Comments Add Comment

कुबेतमा लाएको पिरती एक बोतल एसिडले बनायो खरानी

शंकाले लंका जलायो, निर्दोष चेलीमाथि निर्मम प्रहार

२४ माघ, भैरहवा । धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट नपा-५ की २७ वर्षीया तुलसा सापकोटाको करिब तीन वर्ष पहिले कुवेतमा भेट भयो । त्यही भेटको परिणामस्वरुप आइतबार राति बुटवलमा तुलसामाथि सुनीलले एसिड प्रहार गरे । र, सोमबार उनको मृत्यु भयो । सुनिल ज्यानमुद्दामा पक्राउ परे ।

मध्यरातमा ‘प्रेमिका’माथि एसिड प्रहार, उपचारको क्रममा युवतीको मृत्यु

वैदेशिक रोजगारीका लागि कुवेत गएका उनीहरुको कामको सिलसिलामा भेटघाट भएको थियो । भेटघाट र चिनजान बिस्तारै प्रेममा परिवर्तन भयो । परदेशमा भेटिएका दुवै स्वदेशीले अन्तिम श्वाससम्म सँगै बाँच्ने र सँगै मृत्युवरण गर्ने कसम खाएका थिए ।

प्रेम सम्बन्धमा रहँदा रहँदै केही समयपछि उनीहरु अघोषित श्रीमान-श्रीमतीसरह बने । उनीहरुबीचको प्रेम सम्बन्ध शारीरिक सम्बन्धमा रुपान्तरित भयो । जीवनका सबै खुशीहरु आफ्नै पोल्टा परेको सम्झेर उनीहरु परदेशमा रमाउन थाले ।

शंकाले ‘लंका’ जलायो

गैंडाकोटकी सापकोटालाई आफ्नै श्रीमती मानेका धादिङका कोइराला परदेशमा कमाएको सम्पूर्ण रकम सापकोटालाई नै दिन्थे । कोइरालाले प्रहरीलाई दिएको बयानअनुसार आपसी सहमतिमै केही समयपछि तुलसा सम्पूर्ण रकम लिएर स्वदेश फर्किइन् ।

तुलसा स्वदेश फर्किएपछि उनीहरुबीच केही समयसम्म सम्बन्ध राम्रै रह्यो । तर, विस्तारै उनीहरुको सम्बन्धमा तुषारो लाग्न थाल्यो । कोइरालाले सापकोटामाथि अनेकन शंका गर्न थाले ।

आइतबार राति बुटवलमा तुलसामाथि एसिड प्रहार गरेपछि पक्राउ परेका सुनिलले प्रहरीको प्रारम्भिक वयानमा भनेका छन्- ‘विदेशमा मैले कमाएको लाखौं रुपैयाँ तुलसालाई दिएको थिएँ । तर, उनी नेपाल फर्किएपछि धोका दिइन् । मसँग टाढा-टाढा हुँदै जान थालिन् । अन्य केटासँग प्रेम सम्बन्धमा लागिन् । त्यसैले मैले एसिड प्रहार गर्ने योजना बनाएँ ।’

पाखुरामा टाटु खोपेका सुनीलले तुलसामाथि शंका लागेको भने पनि त्यसलाई पुष्टि गर्ने आधार देखिएको छैन । विचरी तुलसा उनले बुटवल जाने प्रस्ताव गर्दा जान तयार भएको र होटलमा सँगै खान र बस्न तयार हुनुले सुनिलको दाबीलाई खण्डन गर्छ ।

तुलसाले उनलाई धोका दिएको भए त्यसरी राति होटलमा सँगै बस्न जाने नै थिइनन् ।

काठमाडौंबाटै एसिड बोकेर बुटवलतिर

विदेशमा रहेका सुनिल केही समयअघि स्वदेश फर्किए । र, तुलसालाई हानी पुर्‍याउने आपराधिक एवं जंगली उद्देश्यले योजनावद्ध रुपमा काठमाडौंबाट बियरको बोतलमा एसिड लिएर बुटवल पुगे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेलबहादुर पाण्डे भन्छन्- सुनिल तुलसालाई हानी पुर्‍याउने उद्देश्यले काठमाडौंबाट धादिङ नौबिसे हुँदै बुटवल आएको देखिन्छ ।’

डीएसपी पाण्डे भन्छन्-‘कोइराला काठमाडौंबाट पहिला तुलसाको घर गए र तुलसालाई घुम्न जान प्रस्ताव गरे ।

तर, तुलसालाई पनि सुनिलमाथि केही शंका थियो । त्यसैले उनले एक्लै नजाने, गए पनि आफ्नी सानीमा देवी खरेललाई साथमा लैजाने प्रस्ताव गरिन् । एउटी अवला नारीले यस्तो सोच्नु स्वाभाविकै थियो ।

कोइराला पनि तुलसाको प्रस्तावमा सहमत भए । र, तीनैजना गैंडाकोटबाट बुटवलतिर लागे ।

बुटवल उपमहानगरपालिका-६ स्थित मेरीडियन होटलको कोठा नम्बर १०३ मा सुनिल र तुलसा बसे । कोठा नम्बर १०४ तुलसाकी सानीमा देवी खरेल बसिन् ।

मदिरा खुवाएर एसिड प्रहार

होटलको कोठा नम्बर १०३ मा दुवैजना बसेपछि उनीहरुले मदिरा सेवन गर्नुका साथै र शारीरिक सम्बन्धसमेत राखेको प्रहरीको भनाइ छ । मदिरा सेवनपछि तुलसा लठ्ठ भइन् । तर, सुनिलले तुलसाभन्दा कम मदिरा सेवन गरेका कारण उनी होसमै थिए ।

मध्यरातसम्म मदिरा सेवन गरेर तुलसा लठ्ठ भएपछि सुनिलले अब बियर खाउँ भन्दै आफ्नो झोलाबाट एसिडले भरिएको बियरको बोतल निकालेर तुल्सामाथि खनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पाण्डेले अनलाइनखबरलाई बताए ।

अनुहार र शरीरका विभिन्न भागमा परेको एसिडले तुलसा चिच्याउन थालेपछि सानीमा र होटलका कर्मचारीहरु उठेर आए । त्यसलगत्तै उनीहरुले सुनिललाई पक्राउ गरेर प्रहरीलाई खबर गरे । र, सुनिल पक्राउ परे ।

पक्राउ परेका सुनिलमाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र तुलसाकी सानीमा खरेललाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

एसिड हानेर भारत जाने योजना

होटलमा पुग्नासाथ सुनिलले होटल बिहान कति बजे खुल्छ भनेर सोधेका थिए । आफू राति नै बाहिर जानुपरेमा होटल खुल्छ कि खुल्दैन भनेर उनले होटलवालासँग चासो राखेका थिए ।

पक्राउ परेका सुनिलको साथबाट प्रहरीले ३ हजार भारतीय रुपैयाँ मात्रै फेला पारेको छ । होटलमा सुनिलको प्रश्न र उनीबाट फेला परेको भारतीय रुपैयाँलाई प्रहरीले जोड्दा घटना गराएर उनी भारततिर भाग्ने योजनामा रहेको डीएसपी पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment