भारी हिमपात भएको छ ।

आइतवार बिहानबाट हिमपात शुरु भएको सामागाँउका स्थानीय शिक्षक वीरबहादुर लामाले बताए । ‘बिहानदेखि लगातार हिउँ परिरहेको छ,’ लामाले भने ‘हिउँ परेर जाडो पनि बढ्यो ।’ सामागाँउमा करिव साढे दुई फिट हिउँ जमेको उनले बताए ।

हिमपात शुरु भएसँगै घर वाहिर निस्कन मुस्किल भएको छ । ‘चिसो बढ्यो, घरवाहिर निस्कनै समस्या छ’, चुम्चेतका सेराप गुरुङले भने ।

जाडो बढेपछि त्यस क्षेत्रका बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । हिमपात भएसँगै चरन क्षेत्रमा छाडिएका चौरी, याक लगायतका पशुचौपायाहरु घर ल्याउन थालिएको छ ।

हिमपातले चिसो बढेसँगै उत्तरी गोरखाका भूकम्प पीडितहरु थप प्रताडित बनेका छन् । अस्थायी टहरामा बस्दै आएका पीडितहरुलाई जाडोले सताउन थालेको छ ।

निजी आवास निर्माणका लागी पहिलो किस्ता अनुदान पाएपनि अधिकांश भूकम्प पीडितहरु अस्थायी टहरामा छन् । हिमपात र बषर्ातका कारण चिसो बढेपछि अस्थायी टहरामा रहेका भूकम्प पीडितहरुलाई थप समस्या भएको छ ।

‘ओत लाग्ने ठाउँ गतिलो छैन,’ स्वाराकी भूकम्प पीडित सलिना गुरुङले भनिन् ‘टहरा भित्रै पानी पस्छ अव कसरी बस्ने ?’

हिमपात भएसँगै उत्तरी क्षेत्रमा गएका पर्यटकहरुलाई आवतजावतमा समस्या भएको छ ।

त्यस्तै आज गोरखा सदरमुकाम लगायत अन्य ग्रामिण क्षेत्रमा बर्षा भएको छ । बर्षा भएपछि दैनिक कामकाज समेत प्रभावित भएको बारापाकका यम गुरुङले बताए ।

तस्वीर सौजन्यः मिङमार लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment