Comments Add Comment

कविता: समयान्तर

धेरै समयपछि
म त्यहाँ गएकी थिएँ
जहाँ हुने गर्थ्यौं हामी
ठाउँ उही थियो
परिवेश उही थियो
केही बुढिएछ युवक पलाँस
फूल त उही थियो  ।

कोरिँदै गयो,
धूमिल विम्ब-मनको नेपथ्यमा

टन्टलापुर घाम
सजल-सजल प्रेमिल नयन
मौन-मौन अधर
‘असीम प्रेम तिमीलाई’
कसो-कसो सुसाउँदो पवन
अवाक्
एक-अर्काको भरमा अडिएका
तृप्त-अतृप्त / अतृप्त-तृप्त छायाहरु ।

पूरा भएकै थिएन तस्बिर,
भत्काउँदै नेपथ्यको द्वार
उडे भुर्र एकजोडी चखेवा
सट्टामा,
शिरमाथि छाता पर्‍यो
आँखामाथि आँखा परे
नजर-नजर भए एकाकार

‘ऊ’ उही थियो
‘म’ मैं थिए
केवल !
समय हाम्रो थिएन
उसले पक्रेको मसिनो औंला-उसको छोराको हुन सक्थ्यो
‘मामु !’ त्यो मृदुल आवाज मेरो छोरीको थियो ।

फेरि पनि
सबै एकै
उस्तै-दुरुस्तै / दुरुस्तै-उस्तै
ऊ र म
म र ऊ
हाँसिरहेका बिलकुल पलाँस जस्तै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment