Comments Add Comment

कविता: श्येनबाज र मुरलीचरा

अग्लो सिमलको रुख
बलियो र सुरक्षित सम्झेर
घार बनाउँछन् वनमौरीहरु
छिमेकमै रमाउँछन् श्येनबाज र मुरलीचराहरु
जानेर जीवनको संघर्ष ।

हरेक हिउँदको पारिलो घामको उदयपछि
जसरी भाग्छन् कुहिरोका भूतहरु यस धर्तीबाट
उसैगरी भाग्छु म र पुग्छु हतारिँदै त्यही सिमल बोट मुनि
क्यामेरा, बाइनाकुलर र चराकिताब सहित ।

जब हेर्न व्यस्त हुन्छु म
श्येनबाज र मौरीहरुको रस्साकस्सी
मौरीहरुको आत्मरक्षाको सीप
अनि श्येनबाजहरुको घारहरुमा सीपयुक्त झापडहरु
मुरलीचराहरुले हावामै गर्ने मौरीको शिकार
लाग्छ जीवन डर र त्रासहरुबीच कतै भेटिन्छ ।

अनायासै श्येनबाजहरु लखेट्दै उड्ने कागहरु
न त मह खान्छन् न मौरी नै
तैपनि खै किन हुन्छन् ती शत्रु एक-अर्काका ।

जब झर्छ एक गह्रुङ्गो महको चाका
फुत्किएर श्येनबाजको पञ्जाबाट
सुरु हुन्छ केटाकेटीको दौड
त्यही टुक्रामाथि
समाउँछ कोही बलियो
खान्छ कुनै कमजोर
जो कहिल्यै महको पछि भागेन
तर भगायो ।

देशको कुनै भूभागमा बसेर
जब हेर्छु म मेरै देशतिर
म देशभरि मौरीहरु देख्छु
लाग्छ यो मौरीहरुको देश हो
यसै देशभित्र कतै छिमेकबाट उडिआउँछन् श्येनबाजहरु
हिर्काउँछन् हाम्रै मन-मस्तिष्कमा झापड
विचारमा झापड
एकतामा झापड
राष्ट्रियतामा झापड
अनि डगमगाउन थाल्छ हाम्रो सार्वभौमसत्ताको चाका
चुँडिन्छन् सिमानातिर थोरै-थोरै
धौधौ हुन्छ जोड्न
जब जान्छन् हाम्रा कामदार मौरीहरु टाढा-टाढा
कि त बाटो भुल्छन् र हराउँछन् त्यतै कतै
कि बन्छन् मुरलीचराको शिकार
कि फर्कन्छन् लुटाएर आफ्नो अस्तित्व
बदलामा जीर्ण शरीर लिएर
रोग लिएर ।

जब झार्छन् श्येनबाजहरु हाम्रै घारका टुक्राहरु
सुरु हुन्छ फेरि देशभित्र एउटा दौड
जहाँ दौडन्छन् थुप्रै-थुप्रै
हात पार्छ कोही अर्कै जो कहिल्यै दौडिएन ।

सिमलको रुख जस्तै मेरो देश
वनमौरी जस्तै हामी
पटक-पटक श्येनबाजहरुको आक्रमणपछि पनि
एक ढिक्का भई जोगाएको महले भरिएको चाका
आज केही भाले मौरीहरु
श्येनबाजहरुसँग मितेरी लगाएर
ज्यामी मौरीहरुलाई उजाड बगैंचाको
अनि एक विशाल अदृष्य दलदलको भीसा दिएर
महको भोज खाँदै छन्
म कतै टाढाबाट दूरबीनले हेरिरहेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment