Comments Add Comment

कान्ति बाल अस्पतालको ५२ शय्याको सघन उपचार कक्ष सञ्चालनमा

icu-kanti-hospital-4

२२ पुस, काठमाडौं । कान्ति बाल अस्पतालको ५२ शय्याको विस्तारित एकीकृत सघन उपचार कक्ष विधिवत रुपमा सञ्चालनमा आएको छ ।

कान्ति बाल अस्पतालको ५५ औ वार्षिकोत्सवको अवसरमा स्वास्थ्यमन्त्री गगन थापाले कक्षको उदघाटन गरेसँगै ५२ शय्याको सघन उपचार कक्ष सञ्चालनमा आएको हो । यस कक्षको पूर्ण सञ्चालन भने अर्को साताबाट हुनेछ ।

विस्तारित एकीकृत सघन उपचार कक्षको उदघाटन भएपनि यसमा औषधिको प्रयोग गरी स्वच्छ तथा संक्रमणरहित बनाउनु पर्ने भएकाले केही समय लाग्ने अस्पतालका कार्यकारी निर्देशक डा. अजित रायमाझीले बताए ।

उनले भने, ‘देशका विभिन्न अस्पतालहरुमा बाल रोग सम्बन्धी उच्चस्तरीय सेवा दिइरहेका बेला सघन उपचार कक्षको माग बढिरहेको छ । त्यो माग पूरा गर्न पनि कान्तिले विस्तारित एकीकृत सघन उपचार कक्ष सञ्चालनमा ल्याउन आवश्यक थियो ।’

एकीकृत सघन उपचार कक्ष सञ्चालनमा आएसँगै अब कान्ति बाल अस्पतालमा २५ शय्याको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), १५ शय्याको बालबालिका सघन उपचार कक्ष (पिआईसीयू), १० शय्याको सर्जिकल सघन उपचार कक्ष र २ शय्या संक्रमक विरामीको उपचारका लागि आइलेसन कक्षका सुविधा रहनेछन् ।

त्यसैगरी, उक्त कक्षमा ल्याबसहित फार्मेसी, स्टोर, क्यास काउण्टर र सोधपुछ कक्षको समेत व्यवस्था हुने अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर अजित रायमाझीले बताए ।

icu-kanti-hospital-3

यस अघिसम्म कान्तिमा १८ शय्याको सघन उपचार कक्ष सञ्चालनमा थियो । ५२ शय्याको आइसीयू कक्ष सञ्चालनमा आएसँगै नवजात शिशु तथा अन्य बालबालिका आइसीयू अभावमा अन्यत्र जानु नपर्ने अस्पतालको दावी छ ।

नेपाल सरकारको गत वर्षको स्वीकृत कार्यक्रमअनुसार जम्मा २० करोड रुपैयाँ लागतमा ०७२/७३ देखि निर्माण सुरु गरिएको उक्त आइसीयु कक्ष निर्माणको क्रममा रकम अभाव भएपछि अस्पतालले ५२ शैय्याको उक्त कक्ष निर्माणको लागि स्वास्थ्य मन्त्रालयसित करिब १३ करोड ५९ लाख रुपैयाँ बजेट माग गरेको थियो ।

अस्पतालले स्वास्थ्यमन्त्री गगन थापा मन्त्री बनेलगत्तै कान्ति बाल अस्पतालको निरीक्षणमा गएका बेला उक्त रकम निकासाको लागि गत कात्तिकको अन्तिम साता अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको थियो ।

जनशक्ति अभाव

अस्पतालमा कक्ष सञ्चालनमा आएपछि पर्याप्त जनशक्तिको भने अभाव देखिएको छ । विस्तारित एकीकृत सघन उपचार कक्षको सञ्चालनका लागि कान्ति बाल अस्पतालमा १५० जनशक्तिको आवश्यक छ । जसमध्ये हाल अस्पतालमा ७९ जनामात्र नर्स लगायतका कर्मचारीहरु रहेका छन् ।

‘बाँकी ८१ का लागि हामीले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसके पनि उचित जनशक्तिको अभावमा उक्त कक्ष सञ्चालन गर्न समस्या भइरहेको छ,’ निर्देशक रागमाझीले अनलाइनखबरसित भने, ‘यद्यपि चाहिएको जनशक्ति नहुँदासम्म हामी भएकै जनशक्तिबाट पनि स्तरीय सेवा दिन प्रतिवद्ध छौं ।’

विक्रम संवत् २०१९ सालमा ५० शय्याको जनरल अस्पतालबाट सञ्चालनमा आएको कान्ति बाल अस्पतालमा हाल ३२७ शय्या छ । र, यो देशकै ठूलो बाल अस्पतालको रुपमा सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment