Comments Add Comment

सर्वोच्चका न्यायाधीश पराजुली राति सुतेको बाहेक सबैथोक देखाउन तयार !

मिडियाले 'पेट पाल्न' आफ्नो विरोधमा लेखेको गुनासो

gopal-parajuli

२७ पुस, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश एवं हुनेवाला प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू पारदर्शी रहेको दाबी गरेका छन् । यो दाबीलार्इ प्रमाणित गर्ने क्रममा उनले राति सुतेको बाहेक अरु सबैथोक देखाउन तयार रहेको बताए ।

बुधबार नयाँ बानेश्वरको अल्फाबेटामा सर्वोच्च अदालतले आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा पराजुलीले भने- ‘तपाईहरुले चाहनुहन्छ भने सबैले मेरो गोजीमा एउटा-एउटा चिप्स राख्नुहोस्, म राति सुतेको बेलाबाहेक तपाईहरु यो चिप्स प्रयोग गर्नुहोस् ।’

उमेर विवादका कारण बेलाबखत मिडियामा समाचारको पात्रसमेत बन्ने गरेका न्यायाधीश पराजुलीले भने- ‘म अहिले पनि भन्छु, म खुल्ला छु । खुल्ला रहन चाहन्छु । खुलापन नै मेरो जीवनपद्दति हो । मेरो खुल्लापनबाट तपाईहरुले फाइदा उठाउनोस् ।’

उनले पत्रकारहरुलाई सभ्य भाषाको प्रयोग गर्न सुझाव दिए । तर, आफूप्रति मिडियाले गरेको नाकारात्मक टिप्पणीप्रति भने उनी अलि भावुक रुपमा प्रस्तुत भए ।
सभ्यताको कुरा गर्ने क्रममा एकाएक भावुक बनेका न्यायमूर्तिले अगाडि भने- मलाई कस्तो लाग्छ भने… अलिअलि भावुक पनि हुन्छु । लेखेवापत नै सजायँ भोगेको मान्छे भएको हुनाले सबै मिडियाहरु मेरा अत्यन्त पि्रय साथीहरु हुन् । अझ मलाई कस्तो भन्न मन लाग्छ भने कुनै मिडियाले मेरो बारेमा नकारात्मक कुरा लेखेर उहाँहरुको जागिरको वृत्ति विकास भइरहेको छ भने, त्यसबाट उहाँहरुको पेट पालन भएको छ भने त्यो पनि धेरै सरोकार हुँदैन ।’

मिडिया र अदालतका सम्बन्धमा प्रमुख अतिथिका रुपमा न्यायाधीश पराजुलीले दिएको प्रवचनको मुख्य अंश उनकै शब्दमाः

मिडिया र अदालत साँच्चै नै अब हामी न त जोगी हौं, न त भैंसी हौं जस्तो लाग्छ । हामी सबै मान्छे हौं । यहाँ कसैले कसैलाई जोगी र भोगीको रुपमा देख्नुपर्ने अब जरुरत छजस्तो लाग्दैन । हिजो थियो होला, यसलाई हामीले सुधार गरिसकेका छौं ।

विचार आफ्नो-आफ्नो हुन्छ । तर, त्यो वस्तुनिष्ठ र सत्य हुनुपर्छ । तथ्य एउटै हुन्छ, विश्लेषण फरक-फरक हुन सक्छन् । वस्तुनिष्ठताको आभास दुबैमा हुन जरुरी हुन्छ ।

अदालत प्रमाणको विवेचनाका आधारमा विवेकका आधारमा, कानून, न्याय र संविधानको सीमाभित्र रहेर उसले न्यायको सम्पादन गर्छ भने मिडियाको स्वतन्त्रता, जसरी अदालतको स्वतन्त्रता निरपेक्ष हुन सक्दैन, त्यसैगरी मिडिया पनि निरपेक्ष हुन सक्दैन ।

यदाकदा प्राकृतिक हकका कुराहरु हुन्छन्, प्राकृतिक न्यायका कुराहरु हुन्छन् । प्राकृतिक तवरबाट उसलाई आफ्नो अभिव्यक्ति राख्ने स्वतन्त्रता रहन्छ । र, उसले आफ्नो कानून र संविधानको पनि पालना गर्नुपर्ने हुन्छ ।

मलाई कस्तो लाग्छ भने अलिअलि भावुक पनि हुन्छु । लेखेवापत नै सजायँ भोगेको मान्छे भएको हुनाले सबै मिडियाहरु मेरा अत्यन्त पि्रय साथीहरु हुन् । अझ मलाई कस्तो भन्न मन लाग्छ भने कुनै मिडियाले मेरो बारेमा नकारात्मक कुरा लेखेर उहाँहरुको जागिरको वृत्ति विकास भइरहेको छ भने, त्यसबाट उहाँहरुको पेट पालन भएको छ भने त्यो पनि धेरै सरोकार हुँदैन ।

एकजना मित्रले भन्नुभो, न्यायाधीशहरुले धेरैजसो प्रशंसामात्रै सुन्न चाहन्छन् । वास्तवमा हाम्रो एउटा फिलोसपी पनि छ, ‘यस म्यान इज इनेमी’ । प्रस्तुतीका लागि, स्तुुतीका लागि राम्रो आफ्नो हकमा बोलिदियोस् भनिरहने, त्यस्तो सुन्ने इच्छामा जो लालायित हुन्छ, उसमाथि धमिरा लागिसकेको हुन्छ । धेरै ठूला ठूला बादशाहहरु तपाईले सुन्नुभएको होला । इतिहासका पानामा अत्यन्त बलवान शासकहरु पनि तपाईले सुन्नुभएको होला । राम्रा राम्रा कुरा सुन्दा सुन्दै उनीहरुलाई घुन लागेको पनि तपाईहरुले बुझ्नुभएको होला ।

म कुनै शासक पनि होइन, कसैमाथि शासन गर्न पनि चाहदिनँ । मैले पढेको छु बरु । मैले अध्ययन गरेको छु, राजा पहल्वी इरानका राजा थिए, त्यहाँ उनलाई मीठा कुराहरु मात्रै सुनाइन्थ्यो । राम्रा कुराहरु, जनताका कुराहरु सुनाउन सक्थेन । जनताको विद्रोह भयो, राजाले मचाहिँ अब जनताको नजिक जान्छु भन्दाखेरि जनता उसित तर्सियो । किनभने यो राजाले हिजो हामीलाई दबाएको हो ।

उनको बडो मार्मिक अटोग्राफी छ । उनले म सुधार्न चाहन्छु, म सुधार्न चाहन्छु भने । उनको सुधार अभियानलाई कसैले सुन्न चाहेन । त्यसको कारण के हो ? असल मिडिया, असल साथी । देखेको कुरा भन्न नसक्ने नागरिक । उनीहरुका पिछलग्गु, चाटुकारहरुका घेराभित्र बस्दाखेरि त्यस्तो हुन सक्छ ।

यो सत्यताको उदघोषण गर्ने मिडिया वृत्ति विकासकै लागि, वृत्तिकै लागि कसैलाई नकारात्मक लेखेर वृत्ति भएको छ, त्यो आफ्नो-आफ्नो कुरा हो । त्यहाँ हामीले धेरै छलफल गर्नुपर्ने कुरा छैन । आफ्नो आफ्नो जीवनशैली हुन्छ, आफ्नो-आफ्नो पन हुन्छ ।

मलाई एउटै कुरा के लाग्छ भने सर्वोच्च अदालतको फैसलाले पनि लिएको छ, कमसेकम ‘जनरल प्रुडेन्स’ सोच समझ हुनैपर्छ । आफूले गाली गरिरहेको कुरा आफूलाई त्यस्तै भाषामा अरुले गाली गर्दा कस्तो होला ? त्यहाँ समत्व भाव त हुनैपर्छ । कसैका प्रति कसैले गाली गरिरहँदा आफूलाई त्यही भाषाबाट अर्कोले गाली गर्दा के होला ?

म केन्द्रीय समन्वय समितिको अध्यक्ष हुँ । मैले समन्वय गर्नेबाहेक हुनै पनि भाषा बोल्न सक्दिनँ । मसित सदभावभन्दा अर्को कुरै छैन । म सहिष्णुतामा विश्वास गर्छु । र, म स्वतन्त्रतामा विश्वास गर्छु । त्यसकारणले मभित्र राग, द्वेष, घृणा, वैमनश्यता छैन । म हुन चाहन्न । मभित्र सदभाव, सहिष्णुता र समन्वयलाई कसरी उजागर गर्ने भन्नेमात्रै मेरो ध्येय रहेको छ ।

मलाई अभिव्यक्तिभित्रको छेडछाड, दुर्वाच्य, कसैप्रति लक्षित राग र द्वेषले भन्दा सभ्य र सुसंस्कृत भाषाले मान्छेलाई सभ्यतामा पुर्‍याउँछ जस्तो मलाई लाग्छ । राग र द्वेषभन्दा समन्वय र सदभावपूर्ण भाषा किन पनि उत्तम हो भने मानव जातिले सभ्यतालाई उजागर सभ्य भाषाले मात्रै गर्नुपर्छ । असभ्यताले, क्रुरताले, घृणाले द्वेषले समाजलाई परिस्किृत बनाएको होइन । समाजलाई सभ्य बनाएको होइन ।

मलाई एकजना पूर्वप्रधानन्यायाधीशले भनेको शब्द बहुत सम्झना आउँछ । हामीमाथि, न्यायाधीशमाथि निर्मम उत्खनन गर । ठीक कुरा हो । म त्यसमा जोड दिन चाहन्छु, सत्यमाथि उत्खनन गर । एउटा शब्द त्यहाँ छुटेजस्तो लाग्छ । मैले बेलाबेलामा भन्ने गरेको छु, न्यायाधीश भनेकै पारदर्शी हो । न्यायाधीश केही कर्तव्यवोध र उत्तरदायित्वपूर्ण रहेको हुन्छ । उसित कुनै अलङ छलङ गर्ने कुरा हुँदैन ।

यहाँ कुरा निस्किएको छ, न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्नुपर्छ, त्यो पनि राम्रै कुरा हो जस्तो लाग्छ मलाई । मलाई असाध्यै राम्रो कुरा के लागेको छ भने मिडियामैत्रीय हुनैपर्छ न्यायाधीश । आफ्नो क्षमता कति छ, त्यसको आधारमा हामीले त्यसको सीमाभित्र रहनुपर्छ । हामीले मिडियामैत्री भएन भनेरमात्रै होइन, बनाउने कसरी भनेर सुझाव दिनु महत्वपूर्ण कुरा हो जस्तो लाग्छ मलाई ।

भूकम्पपछि सर्वोच्च अदालतका प्रवक्ता पाँच तलामाथि बस्नुहुन्छ । तल्तिर बस्ने कोठा छैन । हाम्रो संवैधानिक मञ्चका साथीहरुलाई एउटा कोठा पाउनुभएको थियो, उहाँहरु चौरमा जानुभएको छ । हामीमाथि परेको यो दैवी दुर्घटना पनि हो । त्यसको संयोजन पनि यो समन्वय समितिले कमसेकम शब्दमा अर्काप्रति लक्षित नगरिकन, अर्काप्रति उसको आत्मालाई नदुखाइकन कसरी अभिव्यक्ति गर्ने भन्ने पनि हामीले कलाको विकास गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

यो कस्तो शिक्षा हो जस्तो मलाई लाग्छ भने सभ्यताको नजिक पुग्नका लागि कसरी सारवान तथ्यलाई मीठो तरिकाबाट जस्ताको त्यस्तै सत्यको उजागर गर्न सकिन्छ भनेर सरल ढंगबाट राख्ने प्रक्रिया पनि हो । अदालत भनेको आइभोरी टावरमा उभिएको जस्तो होइन, अदालत भनेको यो समाजभन्दा बाहिरको वस्तु होइन । र, मिडिया भनेको पनि समाजभन्दा बाहिरको वस्तु होइन ।

अदालत र मिडिया भनेको यस्तो अनन्य सम्बन्ध भएका निकायहरु हुन्, जसले अदालतले गरेका कानूनका व्याख्याहरु, संविधानको व्याख्याहरु, संविधान र कानूनप्रति उसको दायित्व, त्यसप्रतिको उसको लगाव, अथवा संविधान र कानूनप्रतिको उसको जवाफदेहितालाई जवाफदेही ढंगबाट त्यसको कार्यसम्पादन भएको छ कि छैन भनेर छर्लङ्ग पार्ने काम मिडियाले गरेको हुन्छ । त्यसैमा प्रजातन्त्रको सास रहेको हुन्छ । त्यसैमा लोकतन्त्र अडेको हुन्छ । त्यसैमा मानव जीवनले परिस्किृत र परिमार्जित भएर बस्न पाउने अवस्था रहन्छ ।

सत्यकै खोजी हो न्याय भनेको । त्यही सत्यको खोजीमा हामी अगाडि बढेका छौं । हामी सत्यताको लागि अघि बढ्ने, सत्यताकै खोजी गर्ने सत्यताकै कार्यकर्ता भएको हुनाले सत्यताको उत्खनन गरौं । सत्यतालाई जोगाउने कोसिस गरौं । सत्यतालाई बचाउने कोसिस गरौं । साँचो बोलौं । र, साँचो सत्यका लागि अघि बढौं । अभिव्यक्ति स्वतन्त्रता हामीले जन्मजात प्राप्त गरेको प्राकृतिक, नैसर्गिक अधिकार हो । यसको संरक्षण हामीबाट हुनुपर्छ ।

म अहिले पनि भन्छु, म खुला छु । खुला रहन चाहन्छु । खुलापन नै मेरो वास्तवमा जीवनपद्दति हो । म तपाईहरुले चाहनुहन्छ भने सबैले मेरो गोजीमा एउटा एउटा चिप्स राख्नुहोस् म राति सुतेको बेला बाहेक तपाईहरु यो चिप्स प्रयोग गर्नुहोस् । मेरो विरुद्धमा लेख्नोस् नलेख्नोस्, आफ्नो जागिर बचाउनलाई लेख्नोस् । मेरो खुल्लापनबाट तपाईहरुले फाइदा उठाउनोस् । यो खुल्लापन, यो खुला समाज, संकुचनले मान्छेलाई नास गर्छ, खुलापनले विकास गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment