Comments Add Comment

अस्पताल जानेमध्ये ८० प्रतिशत नसर्ने रोगका विरामी

नसर्ने रोगविरुद्धको अभियान आठ जिल्लामा बिस्तार

doctor on strick (4)२७ पुस, काठमाडौं । अस्पताल जानेहरुमध्ये ८० प्रतिशत नसर्ने रोगका विरामी रहेको एक अध्ययनले देखाएको छ । अस्पताल भर्ना नै हुनेहरुमा भने नसर्ने रोगका विरामी ९० प्रतिशतसम्म हुने गरेको स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको तथ्यांकले जनाएको छ ।

महाशाखाले बुधबार राजधानीमा आयोजना गरेको ‘पेन’ -प्याकेज अफ एसेन्सियल नन् कम्युनिकेवल डिजिज) नामक कार्यशाला गोष्ठीमा परिषदका सदस्य सचिव डा. खेमराज कार्कीले यो तथ्यांक पेश गरेका हुन् ।

तथ्यांक अनुसार नेपालमा नसर्ने रोगकै कारण वर्षेनी ६० प्रतिशत भन्दा बढी मानिसले ज्यान गुमाउनु परेकोे छ ।

नेपालका २२ प्रतिशत मानिस नसर्ने रोगबाट हुनसक्ने मृत्युको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को तथ्यांकमा उल्लेख छ ।

नसर्ने रोगविरुद्धको अभियान आठ जिल्लामा बिस्तार

नेपालमा सरुवा रोगको दाँजोमा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या उच्च रहेपछि स्वास्थ्य शाखाले नसर्ने रोगविरुद्धको अभियानलाई नेपालको आठ जिल्लामा विस्तार गर्ने उद्देश्यले आज विज्ञहरुसित छलफल आयोजना गरेको थियो । आठ जिल्ला अन्तर्गत पाल्पा, बागलुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर तथा रौतहट रहेका छन् ।

कार्यशाला गोष्ठीमा मुटु रोग विशेषज्ञ ओममुर्ती अनिल, मुटु शल्य चिकित्सक डा. भगवान कोइराला, इन्डोक्राइनोलोजिस्ट डा. ज्योती भट्टराई, स्वास्थ्य सेवा विभागका उपमहानिर्देक डा. बासुदेव पाण्डे, पुनर्जागरण महाशाखा प्रमुख डा. मोहम्मद दाउद लगायतको उपस्थिति थियो ।

मुटु रोग विशेषज्ञ ओम मुर्ती अनिलले संसारमा नसर्ने रोगका कारण मुटुमा हुने समस्या बढ्दै गएको बताए । उनले अहिले विश्वमा मुटुनली तथा रक्त रोग सम्बन्धी विरामीको संख्या ४८ प्रतिशत रहेको, क्यान्सरका विरामीको संख्या २१ प्रतिशत, फोक्सोका विरामीको संख्या १२ प्रतिशत तथा मधुमेहका विराीको संख्या ३ प्रतिशत रहेको जानकारी दिए ।

त्यसैगरी नेपालको हकमा बदलिँदो जीवनशैली तथा अस्वस्थ्य खानपानका कारण पनि मुटुरोग, फोक्सो सम्बन्धी दीर्घकालीन रोग, मधुमेह, क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्दै गएको जानकारी दिए ।

उनले भने, ‘नसर्ने रोगकै कारण अहिले नेपालमा ४० वर्ष मुनीका मानिसहरु मुटु रोगको उच्च जोखिममा छन् । त्यसको न्युनीकरणका लागि पनि अहिले विद्यालयस्तरबाटै बालबालिकाको खानामा विशेष ध्यान दिन जरुरी छ ।’

उनले अहिले नेपालमा युवा वर्ग सबैभन्दा निस्क्रिय रहेको बताउँदै उनीहरुमा फलफूल सेवनको मात्र कम तथा अस्वस्थकर खानाको मात्रा ७५ प्रतिशत बढी रहेको बताए ।

इन्डोक्रोइनोलोजिष्ट डा. ज्योती भट्टराईले नेपालमा नसर्न रोग न्युनीकरणका लागि ग्रामिण स्तरबाटै स्वास्थ्य परीक्षण तथा ल्याबको सुविधा हुन जरुरी रहेको बताइन् ।

शाखाका प्रमुख अच्यूत लामिछानेले कार्यशाला गोष्ठीमा आएका सुझावहरुलाई पेन प्रोजेक्ट सञ्चालन सम्बन्धी रणनीतिमा समावेश गर्ने बताए ।

विश्व स्वास्थ संगठनको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त पेन प्राजेक्ट अन्तर्गत कैलाली र इलाममा हाल सरकारले मुटु रोग तथा मधुमेहलाई मात्र समेट्दै आएको थियो । आठ जिल्लामा प्रोजेक्ट विस्तार भएसँगै ती जिल्लाहरुमा मुटुरोग, मधुमेह, क्यान्सर तथा फोक्सो रोग उपचारका लागि विशेष कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रम सञ्चालनका लागि एक करोड रुपैयाँ आवश्यक रहेको पुनर्जागरण महाशाखाले जनाएको छ । पुनर्जागरण महाशाखाका अनुसार हाल सरकारले इलाम र कैलालीका लागि ५०/५० लाख बजेट विनियोजन गरेको छ ।

जसमा विश्व स्वास्थ्य संगठनले ६० लाख सहयोग गरेको छ भने सरकारका तर्फबाट ५० लाख प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment