Comments Add Comment

गोविन्द वर्तमानको कविता: अस्तित्व सोच

गोविन्द वर्तमान (२०१८ बैशाख०६९ कात्तिक ) ले नेपाली साहित्यमा कुशल कवि तथा निबन्धकारको परिचय बनाएका छन् । उनका सोह्र साँझहरुहरियो साइकलनिबन्धकृति प्रकाशित छन् ।

निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा साहित्यकार र कलाकारहरु सडकमा उत्रेका थिए । सो आन्दोलनका क्रममा ०४६ साल चैत ३ गते त्रिचन्द्र क्याम्पसको परिसरमा लेखक र कलाकारहरु मुखमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए ।  

सोही दिनको सम्झनामा लेखकहरुले थालेको ‘सिर्जना चैत्र ३’ नामक अभियानको गोविन्द वर्तमान अभियन्ता थिए । सिर्जना चैत्र ३ को सन्दर्भमा हरियो साइकल कृतिबाट उनको अस्तित्व सोच कविता यहाँ साभार गरिएको छ ।

  • अस्तित्व सोच

मेरा क्रोधहरू सकिएपछि
अन्यायमाथिका
मेरा प्रतिक्रियाहरू सकिनेछन्
अपराधहरूमाथि
मेरो आक्रोश पुग्ने छैन
त्यसबेला म स्वयं सकिनेछु
म सकिएपछि घामका किरणहरूले बनाउने अर्बौं छायाहरूमध्ये
घट्नेछ एउटा छाया
उज्यालो संसारको एउटा चेत सकिनेछ
म असाध्य माया गर्छु
मानिसका प्रेम र करुणाहरूलाई
उत्सवमा उठ्ने हात
र हावामा हल्लिने पताकाहरूलाई
प्रसन्न हुँदा उज्यालो
र खिन्न हुँदा अँध्यारो
प्रकाश र छायाका भेदहरू जस्ता
मानिसका आवेगहरूलाई
म भएसम्म म प्रेम गर्नेछु निरन्तर
तर, जब सकिनेछु म
सकिनेछ अँध्यारो र उज्यालोको भेद
जब म सुन्न छाडेर बोल्न मात्र थाल्छु
म सकिनेछु
जब म आफैंलाई मात्र वास्ता गर्छु
म सकिनेछु
म सकिएपछि
संसारबाट एउटा अनुराग सकिनेछ
एउटा अनुरागबाट आउने
अर्को अनुराग सकिनेछ
केही अनुरागहरूको यात्राबाट पुगिने
प्रेमको गन्तव्य सकिनेछ
कसैले थाहा नपाए पनि
केही अधुरो हुनेछ संसार
जब म सकिनेछु
जब सकिन्छु म
एक्काइसौं शताब्दीको यान्त्रिकता विरुद्ध
एक्काइसौं शताब्दीकै ढुंगो उज्याएर
एक्काइसौं शताब्दीको व्यापारलाई
हिर्काइरहने एउटा जीवन सकिनेछ
अथवा मुनाफाखोरीको खोरविरुद्ध
शब्दहरू खेलाइरहने एउटा निब सकिनेछ
फूलहरू सकिने छैनन्
तर सुगन्धको एउटा हिस्सा सकिनेछ
थुप्रै आन्दोलनहरू बाँकी रहे पनि
प्रेयसीलाई स्पर्श गर्दा
एउटा व्यक्तिमार्फत लोकले अनुभव गर्ने
एउटा आनन्द सकिनेछ
केही चुम्बनहरू सकिनेछन्
केही शुभकामनाहरू सकिनेछन्
केही उच्छ्वासहरू सकिनेछन्
यसरी म एक्लो सकिनेछु
तर मसँगै थुप्रै सुन्दरताहरू सकिनेछन्

यसबेला जब म आफ्नो अस्तित्व सोच्दै छु
म सकिएको छैन
तर सकिएका छन् भावनाका आदिम रूपहरू
अस्थिपञ्जर झैं हाँस्ने
मञ्जनको विज्ञापनका दाँतहरू छन् वरिपरि
गणितका सूत्रहरूले बाँधिएका
हृदयहरू छन् वरिपरि
यही उपस्थितिको बीचमा
जोगाएर आफ्ना ऊर्जाहरू
सकेसम्म जोगिने प्रयत्नमा छु
यदि म जोगिइनँ भने
मसँगै सकिनेछन्
म जस्ता अर्बौं मानिसहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment