‘मधेस जागरण अभियान’का क्रममा दशगजा पुगेर मधेसी समुदायबीच अति भावुक हुँदै बाबुरामले भनेका थिए- ‘तपाईँहरुलाई भारतका मान्छे र तपाईँहरुको पक्षमा लाग्यो भनेर मलाई भारतको दलाल भन्ने आरोप लगाइएको छ, यसप्रति म अत्यन्तै दुःखी छु र तपाईँहरुसँग क्षमा माग्न चाहन्छु । तर, तपाईँहरुले मन नदुखाउनुहोला र नेपाली भएकोमा गर्व गर्नुहोला । आˆना बा-आमा खराब भए भनेर अरुलाई बा-आमा मान्न सकिँदैन । जन्मभूमिभन्दा प्यारो स्वर्ग पनि हुँदैन ।’
सो मन्तव्य सुनेपछि सबै भावुक बने । म पनि मञ्चको छेउमै उभिएको थिएँ । अरुजस्तै भएँ । आँखाबाट आँशु रसाउन खोजे । थुक निल्नै गाह्रो भो । उनी पनि बोल्नै सकेनन् । पानी पिउँदै भने-‘सीमानाको रक्षा गर्ने बिनाबर्दीका सिपाही तपाईँहरुलाई मेरो सलाम छ ।’
गड्गडावटपूर्वक ताली बज्न थाल्यो । सहभागीहरु उठेर नारा लगाउन थाले । घाँटीका नशा फुलाउँदै चर्कोसित कराउँदै उनीहरुले भने-‘बाबुराम भट्टराई जिन्दावाद !’
सीमाना पारि सतर्क पोजिशनमा बन्दुक बोकेर भारतीय एसएसबी बसिरहेका थिए । तिनको नजर कार्यक्रमतर्फ देखिन्थ्यो ।
माहोल तात्तियो । मेरो शरीरमा पनि रक्तसञ्चार बढ्यो । जोसले काँडा उम्रन थाल्यो । उत्तिबेलै खुशीले फुलेजस्तो लाग्यो । मधेसीप्रति सम्मान भाव पैदा भयो । बाबुरामलाई मनमनै सलाम ठोकेँ ।
सहभागी सबैले एकोहोरो उनैलाई हेरिरहे मानौँ, बाबुराम ठूलो तपस्यापछि प्रकट भएका भगवान् हुन् । सीमानापारि हेर्दै सहभागीले नेपालको पक्षमा धेरै बेरसम्म जोडले नारा लगाइरहे । त्यसपछि मात्रै मैले निष्कर्ष निकालेँ-बाबुराम वास्तवमै राष्ट्रवादी रहेछन् ।
बिहान ६ बजेदेखि राति २ बजेसम्म उनी व्यस्त बन्थे । दैनिक दर्जनौँ कार्यक्रमलाई सम्बोधन गर्थे । मधेसीलाई भड्कायो पनि भनियो तर, उनले जहाँ बोले राष्ट्रकै पक्षमा बोले । जसलाई भेटे, समृद्ध नेपालकै सपना देखाए ।
अहिले पनि उनी दौडधुपमै छन् । नयाँ शक्ति पार्टी, नेपालका जुनसुकै स्तरका कार्यक्रममा आफैँ पुग्नुपर्ने बाध्यता छ उनलाई । उनले शव्द नमिलाई पार्टीको विज्ञप्तिसमेत तयार हुँदैन । विचार निर्माणदेखि व्यक्तिगत अन्तरविरोध हल गर्नेस्तरसम्म उनी एक्लै छन् ।
उनीपछि आशालाग्दो र स्थापित नेता देखिँदैन । त्यसैले पनि होला, विभिन्न पार्टीसँग ध्रुवीकरण अभियान चलाउँदैछन् । स-साना धेरै पार्टीसँग एकता पनि गरे । तर, आजसम्मको धु्रवीकरणले पार्टीको आकार वृद्धिमा खासै भूमिका खेलेको देखिन्न । तसर्थ, पछिल्ला दिनहरुमा उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गर्ने सुरमा रहेको चर्चा सुनिन्छ ।
नयाँ शक्तिको एजेण्डा -आर्थिक समृद्धि)को लागि ठूलो शक्ति चाहिन्छ । बाबुराम र दुई, चार हजार कार्यकर्ताले मात्रै मुलुक समृद्ध बन्न सक्दैन । सोको लागि सयौँ कुशल नेता र लाखौँ सचेत कार्यकर्ता चाहिन्छ । तबमात्रै, एजेण्डामा जनता आउँछन् र नयाँ नेपाल निर्माण गर्न सकिन्छ ।
तर, नेपालको आधा हिस्सा जनसंख्या मध्यमवर्ग छ । यो वर्गमा अवसरवादी चरित्र हुन्छ । उनीहरु शक्तिको पछाडि नै लाग्छन् । कांग्रेस-एमाले ठूलो शक्ति हुनुको कारण पनि यही हो । एजेण्डा राम्रो भएर होइन ।
नेपाली समाजमा यति धेरै राजनीतिकरण भइसक्यो कि, घर-घरका सदस्य समेत कुनै न कुनै पार्टीमा संगठित छन् । स्वतन्त्र र स्वच्छ छवि भएका स्थापित व्यक्ति पाउनै मुस्किल छ । श्रीमान्-श्रीमतीदेखि मेलापातासम्म पनि राजनीति पुगेको छ । त्यसैले, रातारात नयाँ शक्तिको पक्षमा माहोल बन्ने र पार्टीले छलाङ मार्ने अवस्था छैन । शक्ति आर्जन गर्न शक्तिमा रहेका कुनै न कुनै पार्टीसँग एकता गर्नैपर्छ । कुनसँग गर्ने ? प्रश्न यो हो ।
कांग्रेस-एमालेसँग ? अहँ, हुँदैन । किनकि, कांग्रेस-एमाले आफैँमा यो संसदको सबैभन्दा ठूला पार्टी हुन् । तिनले नयाँ शक्तिसँग एकता गर्नुपर्ने आवश्यकता नै ठान्दैनन् । ती दलसँग नयाँ शक्तिको एजेण्डा पनि मिल्दैन । बाँकी रहे-माओवादी र मधेसवादी ।
मधेसका पनि अन्य दल बढी नै साम्प्रदायिक र उपभोगवादी छन् । ती पार्टीका नेता पद पाए पार्टीमा बस्छन्, नत्र अर्कै पार्टी खोल्छन् । घरघरैजसो पार्टी बनेका छन् । तीसँग एकता गर्नु भनेको रोग सार्नु मात्रै हो । साना पार्टीसँगको एकताले राष्ट्रिय स्तरमा खास प्रभाव पनि पार्दैन ।
नेता र प्रभावको दृष्टिले संघीय समाजवादी फोरमसँगको एकता तुलनात्मक रुपमा सम्भावना र अर्थपूर्ण छ । फोरमका अध्यक्ष उपेन्द्र यादव मधेसका अरु नेताभन्दा कम विवादित र धेरै प्रभावशाली पनि छन् ।
तर, उपेन्द्रलाई नयाँ शक्तिका अहिलेका नेता तथा कार्यकर्ताले सजिलै स्वीकार्ने स्थिति छैन । किनकि, पार्टीको प्रदेश र जिल्लाको नेतृत्वमा अधिकांश पूर्व एमाओवादीकै नेता छन् । एमाले हुँदै माओवादीमा आएका र छोडेर मधेसमा छुट्टै पार्टी खोलेका नेता उपेन्द्रप्रति उनीहरु सकरात्मक छैनन् । गौर हत्याकाण्ड, भारतप्रतिको रुझान र पहाडमा शुन्य प्रभावका कारण उनी सर्वमान्य हुनै सक्दैनन् । झन्, पदीय किचलो बढ्दै गएर माओवादी पृष्ठभूमिबाट आएकाहरु फेरि पुरानै पार्टीतिर र्फकने वा पलायन हुने सम्भावना रहन्छ ।
