Comments Add Comment

अष्ट्रेलिया र नेपालवीच हवाई सम्झौताको तयारी

२ फेब्रुअरी, काठमाण्डौ । नेपाल र अष्ट्रेलियावीच हवाई सम्झौता गर्ने तयारी भइरहेको छ । नेपाल वायुसेवा निगमले अष्ट्रेलियामा उडान गर्ने तयारी गरिरहेका बेला पर्यटन मन्त्रालयले अष्ट्रेलियासँग सम्झौताको तयारी गरेको हो ।

पर्यटन मन्त्रालयले सातामा १४ वटा उडानका लागि हवाई सम्झौता गर्न अष्ट्रेलिया सरकारलाई पत्र लेखिसकेको छ । जसमा थर्ड पार्टी कोड सेयरिङ, फिफ्थ फि्रडम ट्राफिक राइट्स लगायतका बिषय सम्झौतामा प्रस्ताव गरिएको छ ।

‘हामीले पठाएको प्रस्तावमाथि अष्ट्रेलिया सरकारबाट जवाफ आइसकेको छैन’ मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने-‘जवाफ आएपछि सहमतिका लागि सम्बाद सुरु हुने छ ।’

अहिलेसम्म नेपाल र अष्ट्रेलियावीच सिधा हवाई सम्पर्क छैन् । मलेसिया, थाइल्याण्ड, चीन लगायतका मुलुक हुँदै अष्ट्रेलिया र नेपालवीच हवाई सम्बन्ध स्थापित हुँदै आएको छ ।

तर, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले ठूलो आकारका एयरबस किन्ने तयारी गरेसँगै अष्ट्रेलिया, जापान लगायतका मुलुकमा सिधा उडानको तयारी गरिरहेको छ । कुनै पनि देशमा नियमति हवाई उडानका लागि दुई देशवीच हवाई सम्झौता हुनु अनिवार्य हुन्छ ।

पछिल्लो दिनमा नेपाल र अष्ट्रेलियावीचको हवाई ट्राफिक उच्च रहँदै आएको छ । एयरबसले गरेको अध्ययनमा सन् २०१४ मा मात्रै नेपालबाट अष्ट्रेलियामा ४१ हजार यात्रु गएका थिए । नेपाली बिद्यार्थीको उच्च चाप र अष्ट्रेलियन पर्यटक मात्र हैन, अष्ट्रेलियामा बसोबास गरिरहेको नेपाली समुदायका कारण पनि सिधा हवाई यात्राका लागि पर्याप्त यात्रु हुने नेपाल एयरलाइन्सको बिश्वास छ ।

हवाई सम्झौतापछि नेपाल एयरलाइन्सलाई अष्ट्रेलियाका बिभिन्न शहरमा उड्नका लागि बाटो खुला हुने छ भने नेपालीहरुले आफ्नै देशको ध्वजाबाहकमार्फ्त सिधा नेपाल उडन पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment