Comments Add Comment

हेम्जामा आलु महोत्सव शुरु

२३ फागुन, पोखरा । पोखरा उपमहानगरपालिका-२७ हेम्जामा आलु महोत्सव शुरु भएको छ ।

विष्णुपादुका क्लव हेम्जाको आयोजनामा विष्णुपादुका माविको खेल मैदान हेमजामा ‘सुन्दर गाउँ, हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं’ भन्ने नाराका साथ शुरु महोत्सवको सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले उदघाटन गरे ।

आगामी चैत १ गतेसम्म हुने महोत्सवको उद्घाटन अघि हेम्जा मिलनचोकबाट महोत्सव स्थल विष्णुपादुका माविको प्राङ्गणसम्म झाँकीसहितको र्‍याली निकालिएको थियो । र्‍यालीमा स्थानीय क्लव, आमा समूह, सामाजिक संघसंस्थाका सदस्य तथा सर्वसाधारण आलुसहित विभिन्न जातका तरकारीका माला लगाएर सहभागी भएका थिए ।

महोत्सवमा कुल १०४ वटा स्टल राखिएका छन् । जसमध्ये १२ वटा आलुका परिकारका स्टल, ६० वटा ब्यबसायिक स्टल, ३० वटा कृषि प्रविधि प्रदर्शनी, १ वटा प्राथमिक उपचार केन्द्र तथा १ वटा सूचना केन्द्रको स्टल रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।

महोत्सवको प्रमुख आकर्षणको रुपमा आलुको पहाड रहेको छ । जहाँ आलु किन्नेको भिड त लाग्छ नै, त्यो भन्दा पनि बढी फोटो खिच्नेको समेत ताँती लाग्छ ।

उदघाटनको दिन ३० टनको आलुको पहाड बनाइएको छ । उक्त आलुको पहाडबाटै आलु निकालेर बेच्ने गरिन्छ भने बेच्दा घटेको आलु थपेर अन्तिम दिनसम्मै आलुको पहाड कायम राखिने आयोजकले जनाएको छ ।

महोत्सवमा १५ भन्दा धेरै आलुका फरक/फरक परिकारहरु पनि आकर्षणका रुपमा रहेका छन् । आलुको मःम, आलुदम, आलु चिप्स, आलु चिल्ली, आलु ससेज, आलु रोस्ट, आलु रसबरी, आलु सुजी, आलु चुकौनी, आलु स्टीक, आलु पकौडा लगायतका आइटम बेच्नका लागि राखिएको कार्यक्रम संयोजक ज्ञानु थापाले जानकारी दिए ।

कृषि उत्पादन तथा विकासमा टेवा पुर्‍याउने उद्धेश्यले आयोजित महोत्सवमा करीब ३ करोडको कारोकार हुने आयोजकको अनुमान छ । महोत्सवमा आलुको मात्रै करीब २ करोडको कारोबार हुने अनुमान गरिएको प्रचारप्रसार सहसंयोजक प्रकाशचन्द्र सापकोटाले बताए ।

महोत्सवमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, वाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, हास्य कलाकारहरुको प्रस्तुति, जापनीज सुन्तलाको प्रदर्शनी, कृषी प्रदर्शनको अनुगमन, सेती नदी र्‍याफ्टीङको टिकट, जीप फ्लायरको टिकट, प्याराग्लाइडिङको टिकट, गुफा अवलोकन लगायत समावेश गरिएको कार्यक्रम संयोजक थापाले बताए ।

महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई ८० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तथा साँझ हुने कन्सर्टका समयमा २ सय रुपैयाँ टिकट दर कायम गरिएको कार्यक्रम संयोजक थापाले जानकारी दिए । टिकट लिनेलाई नेपाल टेलिकमले ५० रुपैयाँ ब्यालेन्ससहित सिमकार्ड प्रदान गर्ने उनले बताए ।

महोत्सवमा ३१ लाख खर्च लाग्ने अनुमान गरिएको र ३३ लाख ५ हजार संकलन गरेर २ लाख बचत गर्ने लक्ष्य राखिएको क्लवका अध्यक्ष रमेश कार्कीले बताए ।

आलुको मूल्य प्रतिकेजी ३२ रुपैयाँ

आलु महोत्सवमा आलुको मूल्य प्रतिकेजी ३२ रुपैयाँ कायम भएको छ । यो अघिल्लो वर्षको भन्दा २ रुपैयाँ महङ्गो हो । यद्यपी बजार मूल्य भन्दा ३ देखी ८ रुपैयाँ सस्तो हो ।

पोखराको बजारमा अहिले हेमजाको आलुको मूल्य कतै ३५ त कतै ४० रुपैयाँसम्म पर्छ । आलुको उत्पादन घटेका कारण अघिल्लो वर्षको भन्दा मूल्य केही बढाउनुपरेको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment