Comments Add Comment

नेपाल भाषाका सर्जक रामशेखर नकर्मीको निधन

१६ फागुन, काठमाडौं । नेपाल भाषाका साहित्यकार तथा रङ्गकर्मी रामशेखर नकर्मीको ८१ वर्षको उमेरमा निधन भएको छ ।

घाँटीको क्यान्सरबाट पीडित नकर्मी दुई सातादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा आज बिहान ६ बजे उनको निधन भएको हो ।

१९९२ साल जेठमा भक्तपुरमा जन्मिएका नकर्मी ६ दशकदेखि साहित्य सिर्जना र नाट्य कर्ममा सक्रिय थिए । उनले पञ्चायतकालमा प्रशासनको हस्तक्षेपका बीच नाट्य कर्म अघि बढाएका थिए । उनले लेखेर निर्देशन गरेका ख्याल, प्रहसन र नाटकको मञ्चन हुँदा प्रशासनले बारम्बार हस्तक्षेप गर्ने गरेको उनका समकालीनहरु सम्झन्छन् ।
नेपाल भाषाका ‘सिमा त फः फः स्व’, ‘धिन्ताल’, ‘नसंफागु चा’ लगायतका कृति प्रकाशन गरेका नकर्मीले नेपाल भाषाकै केही टेलिफिल्म लेखन तथा निर्देशन समेत गरेका थिए । उनले चर्चित हास्य कलाकार महजोडीले निर्देशन गरेको टेलिफिल्म ‘१२ बजे’ मा अभिनय समेत गरेका थिए ।
गत वर्ष भूकम्पका कारण घर भत्किएपछि भक्तपुरकै सिद्धि शालिग्राम वृद्धाश्रममा बस्न गएका नकर्मी पछि भाडाको कोठामा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment