Comments Add Comment

प्रधानमन्त्रीलाई दबाव दिन मधेसी मोर्चाका नेता बालुवाटार जाँदै

प्रचण्ड पछि हट्ने मोर्चाका नेताहरुलाई डर

upendra-yadav-and-mahantha-thakur-madhesi-morcha

२१ पुस, काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार दिउँसो ३ बजे भेटवार्ता हुने मोर्चाका नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतको फैसला पछि पनि नेकपा एमालेले सीमांकन हेरफेरको फिर्ता लिन सरकारलाई दबाव दिइरहेका बेला मोर्चाका नेताहरुले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् ।

मोर्चाको बुधबार बसेको बैठकले सीमांकनको प्रस्ताव फिर्ता लिन नहुने र यसलाई संसदबाट पारित गरिनुपर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई यही विषयमा दबाव दिनका लागि बालुवाटार जान लागिएको मोर्चाका नेताको भनाइ छ ।

मधेसी मोर्चाले संविधानको धारा २७४ नै खारेज गरेर भए पनि संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने मोर्चाको अडान छ ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अनलाइनखबरसँग भने- ‘हामी दिउँसो ३ बजे प्रधानमन्त्रीलाई भेट्दै छौं । सीमांकन हेरफेर गर्ने एमालेको प्रस्ताव हामीलाई मान्य छैन, संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिइनुहुँदैन ।’

प्रधानमन्त्री पछि हट्ने डर

मधेसी मोर्चालाई प्रधानमन्त्री प्रचण्ड एमालेको शर्त मानेर संविधान संशोधन प्रस्तावबाट पछि हट्ने हुन् कि भन्ने मधेसी मोर्चालाई डर छ । यही कारण सुरुमा संशोधन प्रस्तावको आलोचना गरेको मोर्चाले अहिले यसलाई समर्थन जनाइरहेको छ । आफूले भनेबमोजिम नभए पनि संविधान संशोधन प्रस्तावमा भोटिङ गर्ने मोर्चाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment