Comments Add Comment

कविता: ‘नाकाबन्दी’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ

कुट्यो भन्नु हुन्न, सम्बन्ध बिग्रन्छ
‘हामी राजीखुशीले कुटिएका हौं’ भन्नुपर्छ
लुट्यो भन्नु हुन्न, सम्बन्ध बिग्रन्छ
‘हामीले राजीखुशी राजीनामा दिएका हौं’ भन्नुपर्छ
उसका लागि हामीले-
‘रोटी-बेटी’ को बुर्का ओढिदिइरहनुपर्छ
र उसले-
हाम्रो ढाडमा छुरा रोप्न पाइरहनुपर्छ
उसले ढाडमा छुरी रोपेको बेला-
हामीले ‘ऐया’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘छुरा किन रोपिस् ?’ भन्नु हुन्न, सम्बन्ध बिग्रन्छ
‘मेरो ढाड आफैं छुरा खोज्दै गएको हो’ भन्नुपर्छ
ढाडबाट भुल्भुली निस्केको- रगत होइन भन्नुपर्छ
त्यो उसको ‘महान् मित्रता’ को निशानी हो भन्नुपर्छ ।

हाम्रो आँगनमा उसले बुट बजारे ताली बजाउनुपर्छ
हाम्रो मझेरीमा उसले खुट्टा पसारे रमाइदिनुपर्छ
रमाउन मन नलागे आँखा चिम्लिनुपर्छ
उसको हात चिलाए हामीले गाला थापिदिनुपर्छ
उसको हात अझै चिलाए अर्को गाला थापिदिनुपर्छ
यसरी हामीले-
गालापछि गाला थापिदिइरहनुपर्छ ।

नदी दिनुपर्छ, पानी दिनुपर्छ
पहाड दिनुपर्छ, ढुंगा दिनुपर्छ
‘बगेर पनि उतै जाने त हो नि !’ भन्नुपर्छ
उसका लागि हामी भेलमा बगिदिनुपर्छ
उसका लागि हामी बाढीमा डुबिदिनुपर्छ
तर गुनासो गर्नु हुँदैन, सम्बन्ध बिग्रन्छ
यौवन दिनुपर्छ, जीवन दिनुपर्छ
ठाउँ-ठाउँमा उसको जयगान गर्दिनुपर्छ
खटाई-खटाई सास फेर्नुपर्छ
लुकेर सुस्केरा हाल्नुपर्छ ।

तर हामीले चित्त दुखाउनुहुँदैन
हामी चित्त नभएका ढुंगामुढा बनिदिनुपर्छ
हामीले चित्त दुखाए उसलाई रिस उठ्छ
यसैले चित्त दुखाउनु हुँदैन, सम्बन्ध बिग्रन्छ
हामीले लामो सास ताने उसलाई झर्को लाग्छ
यसैले लामो सास तान्नुहुन्न, सम्बन्ध बिग्रन्छ ।

नाकाबन्दी गर्‍यो भन्नुहुन्न
नाकाबन्दी शब्दै निकाल्नु हुन्न
नाकाबन्दी भन्नु हुन्न, सम्बन्ध बिग्रन्छ
‘हामी आफैंले आफूलाई थुनेका हौं’ भन्नुपर्छ
‘सम्बन्ध असहज भयो’ सम्म भन्न पाइन्छ
त्यो पनि ‘असहज’ मानी-मानी भन्न पाइन्छ
टाउको झुकाई-झुकाई मात्र भन्न पाइन्छ
हामीले-
‘हामी नै खत्तम, ऊ त महान्’ भनिरहनुपर्छ
‘गल्ती भयो, माफ पाऊँ !’ भन्दै उठबस गरिरहनुपर्छ
ऊ बाहेक कसैसँग नबोल्ने कसम खाइरहनुपर्छ
उठबस गरिरहनुपर्छ
कसम खाइरहनुपर्छ ।

‘ऐया’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘छुराले किन रोपिस् ?’ भन्नु हुन्न, सम्बन्ध बिग्रन्छ
चित्त दुखाउनु हुँदैन, सम्बन्ध बिग्रन्छ
लामो सास तान्नु हुन्न, सम्बन्ध बिग्रन्छ
नाकाबन्दी भन्नु हुन्न, सम्बन्ध बिग्रन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment