Comments Add Comment

विपक्षी सदन खुलाउन सकारात्मकः संसद बैठक २४ गतेसम्मलाई स्थगित

राप्रपाको चारबुँदे नयाँ प्रस्तावः एमाले र मोर्चासहित राष्ट्रिय सरकार गठन गरौं

Parliament-Building of Nepal

१९ पुस, काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै संसदको अवरोध अन्त्य हुने संकेत देखिएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठक स्थगित गरी पुस २४ गते राख्न संसदको कार्य व्यवस्था परामर्श समितिले सभामुख ओनसरी घर्तीलाई सुझाव दिएपछि सूचना टाँसेर बैठक स्थगन भएको छ ।

परामर्श समिति बैठकमा सभामुखले कानुनमन्त्री अजयशंकर नायकले बोल्न खोज्दा उनलाई रोकेर दलका नेताहरुलाई पर्याप्त छलफल गर्न २४ गतेसम्मको समय दिने निर्णय सुनाएको स्रोतले जनाएको छ ।

बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको आदेशको सार एमालेको निर्णय बमोजिम नै आएको दाबी गर्दै शीर्ष तहमा छलफल गर्नका लागि २४ गतेसम्मको समय दिनु उपयुक्त हुने बताएका थिए ।

नेम्वाङको प्रस्तावमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि सहमति जनाएको राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरलाई बताए । दलहरु सहमतिको दिशामा अघि बढेको मंगलवारको बैठकले संकेत गरेको उनले बताए ।

यसैबीच सत्तापक्ष र विपक्ष दुवैले आ-आफ्नो अनुकुल माहौल बनाउने समय पाएका छन् । संसदको अवरोध भने अब कुनै न कुनै रुपमा हट्ने संकेत मिलेको बैठकका एक सहभागीले बताए ।

राप्रपाको प्रस्तावः राष्ट्रिय सरकार गठन गरौं

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा तेस्रो सत्तारुढ घटक राप्रपाले भने एमाले र मधेसी मोर्चा सहितको राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव अघि सारेको छ ।

बैठकमा प्रचेतक दिलनाथ गिरीले सीमांकन लगायतका विवाद मिलाउन उच्चस्तरीय शक्ति सम्पन्न कार्यदल गठन गरी त्यसलाई एक महिनाको समय दिनुपर्ने प्रस्ताव राखे ।

उनले यसबीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने र प्रतिपक्षले सदन खुलाउने सँगै हुनुपर्ने र त्यसपछि राष्ट्रिय सहमतिको सरकार गठनतर्फ अघि बढेमात्रै मुलुक निर्वाचनतर्फ जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment