Comments Add Comment

सांसद इच्छाराजको सिभिल होम्समा उपभोक्तामाथि दादागिरी !

खानेपानीसमेत बन्द गराइदिएको गुनासो

फाइल तस्वीर

७ चैत, काठमाडौं । ललितपुरको सुनाकोठीमा अवस्थित सिभिल होम्स, फेज- ३ का उपभोक्तामाथि निर्माण कम्पनीको बलमिच्याइँ बढ्दै गएको छ । पछिल्लो समय निर्माण पक्षले हाउजिङभित्र रहेको खानेपानी प्रशोधन केन्द्रमा ताल्चा लगाइदिएको भन्दै उपभोक्ताहरु आक्रोशित बनेका छन् । उनीहरुले यसबारे जिल्ला प्रशासनमा उजुरीसमेत गरिसकेका छन् ।

गत शुक्रबार सिभिल होम्सका सहायक महाप्रवन्धक ओमकृष्ण महर्जनको नेतृत्वमा आएको समूहले खानेपानी र क्लब हाउसमा ताल्चा लगाइदिएको उपभोक्ताको भनाइ छ ।

चार रोपनी, ७ आना जग्गामा बनेको क्लब हाउसभित्र सामुदायिक हल, स्वीमिङ पुल, जिमखाना, साउना लगायत छन् ।

दिउँसो १२ बजे हाउजिङको पर्खाल भत्काएर प्रहरीको सहयोगमा भित्र प्रवेश गरी खानेपानी र क्लब हाउसमा ताला लगाएको सिभिल होम्स समाजका सहसचिव जेसनदेव वैद्यले अनलाइनखबरलाई बताए ।

सांसदसमेत रहेका हाउजिङका सञ्चालक इच्छाराज तामाङले आफ्नो पद र प्रभावको बलमा आफूहरुमाथि दादागरी देखाएको समुदायका व्यक्तिहरुको गुनासो छ । यस मामलामा अदालत जाने विषयमा सोचिएता पनि सांसद तामाङले पैसाको बलमा अदालतलाई समेत प्रभाव पार्न सक्ने आशंकामा आफूहरु अदालत नगएको वैद्य बताउँछन् । यद्यपि वाध्यात्मक अवस्थामा अदालत जान पनि नडराउने उनको भनाइ छ ।

‘हाउजिङका सबै व्यक्तिहरु आ-आफ्नो कामधन्दामा गएका बेला उनीहरु पर्खाल फुटाई भित्र पसेका रहेछन्,’ वैद्यले भने, ‘हाम्रा सुरक्षाकर्मीले रोक्न खोज्दा दुईवटा भ्यानमा ल्याइएका प्रहरीले सुरक्षा दिएर उनीहरुलाई भित्र छिराएछन् ।’

खानेपानी प्रशोधन केन्द्रमा ताला लगाइदिएपछि हाउजिङभित्र पानीको हाहाकार हुने भन्दै समुदायका करिब १ सय व्यक्तिहरु आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी गर्न पुगेका थिए ।

तर, प्रमुख जिल्ला अधिकारीले यसलाई गम्भीरतापूर्वक नलिएको वैद्यले बताए । ‘पानी आपूर्ति भएन भने हाम्रो विचल्ली हुन्छ । यदि जिल्ला प्रशासनले कुनै कदम नचालेको खण्डमा हामी आफैं ताला फोड्न बाध्य हुनेछौं,’ उनले भने ।

सिभिल होम्सका प्रवक्ता भीम खरेलले क्लब हाउसमा ताला लगाएको स्वीकार गरे । तर, खानेपानीमा भने ताला नलगाएको उनको दाबी छ । झूटो आरोप लगाएर समुदायका व्यक्तिहरुले प्रोपोगाण्डा मच्चाउन खोजेको उनले आरोप लगाए ।

सिभिल होम्सको क्लब हाउसमा समुदायले अनाधिकृतरुपमा कब्जा गरी बसेकाले ताला लगाउनुपरेको उनको भनाइ छ । ‘त्यो प्रपर्टी हाम्रो हो र हाम्रै नाममा छ । यसको राजश्व हामीले तिरिरहेका छौं । सुरुमा उहाँहरुले यसलाई भाडामा लिएर प्रयोग गर्नुभयो । तर, गत भूकम्पयता हाम्रो आतेजाते कम भएपछि उहाँहरुले यसलाई आफ्नै जसरी कब्जा गर्नुभयो र भाडा तिर्न पनि छोड्नुभयो । त्यसैले ताला लगाएका हौं,’ उनले भने ।

खरेलका अनुसार ती सुविधाहरु उपभोग गरेवापत ३-४ महिनासम्म समुदायले कम्पनीलाई भाडा तिरे पनि त्यसपछि तिरेको छैन ।

खरेलले यस्तो दावी गरे पनि हाउजिङभित्र रहेका संरचनाहरुमा समुदायको हक लाग्ने नजिर अदालतले स्थापित गरिसकेको छ । सिभिल होम्सकै तीनथानास्थित फेज २ मा यही प्रकृतिको विवाद आएपछि समुदायले पुनरावेदन अदालतमा रिट हालेको थियो । उक्त रिटको फैसलामा अदालतले हाउजिङभित्रको संरचनामा समुदायको हक लाग्ने फैसला सुनाएको थियो र निर्माण पक्षलाई ३ करोड हर्जानासमेत तिर्न भनेको थियो । सो फैसलाको विरुद्ध सिभिल होम्स सर्वोच्च गयो । तर, सर्वोच्चले पनि पुनरावेदनकै फैसलालाई सदर गरिदिएको थियो ।

पर्खाल फोडेर प्रवेश गरेको विषयमा प्रवक्ता खरेलले एक व्यक्तिले बाटो छेकेर बनाएको पर्खाल भत्काएको दाबी गरे । उनले भने, ‘पासबिना भित्र पस्न पाइँदैन, उहाँहरु हामीलाई पास पनि दिनुहुन्न, त्यसैले हामीले बाटो मिचेर बनाएको पर्खाल प्रहरीकै अगाडि फुटाएका हौं ।’

विवाद पुरानै

सिभिल होम्सको निर्माण पक्ष र समुदायबीचको विवाद पुरानो हो । निर्माण पक्षले समुदायलाई परियोजना रीतपूर्वक हस्तान्तरण नगरी हिँडेकाले विवाद सुरु भएको थियो ।

हाउजिङ सञ्चालक इच्छाराज तामाङ

२०६६ सालमा निर्माण अनुमति लिएर सिभिल होम्स फेज-३ को निर्माण भएको हो ।

यहाँ एक सय २५ रोपनी ७ आना १ दाममा फैलिएका एक सय ९४ वटा घरहरु छन् । यद्यपि यहाँ १ सय ९१ घरहरुका लागि मात्रै निर्माण पक्षले अनुमति लिएको समाजका पूर्वउपाध्यक्ष जयदेव वैद्यले बताए । यहाँभित्रका धेरै घरहरुको जग्गा नाप्दा नक्शाबमोजिम नपुगेको उनको भनाइ छ । तर, सिभिल होम्सका प्रवक्ता खरेल भने नक्शामा भएको भन्दा फिल्डमा १२ आना जग्गा बढी भएको दाबी गर्छन् ।

दुई वर्ष अगाडि निर्माण पक्षले एकाएक त्यहाँ खटाएको सुरक्षाकर्मी फिर्ता पठाउनुका साथै क्लब हाउस हस्तान्तरण नगरी भागेको समुदायको भनाइ छ । निर्माण कम्पनी हिँडेपछि समुदाय आफैंले सुरक्षाकर्मीको प्रवन्ध गरेको थियो । यद्यपि कम्पनीका प्रवक्ता खरेल भने आफूहरुले समुदायलाई चिठी लेखेर सुरक्षाकर्मी फिर्ता पठाएको जानकारी गराएको बताउँछन् ।

समुदायका केही व्यक्तिहरुले कोलोनीभित्र रहेको आफ्नो अफिसबाट सामानहरु चोरी गरेको भन्दै सिभिल होम्सले प्रहरीमा उजुरी गरेको छ । समुदायका व्यक्तिहरु भने आफूहरुलाई अनावश्यक दुःख दिनका लागि झूटो आरोप लगाइएको बताउँछन् ।

यहाँ घर किन्ने धेरै व्यक्तिहरुले अहिलेसम्म निर्माण सम्पन्न प्रमाणपत्र नपाएको वैद्यको भनाइ छ । यसैगरी केही घरहरुमा बाटो नपुगेको, स्कुल र ग्रीनरी नबनेको लगायतका विषयमा पनि समुदायले दबाव दिँदै आएको थियो । यसलाई मत्थर पार्न निर्माण पक्षले समुदायका व्यक्तिहरुमाथि चोरीको आरोप लगाएको वैद्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment