Comments Add Comment

‘सर्ट टर्म’ खेल्दै लगानीकर्ता, एक सातामा २० प्रतिशतसम्म नाफा लिँदै


२३ फागुन, काठमाडौं । अघिल्लो पटक नेप्से १२५२ विन्दुबाट बढेर १३६९ विन्दुमा बजार पुग्दा १९ प्रतिशतसम्म नाफा सुरक्षित गर्न भ्याएका लगानीकर्ता यसपटक पनि त्यही दाउमा देखिएका छन् ।

सोमबार कारोबार अवधिमा १३७१ सम्म नेप्से पुग्दा अधिकांश लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री बढाए । फलस्वरुप बजारले यो वृद्धि कायम गर्न सकेन र नेप्से १३५८ विन्दुमा आएर बजार बन्द भयो । आइतबारको तुलनामा भने नेप्से ४ अंक माथि नै छ ।

सर्ट टर्म लगानीकर्ताहरुले नेप्सेमा केही महिनायता देखिएको टेवा र परीक्षण बिन्दुको भरपुर सदुपयोग गरिरहेका छन् । लगानीकर्ताहरु मुख्यतः नेप्से १३ सय बिन्दु मुनि वा आसपास हुँदा लगानी गर्ने र १३ सय ७० बिन्दुको आसपासमा आइपुग्दा बेच्ने गरेर प्रतिफल लिइरहेका छन् । यो प्रक्रियालाई पछ्याएर लगानी गरिरहेकाहरुले एक साता नबित्दै करिब २० प्रतिशतसम्म नाफा कमाइरहेका छन् ।

नाफा लिएर कुन-कुन सेयर बेचे लगानीकर्ताले ?

फागुन १७ गते नेप्से १२९९ विन्दुमा हुँदा सेयर किनेकाहरुले आइतबार नै कतिपय कम्पनीमा १६ प्रतिशतसम्म नाफा लिएर सेयर बेचेका छन् । एनबी इन्स्योरेन्सको फागुन १७ गते ९०२ मा सेयर किनेकाहरुले आइतबार नै १०५० रुपैयाँ मूल्य पाए । यो वृद्धिबाट लगानीकर्ताले १६.४ प्रतिशत हात पारे । सोमबारसम्म पनि लगानीकर्ताले १२ प्रतिशत मुनाफा पाएका छन् ।

आइतबार लगानीकर्ताले नै गुराँस लाइफमा १० प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्समा १२.८५ प्रतिशत, नेको इन्स्योरेन्समा ११.१४ प्रतिशत, नेपाल इन्स्योरेन्समा १३.८० प्रतिशतसम्म मुनाफा लिइसकेका छन् ।

कहाँ टेवा, कहाँ प्रतिरोध ?

नेप्से १२७५ को आसपासमा टेवा पाएर बढ्ने र १३७५ आसपास पुगेर घट्ने प्रक्रियाले दोस्रो पटक पनि निरन्तरता पाएको देखिएको छ । सोमबारकै कारोबारमा नेप्से १३७० पुगेर घट्नु र त्यही बिन्दु आसपास मुनाफा सुरक्षित गर्न थाल्नुले यो चक्रलाई देखाएको छ । यी टेवा र प्रतिरोध विन्दु क्षणिक भए पनि दरिलो भने बन्दै गएका छन् ।

तर, यसो भन्दैमा सधैं यो चक्र कायम भइरहने वा दोहोरिरहने सम्भावना भने हुँदैन । त्यस्तै, यही चक्रमा पनि कतिपय कम्पनीको मूल्य उच्च घटेको छ । त्यतातर्फ ध्यान नदिई सबै सेयर बढ्छन् भन्ने आधारमा लगानी गर्दा भने जोखिम हुन्छ।

यो चक्रमा कुनै निश्चित कम्पनी नै बढ्छ वा घट्छ भन्ने पनि हुँदैन । सेयर मूल्यलाई प्रभाव पार्ने विभिन्न कारण भने हुन्छन् । नेपाल बंगलादेश बैंककै कुरा गर्ने हो भने बैंकको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएको खबरले सेयर मूल्य बढेको थियो ।

सोमबार बिमा र वित्त कम्पनी बाहेक अन्य सबै समूहको परिसूचक भने बढेको छ । यस दिन ७४ करोड रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment