Comments Add Comment

सप्तरी घटनामा एमाले शीर्ष नेतृत्वविरुद्ध मुद्दा हाल्ने निर्णय

२५ फागुन, सप्तरी । जिल्लाका कानुन व्यवसायीहरुले राजविराज घटनालाई लिएर एमाले शीर्ष नेताहरुविरुद्ध मुद्दा हाल्ने निर्णय गरेका छन् ।

एमालेको मेची महाकाली अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको थियो । घटनामा सप्तरी बार एशोसिएसनका कोषाध्यक्ष दिगम्बर यादव पनि घाइते भएका छन् । उनको पेटमा गोली लागेको छ र वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उच्च अदालत जनकपुरको इजलास राजविराज बार र सप्तरी जिल्ला वार इकाईको संयुक्त बैठकले एमाले नेतासहित तत्त्कालिन प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

उच्च अदालत जनकपुरको इजलास राजविराज बारका अध्यक्ष विजय यादवले एमाले नेताहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकबिरुद्ध बिहीबार मुद्दा दायर गरिने बताए । एमाले नेता, प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको सहभागितामा गोली काण्ड भएको जिकिर गर्दै उनीहरुबिरुद्ध अंगभंग र कर्तव्य ज्यान मुद्दा हाल्ने बैठकको निर्णय छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित अभियान अन्तर्गतत सप्तरी आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधव नेपाल र झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु सत्यनारायण मण्डल, सुमनराज प्याकुरेल, दिवाकर देबकोटाबिरुद्ध मुद्दा दर्ता गर्ने उनीहरुको तयारी छ ।

कानुन व्यवसायीहरुले एकल इजलासबाट सुनुवाई हुने रिट निवेदनको काम, बन्दी प्रत्यक्षीकरण र थुनछेकको आदेश तथा मुद्दाको अन्तिम हदम्यादका लिखत दर्ताबाहेकका काम स्थगित गर्ने निर्णय पनि गरेका छन् ।

बैठकले घटनाको छानबिनका लागि उच्च अदालत जनकपुरको इजलास राजविराज बार अध्यक्ष यादवको संयोजकत्वमा समिति गठन गरेको छ । समिति सहसंयोजकमा सप्तरी जिल्ला बार इकाईका अध्यक्ष रामप्रसाद चौधरी छन् भने डा. अशोकानन्द मिश्र, अधिबक्ताहरु श्यामनारायण साह लगायत सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment