Comments Add Comment

मलेसियाबाट फर्केका मुक्तिको बिलौनाः हातै चुँडिएपछि जिन्दगीको बोझ कसरी उठाऊँ !

mukti-kc-rupandehi

२६ पुस, काठमाडौं । सन् २०१५ को फेब्रुअरीमा मलेसिया पुग्दा रुपन्देही देवदहका मुक्ति केसीको मनमा अभावबाट अब मुक्ति पाइएला भन्ने सपना मात्र थियो । एउटा कामको लागि जाँदा अर्कै काम गर्नुपरे पनि उनी त्यही सपनाले डटिरहे ।

तर, दैवलाई उनको इच्छा मञ्जुर रहेनछ । वृद्ध बा-आमा, भाइहरु, श्रीमती र लालाबालाको हेरचाह गर्ने एक्लो ज्यानमाथि विपद् आइलाग्यो ।

मलेसियामा उनी केमिकल फ्याक्ट्रीमा काम गर्थे । गत सेप्टेम्बर १४ तारिखको कुरा हो, फ्याक्ट्रीमा काम गर्दै गर्दा उनी दुर्घटनामा परे । भुइँमा पोखिएको केमिकलमा चिप्लिएर लड्दा चलिरहेको मेसिनले उनको हात लछार्‍यो । उनको शरीर झन्डै ३० फिटमाथि हुत्तियो । त्यही अवस्थामा उनी २५ मिनेटभन्दा बढी समय अड्किरहे ।

त्यो दिनको घटना सम्झिन खोज्दा उनलाई अहिले नमीठो सपना जस्तै लाग्छ । त्यसबेला उनले आफू जीवित वा मृत छु भन्ने पनि छुट्याउन सकेनन् । ‘त्यतिबेलासम्म ज्युँदै छु भन्ने लागिरहेको थियो,’ उनले सम्झिए, ‘तर कसैले यो त मरेछ भनेको कताकता सुनेपछि म त साँच्चै मरिसकेछु भन्ने लाग्यो ।’

त्यो घटना यति छिटो भयो, सँगै काम गर्ने साथीहरुले समेत यसको पत्तो तत्काल पाएनन् । झन्डै आधा घण्टापछि साथीहरुले देखेर उनलाई तल झारे ।

जब आँखा खुले, उनी अस्पतालको आईसीयुमा थिए । अस्पताल ल्याएको चार दिन भइसकेको रहेछ । होश आएको त्यही दिन उनले थाहा पाए, उनको दायाँ हात नै थिएन । मेसिनले उनको हात चुँडाएछ ।

mukti-kc-rupandehi-2

हात गुमाएर पनि बाँच्नुलाई मुक्ति दोस्रो जीवन मान्छन् ।

उनलाई फ्याक्ट्रीमा लगातार चलिरहने मेसिन वरपर बसेर काम गर्न सजिलो थिएन । कुनै गल्ती भए मेसिनले ज्यान लिन्छ भन्नेमा सजग नै थिए । तर, त्यति सजग हुँदा पनि उनको केही जोर चलेन । लड्दा त्यही मेसिनले हात लग्यो ।

‘दैव लागेको दिन आफूले गल्ती नै गर्नुपर्ने रहेनछ,’ उनी आफ्नै भाग्यलाई दोष दिन्छन् ।

‘परिवार सम्झेर सम्हालिएँ’

होशमा आउँदा आफ्नो गरिखाने हात नै नभएको देख्दा उनलाई त्यो सत्य स्विकार्न कम्ता गाह्रो भएन । भक्कानो घाँटीमा गाँठो परेर औडाहा हुन्जेल दुख्यो । तर, परदेशमा उनले रुने बाटो देखेनन् । आफ्नो टीठलाग्दो अवस्था देखेर आत्तिएर मात्र बसे ।

‘रुनलाई पनि साथी चाहिने रहेछ, विरानो देशमा म रुन सकिनँ,’ उनी भन्छन्, ‘घर-परिवार सम्झेर सम्हालिनुपर्ने पनि थियो ।’

मुक्ति चार दिनअघि मलेसियाबाट काठमाडौं फर्किएका छन् ।

काठमाडौंमा भाइहरुको सहयोगमा उनी बिमा रकम दाबी गर्ने प्रक्रियामा लागेका छन् । उनी ब्यागमा रहेको कागजात मिलाउन खोज्छन्, बायाँ हातले मात्रै कागज पल्टाउन सकस हुँदा भक्कानिन्छन् ।

आफ्नो पीडा बिर्सन खोजे जस्तो गरे पनि बेलाबेलामा उनी टोलाउँछन् । विस्मातको नजरले आफ्ना चुँडिएका हाततर्फ हेर्छन् र आँखा भिजाउँछन् ।

मलेसियामा सधैं दुर्दशा

तेल फ्याक्ट्रीमा राम्रो काम पाइने भनेर मुक्ति मलेसिया गएका थिए । म्यानपावर कम्पनी क्षितिज इम्प्लोएमेन्ट सर्भिसले महिनाको ६० हजार हुने भन्दै उनलाई मलेसिया पठाएको थियो ।

mukti-kc-rupandehi-3त्यस क्रममा उनले म्यानपावरलाई दुई लाख रुपैयाँ बुझाएका थिए । तर, उनले तेल कम्पनीमा काम पाएनन् । उनलाई त कामदारको दलाल गर्ने कम्पनीमा पुर्‍याइयो । त्यसपछि बल्लतल्ल केमिकल फ्याक्ट्रीमा काम पाए, जुन जोखिमयुक्त थियो ।

महिनाको ६० हजार कमाइने प्रलोभनमा गएका उनलाई ३० हजार हात पार्न पनि गाह्रो थियो । विदेश जाँदा लिएको ऋण तिर्न बाँकी नै थियो । त्यसै क्रममा भयानक दुर्घटना भोग्नुर्‍यो ।

उनी यस अगाडि पनि रोजगारीका लागि मलेसिया गएका थिए ।

‘एक पटक मलेसिया गएर फर्किएको मैले दोस्रो पटक पनि म्यानपावरको प्रलोभनमा परेर मलेसिया नै रोजेँ’ उनी विगत सम्झन्छन्, ‘त्यसरी नफसाइएको भए आज म यो अवस्थामा फर्किनुपर्थेन ।’

पहिलो पटक जाँदा पनि मुक्तिले दुर्घटना भोगेर फर्किनुपरेको थियो । त्यसबेला भने उनको बायाँ हातको चोरी औंलाको टुप्पो मेसिनमा परेको थियो । यस पटक भने उनले दायाँ हात नै गुमाए ।

पहिलो पटक मलेसिया गएपछि उनी स्वदेशमै केही गर्छु भनेर फर्किएका पनि थिए । तर, मुक्तिलाई परिवारको आर्थिक अवस्थाले बसिरहने अवस्थै भएन । विदेश नगई नहुने भएपछि फेरि मलेसिया नै उडेका थिए ।

अब भने पसल/व्यवसाय गरेर दुई छाक टार्ने योजनामा छन् मुक्ति ।

उनीमाथि ठूलो पारिवारिक बोझ छ । आफ्ना सन्तान हुर्काउने सँगै बुढा बाबुआमा स्याहार्ने र भाइहरुलाई पढाउने जिम्मेवारी उनकै काँधमा छ । ‘बाँचेर त फर्किएको छु, भविष्य के हुन्छ, हेर्दै र गर्दै जाऊँ,’ उनी भन्छन् ।

‘सरकारले मलेसियामा कामदार नपठाओस्’

विदेशमा धोकामा पर्दै अपांग भएर फर्किएका मुक्ति युवाहरुलाई प्रलोभनमा परेर विदेश नजान सल्लाह दिन्छन् । जानै परे राम्रोसँग बुझेर विश्वासिलो म्यानपावर कम्पनीबाट राम्रो कम्पनीमा जान उनको सुझाव छ ।

मलेसियामा दुई पटक पुग्दा उनले त्यहाँ कुनै सम्भावना देखेनन् । यसैले सरकारले मलेसियामा नेपाली कामदार पठाउनै बन्द गर्नुपर्ने उनी बताउँछन्  ।

‘काम गर्ने कम्पनी र बाहिर कतै पनि त्यहाँ सुरक्षा छैन, तलब पनि कसैको गतिलो छैन’ उनी भन्छन्, ‘मलेसिया झुक्किएर पनि जाने देश होइन, सरकारले बेलैमा बुझेर पठाउनै बन्द गरिदिए हुन्छ ।’

सरकारलाई यति सुझाव दिए पनि सरकारले सुन्ला र बेरोजगार युवाको लागि देशमै केही व्यवस्था गर्ला भनेर उनलाई कत्ति पनि आश छैन ।

उनले थाहा पाएदेखि देशमा सधैं कुर्सीकै मात्र खेल भइरहेको छ, चाहे जुनसुकै व्यवस्था आएको होस् ।

‘हामी जस्ता युवाको यस्तो हालत छ, गर्नुपर्नेहरु नै जिम्मेवार नभएपछि कसलाई के भन्ने खै !’, उनी सुस्केरा हाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment