Comments Add Comment

पत्रपत्रिकाको फ्रन्टपेज- दलीय सहमतिबिना निर्वाचन गर्न गाह्रोः निर्वाचन आयोग

७ चैत, काठमाडौं । निर्वाचन आयोगले दलीय सहमतिबिना बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न कठिन हुने बताएको समाचारलाई सोमबार प्रकाशित प्रायः दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् । त्यस्तै सत्ताघटक राप्रपाले संसद सचिवालयमा हिन्दु राज्य माग्दै संविधान संशोधन प्रस्ताव दर्ता गरेको समाचारले पनि पत्रिकाहरुमा महत्वपूर्ण स्थान पाएको छ ।

यससँगै वरियता क्रममा उपप्रधानमन्त्री कमल थापा अघि भएकोप्रति अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले आईजीपी विवाद फैसला आज हुनसक्नेलाई पनि प्राथमिकताका साथ उल्लेख गरेको छ । त्यस्तै आजदेखि पाँचखालमा बहुर्राष्ट्रिय सैन्य अभ्यास हुने समाचार र उपत्यका भित्रने १० नाका बन्दै गरेको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

स्थानीय तहमा ३६ हजार ६ सय ३९ प्रतिनिधि निर्वाचित हुनेलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट् दैनिकमा  आईजीपी मुद्दा सुनुवाईप्रति सरकारी वकिलहरुले बहस गर्न अस्वीकार गरेकोलाई महत्वका साथ प्रकाशित छ । त्यस्तै राप्रपाको विधान संशोधन गरेर निर्वाचन आयोगले ‘अराजकता’ प्रस्तुत गरेको भन्दै समाचार छापेको छ ।

नागरिक दैनिकमा चीन जोड्ने १३ सडक योजना तीव्रताका साथ अघि बढेको समाचार र बैंकको चर्को ब्याजबाट ठूलालाई लाभ भएको तर सानालाई मर्का परेको समाचार महत्वका साथ छापिएको छ ।

निर्वाचन आयोगले समयमै निर्वाचन गर्न राजनीतिक वातावरण नबनेको भनेकोलाई मुख्य समाचार बनाएको कान्तिपुर दैनिकले मधेसी मोर्चासँग कार्यदलमार्फत सहमतिको प्रयास भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै, राप्रपाद्वारा संविधान संशोधन प्रस्ताव दर्ता भएको समाचारले पनि महत्व पाएको छ ।

निर्वाचन आयोगले दलीय सहमतिबिना निर्वाचन गर्न कठिन हुने बताएको समाचारलाई नै मुख्य समाचार बनाएको राजधानी दैनिकमा राउटे समुदायको जीवनशैली फेरिँदै गएकोलाई एंकर समाचार बनाएको छ ।

अत्यधिक वायु प्रदूषणका कारण उद्घाटनको एक सातामै प्रदूषण मापनयन्त्र बिग्रिएको समाचारलाई गोरखापत्र दैनिकले महत्वका साथ छापेको छ । नेपाल समाचारपत्र दैनिकको फ्रन्टपेजमा मधेसी मोर्चाभित्रै कार्यकर्ता तानातान भएको समाचार प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment