Comments Add Comment

सप्तरीमा एमालेको सभास्थलमै मोर्चाले शोकसभा गर्ने, गठबन्धनका सबै अध्यक्षले सम्बोधन गर्ने

मृतकका परिवारलाई ५१ हजार किरिया खर्च प्रदान

फाइल तस्वीर

२ चैत, सप्तरी। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले गत फागुन २३ गते प्रहरीको गोलीबाट ज्यान गुमाउने पाँचै जनाको शोकसभा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गर्ने भएको छ ।

यो शोकसभामा मोर्चामा आबद्ध सबै दलका केन्द्रीय अध्यक्षहरु आउने मोर्चाको भनाई छ ।

जिल्लाको एक मात्र औद्योगिक क्षेत्रमा यसअघि एमालेले पहिलो पटक आफ्नो सभा गरेपछि मोर्चाले पनि यहीँ जिल्ला स्तरीय शोकसभा गर्ने जनाएको हो । आगामी चैत १३ गते औद्योगिक क्षेत्रभित्रै शोकसभा गरिने मोर्चाका जिल्ला संयोजक दिनेश यादवले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।

प्रहरीको गोलीबाट मारिएकाहरुको सम्मानमा बुधबारदेखि १२ गते सम्म जिल्लाका प्रमुख स्थानहरु कन्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साइनसहितका स्थानहरुमा पनि शोक सभा गरिने मोर्चाले जनाएको छ ।

स्थानीय स्तरमा अन्य विरोधका कार्यक्रमहरु पुत्ला दहन, दीप प्रज्जवलन, विरोध सभा, र्‍यालीहरुको आयोजना गर्ने, विरोध प्रदर्शन तथा भण्डाफोर अभियानलाई जारी राख्ने निर्णय मोर्चाको मंगलबार राजविराजमा बसेको बैठकले गरेको छ ।

यस्तै मधेश आन्दोलनको शहीद परिवार तथा घाइते कोष स्थापना गर्ने निर्णय गरिएको यादवद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाइएको छ ।

मृतकका परिवारलाई ५१ हजार किरिया खर्च प्रदान

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले फागुन २३ गते प्रहरीको गोली लागेर मृत्यु भएका पाँचै जनाको परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ ।

मोर्चाका कार्यकर्ताहरु ज्यान गुमाएकाहरुको घरमै गएर रकम हस्तान्तरण गरेका छन् । मंगलबार मृतकका घरमा पुगेर मोर्चा नेताहरुले क्रिया खर्चका लागि भन्दै सहयोग उपलब्ध गराएका छन् ।

मोर्चा नेताहरुले सहादत्त प्राप्त गर्ने प्रति परिवारलाई ५१ हजारका दरले सहयोग उपलब्ध गराएको मोर्चा नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्दि्रय सचिव गजेन्द्र मण्डलले जानकारी दिए ।

सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखर सिंह, सचिव गजेन्द्र मण्डल, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सह-महामन्त्री जयप्रकाश ठाकुर, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, विद्यार्थी मञ्चका केन्दीय अध्यक्ष किशोर कुमार यादव, युवा नेता तारकेश्वर यादवसहितका नेताहरु सहयोग हस्तान्तरणका लागि मृतकका घरमा पुगेका थिए ।

फागुन २३ गते प्रहरीको गोली लागेर सप्तरीको मलेठ २ का सञ्जन मेहता र बिरेन्द्र महतो, मलेठ ४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साह र जमुनी मधेपुरा गाविस-१ का इनरदेव यादवको ज्यान गएको थियो ।

ज्यान गुमाउने परिवारलाई यसअघि संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले २५ हजारका दरले र अधिकारकर्मी दिपेन्द्र झाले १५ हजारका दरले सहयोग उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment