११ जनवरी, पर्थ । नेपाल पर्यटन बोर्डका लागि पश्चिम अष्ट्रेलियाका प्रतिनिधि निलमणि थपलियाले आफ्नो सवारी साधन नेपालको पर्यटन प्रवर्द्धन हुने प्रचार सामाग्रीले रंग्याएका छन् । कसैले नेपालका पर्यटकीय क्षेत्रको प्रचार गर्न चाहन्छ भने आफूसँग सम्पर्क राख्न पनि उनले आग्रह गरेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै थपलियाले भने, ‘अष्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धनका लागि उपयोगी हुने लागेर यस्तो अभियान सुरु गरेको हुँ ।’
अष्ट्रेलियाका सडकमा गुड्ने उनको व्यवसायीक सवारी साधनमा ‘नेपालमा स्वागत छ’ लेखिएको छ । यसैगरी गाडीको अगाडि र पछाडिको भाग नेपालको पर्यटन प्रवर्द्धन हुने प्रचार सामाग्रीहरु ग्रेट हिमालय ट्रेल, र्याफ्टिङ, लुम्बिनी, सगरमाथा, सौराहालगायत स्थानका तस्वीरहरुले रंगिएका छन् ।
नेपालको पर्यटन प्रवर्द्धन गर्दै आफ्ना सवारी साधनहरुमा सन्देशहरु प्रकाशित गर्न सबैलाई आग्रह गर्दै उनले प्रचार सामाग्री चाहिएमा आफूसँग सम्पर्क राख्न आग्रह पनि गरेका छन् ।