त्यसैले, नयाँ शक्तिको पृष्ठभूमि, एजेण्डा र दृष्टिकोणका आधारमा पार्टी एकताका लागि उपयुक्त शक्ति हो-माओवादी । माओवादीमध्ये पनि मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको छुट्टाछुट्टै पार्टीसँग तत्कालै एकताको सम्भावना छैन ।
यो निश्चित छ कि, माओवादी नाम नै नरुचाउने विप्लव पनि एकताको निम्ति ढिलो-चाँडो लतारिएरै आउँछन् । त्यसैले बाबुरामलाई सुझाब छ- फोरम होइन, माओवादीसँग एकता गर्नुस् । उपेन्द्र होइन, प्रचण्ड नै रोज्नुस् । किनकि, पुराना प्रभावशाली पार्टीमध्येको नयाँ र प्रगतिशिल पार्टी माओवादी केन्द्र नै हो ।
माओवादीका तल्लो स्तरका नेता तथा कार्यकर्ता सबै खराब छैनन् । पार्टी बिगारेकै दोस्रो तहका ‘हनुमान नेता’ले हो । यद्यपि, केही भ्रष्ट र अपारदर्शी छन् । तर, यो सबै पार्टीको साझा समस्या हो । नयाँ शक्तिमा पनि सबै दूधले नुहाएका छैनन् । ‘हाम्रो राम्रो’ नै नेपालीको ठूलो कमजोरी हो । खराबलाई सजायँ र सज्जनलाई सम्मान गर्न सके माओवादीसहितको शक्तिले समृद्ध नेपाल निर्माणमा गुणात्मक फड्को मार्न सक्छ ।
नेतृत्व क्षमता र दृष्टिकोणका आधारमा पनि प्रचण्डसँग उपेन्द्रको तुलनै हुन सक्दैन । उपेन्द्र प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीका एक कार्यकर्ता हुन् । उनीमाथि भगौडाको आरोप पनि छ । गणतन्त्र प्राप्तिका लागि वलिदानीपूर्ण संघर्षको पनि चरम उत्कर्षमा मैदान छोडेर भाग्ने धोकेवाज मानिन्छन् । भोलिका दिनमा पनि धोका नहुनेमा विश्वस्त हुने अवस्था छैन ।
यद्यपि, प्रचण्ड पनि दूधले नुहाएका नेता होइनन् । उनका पनि धेरै सीमा र कमजोरी छन् । तर, उनी कमजोरी स्वीकार्ने र प्रगतिवादी कदम चाल्न सक्ने आँट पनि भएका नेता हुन् । पूर्वाग्रह नराखी बोल्ने जो कोहि व्यक्तिले भन्छ-प्रचण्ड युग पुरुष हुन् ।
एउटै पार्टीमा हुँदा स्वयं बाबुरामले नै भन्थे-‘प्रचण्ड, हामी नेताको पनि नेता हो ।’ मोहन वैद्यले त प्रचण्डको गुणगाण गाउँदै धेरै नै किताब समेत लेखेका छन् । तर, शान्तिप्रक्रियामा आएको केही बर्षपछि नेताहरुमा किन यस्तो खाडल पर्यो ? उत्तर सजिलो छैन । आफैँ बिगि्रए वा कसैले बिगारे ? आफैँ फुटे वा कसैले फुटाए ? सत्य बोलका हुन् वा आरोप लगाएका हुन् ? प्रश्न सर्वत्र छन् ।
नेताहरुले यो बुझ्नैपर्छ कि, हाम्रो मुलुकमा एजेण्डाका आधारमा शक्ति आर्जन हुँदैन । शक्ति आर्जन गरेर मात्रै एजेण्डा लागु हुँदो रहेछ भन्ने उदाहरण ऐतिहासिक जनयुद्ध नै काफि छ । किनकी, गणतन्त्र त आखिर चाहिएकै रहेछ Û आयो । तर, गणतन्त्रको माग गर्ने हजारौँले जीवन गुमाउनुपर्यो । बेपत्ता बन्नुपर्यो । अंगभङ्ग हुनुपर्यो । जेलनेल खानुपर्यो । यातना भोग्नुपर्यो ।
बाबुरामले एमाओवादी पार्टी छोड्नेबेला नै भनेका थिए-‘इतिहासमा बाली लाउने एउटा हुन्छ र भित्र्याउने अर्कै पनि हुन सक्छ ।’
मुलुकमा उनले भनैजस्तो भएको छ । परिवर्तनको बाली माओवादीले लगायो तर, भित्र्याउन कांग्रेस, एमाले आइपुगे । हुँदाहुँदै कमल थापाले समेत गणतन्त्र राप्रपाले ल्याएको हो भन्लान्जस्तो भईसक्यो ।
तसर्थ, निर्ममतापूर्वक समीक्षा गर्नैपर्छ । एकबिना अर्को नेताको र कार्यकर्ताको पनि भविष्य छैन । प्रचण्ड र बाबुरामको एकता अपरिहार्य आवश्यकता बन्दै गएको छ । होइनभने, वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलव्धि गुम्ने र संघर्ष नै वाईयात ठहरिन सक्छ ।
नेता भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारित पुस्तक ‘चाचा’को बिमोचन कार्यक्रममा प्रचण्डले भनेका थिए-‘बाबुराम र मलाई पनि नजिककाले बिगारेनन् भने हामी छिट्टै एक ठाउँमा हुन्छौँ । हामी एकको महत्व अर्कोलाई राम्रोसँग थाहा छ ।’ उनको यो अभिव्यक्तिले बाबुरामको अभाव खडि्एको पुष्टि हुन्छ ।
जनयुद्ध प्रचण्ड, वैद्य र बाबुरामको सामुहिक नेतृत्वबाट मात्रै सम्पन्न भएको हो । गणतन्त्र, संघीयता, समावेशी-समानुपातिकलगायतका महत्वपूर्ण एजेण्डा जनयुद्धकै महत्वपूर्ण र ऐतिहासिक उपलव्धि हुन् । तर, तिनै नेता अहिले फरक-फरक हुनु दुखद कुरा हो । यसले क्रान्तिकारी जमातलाई चिमोटिरहेको छ । तसर्थ, पूर्वमाओवादी एकै ठाउँमा आउनुपर्छ ।
माओवादी कार्यकर्ताका लागि प्रचण्ड र बाबुराम आमा र बाजस्तै हुन् । आमासँग रीस उठे बातिर । बासँग उठे आमातिर । तर, भित्री मनमा भने माया दुवैको हुन्छ । अहिले जुनसुकै तरिकाले जुनसुकै पार्टीमा भए पनि जनयुद्धबाट आएको समूहले प्रचण्ड, बाबुराम, वैद्य र विप्लव सबैलाई उत्तिकै नजिक देख्छन् । यद्यपि, राजनीतिमा भावना सहायक बन्छ । तर, नजिक बनाउने पनि भावनाले नै हो ।
प्रगतिशील शक्तिहरु फुट्दै र पुरातनवादी शक्ति जुट्दै जाने संकेत राम्रो होइन । इतिहास बलियोको पक्षधर हुन्छ । देशलाई चाहिएको समृद्धि नै हो । तसर्थ, नयाँ शक्ति पार्टी र माओवादी केन्द्र एकता गरौँ । नयाँ शक्ति केन्द्र बनाऔँ ।