Comments Add Comment

अष्ट्रेलियाको राजधानीमा नेपाली कविहरुको गर्जन


सिड्नी । एकाबिहानै सिड्नीको रकडेल र क्याम्सीमा जम्मा भएका एक हुल नेपाली श्रष्टाहरु नौ बजेको हाराहारीमा राजधानी क्यानबेरातर्फ अघि बढे । पारिवारीक भेटघाटमा आएका केही साहित्यानुरागी अभिभावकहरु पनि यो यात्रामा लाम लागे ।

सिड्नी छोड्दा यहाँको आकाश निकै दर्केको थियो । मुसलधारे पानीलाई पर्वाह नगर्दै ७५ वर्षीय अष्ट्रेलियाली सवारी चालकले जब बाहनलाई मूलबाटोमा एक सय किलोमिटरको गतिमा अघि बढाए तब बसभित्रका उकुस मुकुस कविहरुलाई सान्त्वना दिँदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष भिमसेन सापकोटाले सम्बोधन सुरु गरे- ‘अब हाम्रो यो साहित्यिक यात्रा क्यानबेरातर्फ अघि बढेको छ । हामी हाम्रा चालकको सम्मानका लागि ताली बजाऔं र ओमकार ध्वनीले दर्केको वर्षा र गाडीको गतिलाई जितौं ।’

गाडीमा तालीको गडगडाहट सुरु भयो र ओमकार ध्वनी गुञ्जियो ।

भिमसेन सापकोटाको पत्रकारिता र साहित्यसँगै पछिल्लो परिचय थपिएको छ- योग गुरुको रुपमा । अब उनी योग गुरु आचार्य राजन हुन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाले यो तारतम्य केही महिना अघिदेखि मिलाएको थियो । रफ्तारमा गुडेको गाडीभित्र चालकको पिठ्यूँ पछाडि निर्माण गरिएको स्टेजमा पुगेर अध्यक्ष सानु घिमिरेले यो यात्रामा सामेल भएका साहित्यकार र साहित्यनुरागी सबैलाई जोर हातले अभिवादन गरिन् र यो यात्रा सम्भव बनाउने सबैलाई धन्यवाद दिइन् ।

यो समाजको र न्यू साउथवेल्सका महासचिव महेश्वर शर्माले स्वागतका शब्दहरु थपे । संयोगबस यो यात्रामा जोडिएका नेपालका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले प्रवासमा साहित्यकर्ममा क्रियाशील सबैलाई शुभकामना दिँदै आफूलाई यो यात्रामा जोडिन पाएकोमा निकै खुसी लागेको अनुभूति साटे ।

त्यसपछि सुरु भयो रफ्तारमा गुडिरहेको गाडीभित्र काव्यिक माहोल । बाहिर मेघ गर्जनले लगभग हार्‍यो गाडीभित्रको साहित्यिक मेघ गर्जनले ।

हाल सिड्नीमै रहेका पाका पुस्ताका जाँगरिला नेपाली साहित्यकार केदार प्रसाद पोखरेलले सुरु गरे पहिलो प्रस्तुती । उनको कविताको सम्मानमा तालीका पर्रा नरोकिँदै अर्का कवि आलोक जुरुक्कै उठे । माइक्रोफोन निलुम्ला झैं गर्दै उनको कविता जब गाडीभित्र गुञ्जिँदै थियो, निलो रंगको विर्के टोपी लगाएका अर्का कवि सुरेन्द्र दवाडीले झ्याप्पै माइक सम्हाले र आफ्नो श्रृजना प्रस्तुत गरे ।

जसरी बाहिरी मौसममा थामीनसक्नुको वर्षा थियो त्यस्तै गाडीभित्र पनि थामीनसक्नुको काव्यिक गर्जन ।

महासचिव महेश्वर शर्मा स्टेजमा आए र कविहरुको मोर्चालाई एकपटक विरामको अपिल गरे । तर, अघिदेखि गाडीले नहल्लाए पनि कविताका हरफहरुमा जुरुक-जुरुक भइरहेका गजलकारहरुलाई थाम्ने सामर्थ्य उनको थिएन ।

उनले शान्त स्वरमा विनम्रतापूर्वक भने, ‘अब सुरु हुन्छ गजलहरुको प्रस्तुती र म अगाडि निम्त्याउछु गजलकार देव पाठक ।’

गाडीभित्रको पाँचौ-छैटौं रोमा सीटबेल्ट बाँधेर बसेका पाठक माइक अगाडि पुग्न बेरै लागेन । झ्याप्पै कपाल आफ्नो गजलको प्रत्येक शेरपिच्छे झट्कार्दै र यात्रुहरुलाई चुनौतिको जस्तै भाव भंगीमा उनी जोशिए-

‘खोली कति गहिरो छ पसेपछि थाहा हुन्छ
सम्म छ कि धराप छ फसेपछि थाहा हुन्छ’

उनको गजल के टुंगिएको थियो बसभित्रको साहित्यिक कमाण्ड पोष्ट कब्जा भयो, महिला गजलकार सजल नयनबाट । उनलाई साथ दिँदै अर्की महिला साहित्यकार सीमा रोशी अघि बढिन्- ‘अचेल कहाँ मेरो देश’ भन्दै ।

सिड्नीमा गायकको परिचय बनाएका विकास उप्रेती जब स्टेजमा पुगे त्यसपछि गाडीभित्रै खोजी सुरु भयो मादल र खैंजडीको । तत्काल हाजीर भए मादल र खैंजडी बादकहरु । अनि सुरु भयो- विकास उप्रेतीको झ्याउरे गीत ।

लम्जुङमा मास्टरी पेशाबाट निवृत्त कवि रामचन्द्र बनबासीको कविता र मुक्तक सकिन नपाउँदै यो यात्राकी अध्यक्ष सानु घिमिरेले धैर्य गर्नै सकिनन् र अघि बढिन् कविता बाचनमा । उनले ‘झरी परेका बेला’ शीर्षकको कविता बाचन गर्दैगर्दा बाहिर भने झलक्कै घाम लाग्यो ।

दीपक निरौला गजल भन्दै थिए यहाँको ग्रामीण इलाका मिट्टागन आइपुग्यो । अहिले मिट्टागन, बौराल लगायतका अष्ट्रेलियाका ग्रामीण इलाकामा नेपालीहरु छरिएका छन् । मिट्टागनमा आधा घण्टाको विश्रामपछि यो साहित्यिक यात्रा फेरि सुरु भयो । मुख्य कार्यक्रम र लक्ष्य भने राजधानी क्यानवेरामा यो शनिबार साहित्यिक गर्जन गर्नुथियो । बाटो अझै आधा बाँकी थियो ।

क्यानवेराका लागि ल्याइएको सातु सामल सकिने चिन्ता उत्तिकै थियो तर बहुप्रतिभाका ज्ञानी, यहाँनेर धनी शब्द प्रयोग गरिएन, भिमसेन सापकोटा अर्थात आचार्य राजनले सुरु गरे भजन गायन । उनको करिब एक घण्टाको भजन गायनलगत्तै भिट्टागनमा थपिएका गजलकार निराज जोशी पनि के कम । उनले आफ्नो गजल प्रस्तुतिबाटै प्रभाव जमाए बाँकी यात्रामा ।

यो यात्रा क्यानवेरा प्रवेश गरेको कसैलाई पत्तै भएन । बाटोमा दायाँ-बायाँ पर्ने कृषि फार्महरु क्यानवेराको डिलैमा पर्ने भीमकाय जर्जतालप्रति कसैको कुनै मतलब थिएन । क्यानवेराभित्र प्रवेश गर्नु अघि र क्यानवेराको औपचारिक कार्यक्रममा यो पंक्तिकारलाई तीनपटक कठघरामा उभ्याइयो ।

अष्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदूत राजेन्द्र पाण्डे, एनआरएन क्यानवेरा क्वीनवीनका संयोजक युवराज खनिया, वरिष्ठ अर्थशास्त्री डा. कृष्ण हमाल, एनआरएन अष्ट्रेलियाका कार्यसमिति सदस्य राजन ढुंगेल काव्य बाचन हुने सामुदायीक भवनमा व्यग्र प्रतिक्षारत थिए ।

नेपालीले सञ्चालन गरेको चोमोलोङमा (सगरमाथा) भोजनालयमा दिवाभोजको व्यवस्था गरिएको कविहरुको पल्टन कार्यक्रमस्थलमा पुगेको केही समयमा नेपाल र अष्ट्रेलियाको झण्डालाई जोड्ने गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ब्यानर भित्तामा टाँसियो र कार्यक्रम सुरुवात गरियो दुई देशका राष्ट्रिय गीतहरु गाएर ।

अघि गाडीमा जस्तै अब हलमा पनि सुरु भयो साहित्यिक गर्जन । आयोजक शहरका तर्फबाट गैरआवासीय नेपालीहरुका नेता युवराज खनियाले स्वागत गरे । कविता बाचनको चक्र झण्डै अघि गाडीकै जस्तो थियो । पहिलो कवि केदार पोखरेलको कविता सुनिसकेपछि वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले कविता भन्ने भन्दा कविता सुन्ने र बुझ्ने बढी कवि हुन् भन्दै कविता यात्रा सफलताको शुभकामना दिए ।

बस यात्रामै कविता र गजल प्रस्तुत गर्दै सबैले क्यानवेराको सुव्यवस्थित स्टेजलाई त्याग गर्ने कुरै थिएन । थप कविहरु श्रृजना थापा, इन्द्र आचार्य, यज्ञमूर्ति अधिकारी, प्रदीप टण्डन, सकुन्तला देवकोटा, सिद्धि विनायक, पाका पुस्ताका कवि दक्षराज शर्मा लगायतले आ-आफ्ना बेजोड प्रस्तुतीहरु गरे ।

यो साहित्यिक यात्राको अन्ततिर आचार्य राजनलाई सम्मान गरियो ।

कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले यस्ता साहित्यिक कार्यक्रमले नेपाल र नेपालीहरु भएको प्रवासको दुरी घटाउने बिचार राखे ।

आफ्नो देश प्रेम, प्रवाशिनुका पीडा, प्रवासमा नेपालको अस्तित्ववोध, आफ्नो देशको विग्रेको राजनीतिक वातावरण, परिवारसँग टाढिनुका पीडाहरु कवितामा अभिव्यक्त भएका थिए ।

सारमा यो साहित्यिक यात्रा अष्ट्रेलिया नेपाली साहित्यको प्रवर्द्धनमा एउटा अभियान थियो ।

क्यानवेराबाट सिड्नी पुग्दाको तीन घण्टाको फिर्ति यात्रा सबैलाई छोटो महसुस भयो । अर्को यस्तै साहित्यिक लम्बेयात्रामा भेटिने बाचा गर्दै शनिबार साँझ कविहरु आ-आफ्नो निवासतर्फ प्रस्थान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment