Comments Add Comment

राष्ट्र बैंक भन्छ पुँजी अभाव हौवा, ‘मुर्ख तर्क’ गरेको बैंकर्सहरुको आरोप

money
२२ पुस, काठमाडौं । तरलता अभाव भयो भन्दै बैंकहरुले शुक्रवार मात्रै मुद्दती निक्षेपमा ११.१ प्रतिशतमा व्याजदर दिने सुचना सार्वजनिक गरे । यता, शुक्रवार नै राष्ट्र बैंकले जारी गरेको १४ दिने अवधिको रिपोको बोलकबोलमा २० अर्बको पुँजी लिन एक वाणिज्य बैंक र एक बिकास बैंक मात्रै गए । उनीहरुले माग गरे अनुसार १ अर्ब ९० करोड रुपैयाँ पुँजी ४.८७ प्रतिशत व्याजमा पाए ।

यति सस्तो व्याजमा पुँजी दिदा पनि बैंकहरुले किन लगेनन्, तरलता अभाव हौवा मात्रै हो भन्ने आरोप राष्ट्र बैंकले लगाएको छ । तर बैंकर्सहरुले पनि राष्ट्र बैंकले प्रणाली नै नबुझेको जस्तो व्यवहार गरेको तर्क गर्न थालेका छन् ।

‘रिपो उपकरणबाट पाइने पुँजी कर्जा लगानी गर्न पाइदैन भन्ने थाहा हुँदा हुँदै पनि वहाहरु कस्तो मुर्ख कुरा गर्नु हुन्छ,’ एक प्रमुख कार्यकारी अधिकृतले नाम उल्लेख नगर्न भन्दै राष्ट्र बैंक प्रति प्रश्न तेस्र्याए । राष्ट्र बैंकले जारी गरेको रिपो बैंकहरुले अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्न प्रयोग गर्न सक्छन् तर कर्जा लगानी गर्न सक्दैनन् । १४ दिनसम्मको लागि उपलब्ध पुँजीले दिर्घकालिन समसया समाधान नहुने पनि बैंकर्सहर बताउँछन् ।

राष्ट्र बैंकका केही अधिकारी सीआरआर कायम गर्न यस्तो पुँजी उठाएर त्यसबापत प्रयोग भइरहेको रकम कर्जा लगानी लगाउन सक्ने तर्क गरिरहेका छन् । तर, बैंकर्सहरुका अनुसार अहिले पनि यो अनुपात कायम गर्न नै भने बैंकहरुसँग पुँजीको कमि छैन् ।

‘हामीले कर्जा लगानीमा प्रयोग गर्न नपाउने २० प्रतिशत पुँजीबाट सीआरआर अनुपातलाई छुट्याएर, राष्ट्र बैंकको ट्रेजरी बिल्समा लगानी गरेर पनि अझै ५ प्रतिशत जति रकम बच्छ,’ ती बैंकर्सले भने । बैंकर्सहरुको प्रश्न छ कर्जा लगानी गर्न नपाइने यस्तो रकममध्ये ५ प्रतिशत बाँकी हुँदा हुँदै रिपो किन खरिद गर्ने बैंकहरुले चुक्ता पुँजी र निक्षेप जोडेर हुने पुँजीको ८० प्रतिशतबराबर रकम मात्रै कर्जा लगानी गर्न प्रयोग गर्न पाउँछन् । यसरी कायम गर्नुपर्ने अनुपात सीडीडी रेसियो भनिन्छ । २० प्रतिशत रकम भैपरी आउने समस्यासँग जुध्न सजिलो होस भन्ने आधारमा सीआरआर कायम गर्न र ट्रेजरी बिल्स जस्ता वित्तीय उपकरणमा लगानी गर्न पाइने व्यवस्था छ । सीआरआरको रुपमा वाणिज्य बैंकहरुले राष्ट्र बैंकमा कुल निक्षेपको ६ प्रतिशत बराबर रकम राखिराख्नु पर्ने हुन्छ ।

बैंकहरुसँग लगानी योग्य रकम ७३ अर्ब हाराहारी

राष्ट्र बैंक भने बैंकहरुसँग कर्जा लगानी गर्न पुँजी अभाव भएको मान्न तयार नै छैन् । ‘बैंकहरुसँग अहिले पनि ७३ अर्ब तरलता रहेको हाम्रो विश्लेषण छ, उनीहरुको चुक्ता पुँजी र निक्षेप जोडेर हेर्नुस् अनि त्यसको आधारमा कति कर्जा गएको छ हिसाब गर्नुभयो भने लगानी गर्न बाँकी रकम तपाईले नै देख्नु हुन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने । थापा चुक्ता पुँजी बढाउन नसकेका संस्थाहरुलाई भने केही समस्या आएको हुन सक्ने मान्छन् ।

थापाले भने जसरी हेर्दा वाणिज्य बैंकहरुसँग १ खर्ब रुपैयाँ कर्जा योग्य लगानी रकम बाँकी रहेको देखिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिकसम्मको बैंक तथा वित्तीय संस्थाको तथ्यांकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी १ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको देखाउँछ । यता पुस ८ गतेसम्म वाणिजय बैंकहरुमा १८ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसआधारमा बैंकहरुसँग कर्जा लगानी गर्न मिल्ने २० खर्ब ३९ अर्ब पुँजी रहेको छ । बैंकहरुले पुस ८ सम्ममा १५ खर्ब २८ अर्ब कर्जा लगानी गरेका छन् । अब चुक्ता पुँजी र निक्षेप जोडेपछि हुने पुँजीको तुलनामा कर्जा लगानी (सीसीडी रेसियो) ७४.९० प्रतिशत हुन आउँछ । बाँकी ५ प्रतिशत रकम १ खर्ब १ अर्ब बराबर हुन आउँछ । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा बढि कर्जा गएको भन्दै केही कडाई गर्न खोजेको पनि यसबाट देखिन्छ ।

यता, बैंकहरुले पुरै ८० प्रतिशत कर्जा लगानी गरिनसकेको भने घुमाउरो पाराले स्वीकार गरेका छन् । ‘हामीले ऋण सम्झौता गरिसकेकाहरुले अहिले सम्झौताको ६५/७० प्रतिशत रकम मात्र प्रयोग गरेका छन् , भोली उनीहरु बाँकी रकम पनि लिन आएमा के गर्ने ?,’ बैंकहरुको प्रतिप्रश्न छ । त्यस्तै, कतिपय संस्थागत निक्षेपकर्ताबाट लिएको पुँजी फिर्ता दिन पनि समस्या हुने भएकोले केही ‘कुसन’ राख्नै पर्ने उनीहरुको भनाई छ । अहिले बैंकहरुले ७८ देखि ७९ प्रतिशतसम्म कर्जा लगानी गरिसकेको दाबी उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment