Comments Add Comment

केयूको उपकुलपति छान्न नसकेको सरकारलाई प्राध्यापकले दिए तीन विकल्प

janardan-lamichhane-kanahaiya-jha-and-bhupendra-bimal-chhetri
प्रा. डा. जनार्दन लामिछाने, प्रा. डा. कन्हैया झा र प्रा. डा. भूपेन्द्र विमल क्षेत्री (बायाँबाट क्रमश:)

१९ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालय उपकुलपति विहीन भएको झण्डै एक महिना पुग्यो तर सरकारले नयाँ नियुक्त गर्न सकिरहेको छैन । शिक्षामन्त्री धनिराम पौडेल संयोजकत्वको छनोट समितिले समेत सरकारलाई उपकुलपति सिफारिस गर्न नसकेपछि रजिष्ट्रार डा. भोला थापालाई कार्यवाहकको जिम्मेवारी दिइएको छ ।

यसबीचमा उपकुलपति छनोट गर्न नसकेको समितिलाई प्राध्यापकहरुले नै तीन जनाको नाम सिफारिस गरेका छन् । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले प्रा. डा. जनार्दन लामिछाने, प्रा. डा. भूपेन्द्र विमल क्षेत्री र प्रा. डा. कन्हैया झाको नाम सिफारिस गर्दै तीन जनामध्येबाट एक जनालाई उपकुलपति बनाउन माग गरेको छ ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका महासचिव डा. विकास अधिकारीले अनलाइनखबरसँग भने, ‘सरकारलाई सजिलो होस् भनेर नै हामीले विकल्पहरु दिएका हौं । हामीले सिफारिस गरेका तीनै जना सक्षम हुनुहुन्छ, उहाँहरुमध्येबाट जसलाई उपकुलपति बनाए पनि हुन्छ ।’

सबैभन्दा बरिष्ठ लामिछाने

यी तीन जनामध्ये सबैभन्दा बरिष्ठ लामिछाने हुन् । काठमाडौं विश्वविद्यालय स्थापना भएको २५ वर्ष भयो, लामिछाने २४ वर्षदेखि त्यहाँ सेवारत छन् । यसैगरी झा २३ वर्षदेखि र क्षेत्री १८ वर्षदेखि काठमाडौं विश्वविद्यालयमा सेवारत छन् । क्षेत्री काठमाडौं विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङको डिन हुन् भने झा म्याथम्याटिक्सको प्रोफेसर हुन् ।

लामिछाने बायो टेक्नोलोजी बिभागको बिभागीय प्रमुख हुन् । उनी नाष्टको प्राज्ञसमेत हुन् । एसियाली राष्ट्रको विकासका लागि भन्दै चीनले ल्याएको ‘वान बेल्ट वान रोड’ रणनीतिमा चीनले विज्ञको रुपमा लामिछानेलाई पनि राखेको छ । यस रणनीतिमा विज्ञको रुपमा चीनले छनोट गरेको उनी एकमात्र नेपाली हुन् ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले सन् २०१३ मा सार्वजनिक गरेको ‘वान बेल्ट वान रोड’ रणनीतिभित्र ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘२१ औं शताब्दिको सामुद्रिक सिल्क रोड’ गरी दुई अवधारणा छन् ।

उपकुलपति नियुक्तिमा सरकारको अलमल

सरकारले समयमै उपकुलपति नियुक्त गर्न नसक्दा काठमाडौं विश्वविद्यालयको प्राज्ञिक र प्रशासनिक कामकारबाही ठप्प भएको छ ।

सरकारले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा गत मंसिर १३ गते उपकुलपति सिफारिस गर्न छनोट समिति गठन गरेको थियो । समितिमा प्रा. सुरेशराज शर्मा र दमननाथ ढुंगाना सदस्य छन् । तर, व्यक्ति छनोट गर्न नसकेपछि गत मंसिर २६ गते तत्कालीन उपकुलपति डा. रामकण्ठ माकाजु श्रेष्ठको पदावधि समाप्त भयो र नयाँ नियुक्ति पनि नहुँदा विश्वविद्यालय उपकुलपति विहीन भयो ।

डा. शर्मा र ढुंगाना माकाजुलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए । सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पौडेल त्यसमा सकारात्मक नभएपछि नियुक्ति हुन सकेन ।

सिफारिस समितिले दिने सम्भावित व्यक्तिहरु मध्येबाट प्रधानमन्त्री एवम् कुलपतिबाट उपकुलपति छनोट गरी नियुक्त गर्ने प्रचलन छ ।

ढुंगाना र शर्माले माकाजुको नाममात्रै सिफारिस गर्न शिक्षामन्त्री पौडेललाई दबाव दिएको स्रोतले बतायो । तर, आफ्नो चार वर्षे कार्यकालमा निकै बिबादित बनेकाले माकाजुप्रति विश्वविद्यालयका प्राध्यापकहरु सकारात्मक छैनन् ।

‘माकाजु राम्रो सर्जन हुन् तर प्राध्यापक होइनन् । उनको कुनै रिसर्च पनि छैन,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘विवादित व्यक्तिलाई किन काखी च्यापियो अचम्म लागेको छ । माकाजु अख्तियार दुरुपयोगमा पनि मुछिएकाले अरु कुनै योग्य व्यक्ति छान्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment