Comments Add Comment

सीके राउत जनकपुरबाट पक्राउ, राज्य विप्लवको मुद्दा लगाउने तयारी

२० माघ, काठमाडौं । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो ।

सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए ।

माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेका थिए र, देश टुक्राउने अभिव्यक्ति दिएका थिए ।

यो घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ । र, उनलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्रोतका अनुसार राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी छ । यो मुद्दा चलाउन काठमाडौंस्थित विशेष अदालत ल्याउनुपर्छ ।

राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, धरौटीमा छुटेका थिए ।

आरोप प्रमाणित भए जन्म कैद

राज्य विरुद्धको अपराध र सजायँ ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजायँ हुन्छ । उनले राज्यद्रोह वा त्यसका लागि प्रोत्साहन गरेको प्रमाणित भए कम्तिमा दुईवर्षसम्म कैद सजायँ हुन्छ ।

राज्यविरुद्धको अपराध ऐनअनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment