Comments Add Comment

एमाले बैठकमा ओलीको प्रतिवेदनः पाकिस्तानलाई अलग गर्ने भारतीय प्रयास रोक्नुपर्छ

ट्रम्पबारे ओलीको चिन्ता, युरोप र अमेरिकाको प्रभाव घटेको विश्लेषण

५ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पाकिस्तानलाई घेराबन्दी गर्ने’ भारतीय नीतिको विरोध गरेका छन् । उनले सार्क, बिमस्टेकजस्ता संगठनलाई भारतीय स्वार्थ पूरा गर्ने साधन बनाउन खोजिएको भन्दै त्यसको विरोध गरेका छन् ।

बुधबारदेखि सुरु भएको एमालेको पोलिटब्यूरो बैठकमा केपी ओलीले पेश गरेको १० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भारतले पाकिस्तानलाई घेराबन्दी गर्न खोजेको विश्लेषण गरिएको छ । नेपालले भारतीय स्वार्थ पूरा हुन नदिने ओलीको दस्तावेजमा स्पष्ट संकेत गरिएको छ ।

ओलीद्वारा प्रस्तुत प्रतिवेदनको छैठौं पृष्ठमा भनिएको छ-‘भारतको रुची सार्कलाई प्रभावकारी बनाउनुको साटो विमस्टेक तथा बीबीआइएन जस्ता उपक्षेत्रीय संगठनहरुलाई प्रोत्साहन गर्नेमा देखिएको छ । यसभित्र पाकिस्तानलाई सबैतिरबाट अलग गर्ने भारतीय उदेश्य रहेको महसुस गर्न सकिन्छ ।’

एमाले अध्यक्ष ओलीले दस्ताबेजमा भनेका छन्-‘सार्क, बिमस्टेकजस्ता मञ्चहरुलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्ने दिशामा हरसम्भव प्रयाश गर्नुपर्छ

एमाले अध्यक्ष ओलीले दस्ताबेजमा अगाडि भनेका छन्-‘सार्क, बिमस्टेकजस्ता मञ्चहरुलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्ने दिशामा हरसम्भव प्रयाश गर्नुपर्छ ।’

पाकिस्तानलाई अलग-थलग पार्ने उद्देश्यमा भारतले अन्य छिमेकीहरुलाई पनि गोलबन्द गर्ने प्रयास गरिरहेको ओलीले दस्ताबेजमा उल्लेख गरेका छन् । उनले यसबारे नेपालले लिनुपर्ने नीति स्पष्ट पार्दै अगाडि भनेका छन्- ‘यस्तो पृष्ठभूमिमा नेपालले कुनै पनि शक्ति राष्ट्रहरुको स्वार्थको सहयोगी नबनी स्वतन्त्र विदेशनीति अवलम्बन गर्ने, सबै छिमेकी तथा मित्र राष्ट्रहरुसँग स्वतन्त्र र पारस्परिक समझदारीयुक्त सम्बन्धलाई अगाडि बढाउने प्रयाश गर्नुपर्छ ।’

आफ्नो नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकी देशहरुसँग सम्बन्ध राखेको ओलीले दस्तावेजमा लेखेका छन् ।

बैठकमा छलफलका लागि प्रस्तुत दस्ताबेजमा ओलीले दक्षिण एशियामा भारतले खेलिरहेको भूमिकाको कडा शब्दमा आलोचना गरेका छन् । सार्कलाई निश्क्रिय पारिनुमा भारतीय स्वार्थले काम गरेको उनको विश्लेषण छ । त्यसैगरी नेपालमा चिनियाँ प्रभाव बढेको भनेर भारतले कथा रचेको ओलीको प्रतिवेदनमा उल्लेख छ ।

पोलिटब्यूरो बैठकमा पेश गरिएको दस्तावेजमा भनिएको छ-‘नेपालमा चीनको प्रभाव बढेको अतिरञ्जित कथा रच्दै नेपाललाई पुन एउटै मुलुकको पराधीनता र पराश्रयमा सीमित गर्ने प्रयाश जारी छन् । हामी फेरि दोहोर्‍याउन चाहन्छौं- यस्तो सम्बनधबाट अर्को कुनै छिमेकी सशंकित हुनुपर्ने कारण छैन ।’

ट्रम्पको नीतिप्रति चिन्ता, युरोप र अमेरिकाको प्रभाव घटेको दाबी

एमाले अध्यक्ष ओलीले आफ्नो दस्तावेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका विषयमा पनि चर्चा गरेका छन् । ओलीले बैठकमा पेश गरेको दस्तावेजमा भनिएको छ-‘अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पको विजय र उनले शुरु गरेका आप्रवाशन विरोधी, इस्लामविरोधी अनुदार नीतिहरु, टीपीपी र नाफ्टाबाट अलग हुने निर्णय, अत्यधिक संरक्षणवादी आर्थिक नीतिहरुले विश्वव्यापीरुपमै चिन्ता र आशंकाका तरंगहरु पैदा गरेका छन् ।’

तर, ट्रम्पले अघि सारेका नीतिहरुले पार्ने विश्वव्यापी प्रभावबारे अहिल्यै पूर्वानुमान गर्न नसकिने ओलीले दस्तावेजमा विश्लेषण गरेका छन् । दस्तावेजमा लेखिएको छ-‘पूर्वानुमान गर्न नसकिने उनका नीतिहरुको विश्वव्यापी प्रभाव कस्तो पर्ने हो, अहिल्यै यकिन गर्नु सम्भव छैन ।’
ट्रम्पका नीतिबारे केपी ओलीको थप भनाइ छ-‘हामीले पनि नयाँ अमेरिकी नीतिहरुका कारण समग्र एसिया र विशेष गरेर दक्षिण एसिया तथा हाम्रो भूराजनीतिमा पार्न सक्ने प्रभावहरुलाई सुक्ष्म अध्ययन-अवलोकन गर्नु र तदनुरुपको नीति अवलम्वन गर्नु आवश्यक छ ।’

अहिले विश्वभरि नै ट्रम्पको नीति विरूद्ध प्रदर्शनहरू भइरहेको अाेलीले दस्तावेजमा उल्लेख गरेका छन् ।

त्यसैगरी  केही समय अघि बेलायतले युरोपेली युनियनबाट अलग हुने गरी गरेको निर्णयका असरहरु विभिन्न ठाउँमा पर्न थालेको एमाले अध्यक्ष ओलीको विश्लेषण छ । उनले दस्तावेजमा अन्तरराष्ट्रिय घटनाक्रममा विश्लेषण गर्दै यथार्थले विश्व व्यवस्थाको विकल्प अनिवार्य रहेको तथ्य औंल्याएको दाबी गरिएको छ ।

विश्व राजनीतिमा अमेरिका र युरोपको प्रभाव घट्दै गएको ओलीले दाबी गरेका छन् । एमाले अध्यक्षको राजनीतिक प्रतिवेदनमा यसबारे भनिएको छ- ‘विश्व राजनीतिमा अमेरिका र युरोपको प्रभाव कम हुँदै जाँदा यसको केन्द्रविन्दु एसियातिर सर्दै गएको छ ।’

बुधबार सुरू भएको एमाले पोलिटब्युराे बैठक विहीबार पनि जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment