Comments Add Comment

आज २९५ औं पृथ्वीजयन्ती, सरकारले विदा नदिए पनि जनस्तरमा विविध कार्यक्रम

prithvi-narayan-shah२७ पुस, काठमाडौं । आज बुधबार २९५ औं पृथ्वी जयन्ती विविध कार्यक्रम गरी मनाइँंदै छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारीस्तरबाटै मनाइनुपर्ने र सार्वजनिक विदा दिइनुपर्ने आवाज उठिरहेका बेला जनस्तरबाट पृथ्वी जयन्ती मनाउन लागिएको हो ।

तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा योगदान पुर्‍याएका थिए ।

पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा भएका थिए । र ५३ वर्षको उमेरमा नै उनको निधन भयो । करिब तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत शाहले आफू राजा भएदेखि नै नेपाल एकीकरण अभियानको आरम्भ गरेका थिए ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले विक्रम सम्वत् १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेर नेपाल एकीकरणको अभियान सुरु गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुरहुँदै उनले एकीकरण अभियानलाई अघि बढाएका थिए । शाहले पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन ।

तत्कालीन बाइसे चौबीसे राज्यहरुलाई एकीकरण गरेर अहिलेको भन्दा झण्डै डेढ गुणा ठूलो नेपाल राष्ट्रको निर्माण गर्न पृथ्वीनारायण शाहले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ ।

जनस्तरबाट विभिन्न कार्यक्रम गरिँदै

नेपालमा गणतन्त्र आउनुपूर्व पुस २७ गतेलाई सरकारबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने चलन थियो । यसदिन सरकारले सार्वजनिक विदा दिने गरेको थियो । गणतन्त्र स्थापनासँगै देशमा राजतन्त्रको अन्त्य भएको र परिवर्तनलाई संस्थागत गर्ने भन्दै सार्वजनिक विदालाई हटाइएको हो ।
सरकारले कुनै औपचारिक कार्यक्रम नगरे पनि विभिन्न समूहले भने आज विभिन्न कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउँदै छन् ।

बुधबार बिहानै सिंहदरवारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माला लगाउने र दिउँसो राप्रपाले चियापान गर्ने कार्यक्रम छ । त्यसैगरी पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा पुर्‍याएको योगदान र सम्मानको विषयमा नागरिक समूहले नेपाल प्रज्ञा प्रतिष्ठानमा एक अन्तरक्रिया कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछ ।

यो पनि हेर्नुहोस्

साँझ परेपछि क्रिसमसको विदा दिने गृहमन्त्रालय पृथ्वी जयन्तीमा बोलेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment