Comments Add Comment

एल.बी. र ‘भीडमा हराएको मान्छे’

‘बलात्कृत हुँदाहुँदै पनि
कुनै अनमिनको प्रार्थना-शिविरमा गई
उजुरी गर्ने मनसाय राखेकी छैन
बलात्कृत भएको पीडा
कुनै छिमेकीको प्रतीक्षालयमा गई
बिन्ती गर्ने मनसाय राखेकी छैन
बरु एउटा पृथक् सोच पालेकी छु

कवितासंग्रह ‘भीडमा हराएको मान्छे’ भित्रको एउटा कविताको अंश हो यो । चितवनका कवि एल.बी. क्षेत्रीले ३७ वटा कविता संग्रहित गरी निकालेको यस पुस्तकमा मानिसका भित्री-बाहिरी द्वन्द्वलाई जादुमय तरिकाले उजागर गरिएको छ ।

कविलाई लाग्दो हो, जताततै भीड छ । अस्पतालमा बिरामीको भीड, मालपोत र नापीमा जाँदा उस्तै भीड, तीर्थस्थल जाँदा भक्तजनको भीड, गाडीमा यात्रुको भीड, विमानस्थल जाँदा विदेश जानेहरुको भीड । कवि जताततै भीड देख्छन् र त्यही भीडमा हराएको आफ्नो अस्तित्व खोज्छन् ।

आधुनिक समयमा आफ्नो अस्तित्व खोज्दाखोज्दै उनी यायावर हुन्छन् । शीर्ष कविता सायद कविले धेरै पहिले लेखेको हुनुपर्छ, यसमा कविले आफ्नै तुष पोखे जस्तो लाग्छ । उनी घर-अफिस-घर को रुटिनमा बाँधिएको दिनचर्या बाँच्ने क्रममा आफू जिन्दगीबाटै हराएको महसुस गर्छन् ।

हठी र कडा स्वभावले चिनिएका कविको कविता भने अत्यन्तै नौनी छ । उनी सिर्जनामा हिमाल झैं अग्लो हुन्छन् अनि पानी बनेर बग्छन् । कवि एल.बी.सँग निकट सम्बन्ध रहेकाहरुमध्ये चितवनका गजलकार धनराज गिरी उनको कडा स्वभावमा पनि पुस-माघको पारिलो घाम जस्तो न्यानो लाग्ने बताउँछन् । उनका कवितामा कतैकतै विद्रोही स्वभाव पनि भेटिने अमेरिका बस्ने कवि नीरा शर्मा बताउँछिन् ।

चितवनको कोलाहलभन्दा अलि पर क्यान्सर अस्पतालको मुख्यगेटबाट दायाँ लागेपछि करिब दश मिनेटमा आउँछ कविडाँडा । जहाँ चारैतिर हरियालीबाट घेरिएर बसेका छन् एल.बी क्षेत्री । क्षेत्रीले पछि कविडाँडा साहित्य समाज नै गठन गरेर साहित्यिक क्षेत्रमा हात हालेका हुन् ।

पछिल्लो समय साहित्यिक क्षेत्रमा निकै सक्रिय भएका क्षेत्रीले चितवनमा हुने हरेक साहित्यिक कार्यक्रममा आफूलाई उभ्याउँदै आएका छन् । चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको प्रमुखबाट अवकाश लिएपछि त उनको पूरा समय साहित्यमै बित्दै आएको छ । स्थानीय सक्रियतासँगै देश-विदेशको भ्रमण गर्दै आफूलाई नयाँ-नयाँ पाठकमाझ झन् व्यापक पार्दै आएका छन् ।

लेखकहरु हठी हुनुपर्छ भन्ने आदर्श बोकेका क्षेत्री हठी व्यक्ति हुन् । मोटो शरीर, घुम्रिएको कपाल उनको हुलिया हो । कविताका साथै लघुकथा समेत लेख्न रुचाउने क्षेत्रीका ‘त्रिशङ्कुको देशमा’ र ‘इन्द्रमायाको देशमा’ लघुकथासङ्ग्रह पनि प्रकाशित छन् ।

कविताबारे क्षेत्रीको मान्यता छ, ‘जसरी प्रकृतिले आफ्नो दायित्व नछाडेर नयाँ सिर्जनाको रुपमा उम्रिरहन्छ । प्रकृतिको त्यही नियम बुझेपछि कविता जन्मन्छ ।’

कला-साहित्यलाई आफ्नो बिर्ता ठान्ने केही ठेकेदारले उनलाई विगतमा कविता कहिल्यै कोर्नुभएन नि भनेर भन्न सक्छन् ।तर, उनी आफूले विगतमा पढाएका विद्यार्थीलाई आफ्ना सिर्जना ठान्छन् । कलिला विद्यार्थीका आँखामा आफ्ना सिर्जना देख्थे । शिक्षा क्षेत्रमा दुई दशक सेवा गरेर रिटायर्ड उमेरमा साहित्य कर्ममा जुटिरहेका उनी साहित्यको सेवा गर्न उमेरले नछेक्ने बताउँछन् ।

‘भीडमा हराएको मान्छे’ कविताकृति चरैवती प्रकाशन भरतपुरले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment